‘विचरा’ बाबुराम!

किरण पौडेल ३० असोज २०८० ७:२२
30
SHARES
‘विचरा’ बाबुराम! डा. बाबुराम भट्टराई

काठमाडौँ-  डा. बाबुराम भट्टराई बौद्धिक नेताका रूपमा चिनिन्छन्। उनी अन्य नेताभन्दा सैद्धान्तिक बहसमा जुट्नु उनको विशेषता हो। कहिले विश्वविद्यालयको कक्षा कोठा त कहिले बुद्धिजीवी वृत्तमा छाइरहने भट्टराई संगठनमा भने त्यति प्रभावकारी देखिँदैनन्। त्यसैले उनीमाथि निकट नेताको पनि विश्वास जित्न सक्दैनन् भन्ने टिप्पणी हुँदै आएको छ। जानकारहरूको बुझाइमा बाबुराम कार्यकर्ता टिकाइराख्ने गुण नभएका नेता हुन्। उनी बारम्बार एक्लिनुले पनि यो पुष्टि हुन्छ।

डा. भट्टराई आवेशमा निर्णय गर्छन् तर ‘सेफ ल्यान्डिङ’ गर्नै जान्दैनन्। उनको विगतले पनि त्यही देखाउँछ। आफूले भनेका एजेन्डा लागू गर्न सक्दैनन्। कार्यकर्ताले उनलाई विश्वास नगर्नुको कारण त्यही हो।

२०७२ पछिको उनको राजनीतिक भूमिकाले त्यस्तै देखाउँछ। बाबुराम माओवादीबाट अलग भएर वैकल्पिक शक्ति निर्माणमा जुटेका हुन्। तर उनी सफल भएनन्। उनी जसरी बर्सैपिच्छे पार्टी फेर्छन् त्यसरी नै कार्यकर्ताले पनि छाडिदिन्छन्। बाबुरामका कुनै बेलाका सहयात्री डम्बर खतिवडाका अनुसार संगठन विस्तार गर्ने क्षमता नभएकाले उनी एक्लिने गरेका हुन्।

बाबुरामका लागि जनयुद्धका बेला पनि सकस थियो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विभिन्न राजनीतिक विषयमा मनमुटाव भएका घटना सार्वजनिक हुन्थे। त्यति बेला   बाबुराम पटकपटक कारबाहीमा परे। तर उनले माओवादी छाडेनन्। माओवादी पार्टीले नै उनलाई २०६७ सालमा प्रधानमन्त्री बन्ने अवसर दियो। उनी २०६८ भदौदेखि २०६९ फागुनसम्म नेपालको ३५ औँ प्रधानमन्त्री बनेका थिए।

त्यसअघि माओवादी अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा बाबुराम अर्थमन्त्री थिए। कतिपयले बाबुरामको राजनीतिक उत्कर्ष उनको अर्थमन्त्री काललाई लिन्छन्। उनी अर्थमन्त्रीमा जति सफल भएका थिए, प्रधानमन्त्री बन्दा सफल हुन सकेनन्। यतिसम्म कि संविधानसभा विघटन पनि बाबुरामकै पालामा भयो। २०६९ जेठ १४ गते राति संविधानसभा विघटन हुँदा बाबुराम प्रधानमन्त्री थिए। दोस्रो संविधानसभा चुनाव सम्पन्न भएपछि बाबुराममाथि लागेको दाग मेटिएको हो।

द्वन्द्वकालभर एउटै पार्टीमा रहेका माओवादी शक्ति खुला राजनीतिमा आएपछि चिराचिरा बने। एकले अर्कालाई अवसरवादीको आरोप लगाउँदै माओवादी नेताहरूले भिन्नभिन्न पार्टी गठन गरे। कोही अर्कै पार्टीमा आबद्ध भए। सत्तामा जान थालेपछि माओवादी आन्दोलनमा विग्रह सुरु भएको हो।

दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ साल असोज ३ गते जारी भएको संविधान अपूर्ण भएको भन्दै डा. भट्टराई असन्तुष्ट देखिए। नेपालमा राजनीतिक क्रान्ति सकिएको र अब आर्थिक क्रान्ति गर्नुपर्ने उनको धारणा थियो। संविधान घोषणा भएको तीन दिनपछि बाबुरामले माओवादी छाडे। उनका सहयात्री नेताहरूले पार्टीमै रहेर संघर्ष गर्न आड नदिएका हैनन्। तर उनी पार्टीबाटै अलग भए। ‘बाबुरामजीलाई पार्टीभित्रै संघर्ष गर्न भनेको हौँ तर उहाँले मान्नु भएन’, त्यति बेला बाबुराम निकट मानिने नेता एवं आमजनता पार्टीका अध्यक्ष प्रभु साह भन्छन्, ‘उहाँमा अवसरवादी चरित्र देखियो।’

तामझामका साथ नयाँ शक्ति गठन गरेर बाबुराम आफैँ संयोजक तोकिए। माओवादीमा नपाएको एउटा अवसर बाबुरामले नयाँ शक्तिमा पाए। माओवादीमा कहिल्यै पनि बाबुराम पहिलो दर्जाको नेता बन्न सकेका थिएनन्।

बाबुराम माओवादीमा छँदा प्रभु साह, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, राम कार्की जस्ता नेता उनको समूहमा थिए। तर बाबुरामले माओवादी छाड्दा उनलाई सबैले साथ दिएनन् अर्थात् अधिकांश नेता माओवादीमै रहे। अनि नयाँ शक्तिमा पनि दोस्रो स्तरका नेता बाबुरामसँग रहन सकेनन्।  पार्टीले संगठन विस्तार गर्नै सकेन। जनताबीच जान नसकेपछि चुनाव परिणाम पार्टीका पक्षमा आएन। उनको पार्टी संकटमा पर्‍यो।

बाबुरामले नयाँ शक्तिलाई तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरेर आफ्नो अस्तित्व बचाउने प्रयास गरे। उपेन्द्र यादव नेतृत्वको समाजवादीसँग एकतापछि बाबुरामले आफूलाई मधेशवादी र जनजातिको प्रतिनिधिका रूपमा उभ्याए। मूलधारको राजनीतिबाट उनी बिस्तारै किनारा लागेको भनेर टिप्पणी हुन थाल्यो।  उनी पहिचानमा आधारित राजनीतिक समूहमा आबद्ध भए।

अन्य दलहरू संविधान कार्यान्वयनमा सक्रिय हुँदा बाबुरामचाहिँ ‘नेपालको संविधान आधा गिलास खाली र आधा गिलास भरी छ’ भन्थे। संविधा पूर्ण बनाउन मधेशी र जनजातिको माग सम्बोधन हुनुपर्ने उनको भनाइ हुन्थ्यो।

बाबुराम संविधानप्रति असन्तुष्ट दलसँग सम्बन्ध बढाउन थाले। शक्ति ह्रास भएकाले पनि उनी कतै न कतै जोडिन चाहन्थे। त्यो उनका लागि रहर नभएर बाध्यताजस्तै थियो। समाजवादीमा बाबुराम पहिलो दर्जाको अध्यक्ष (संघीय परिषद्) भए।

२०७७ वैशाख १० गते तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भयो। दुई पार्टीबीच एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बन्यो। मधेश केन्द्रित दलसँग एकता भएपछि बाबुरामको खासै जिम्मेवारी थिएन। कहिले पहिलो वरीयता त कहिले चौथो वरीयताको नेता भएर रहनुपर्थ्यो। बाबुराम भन्थे, ‘मलाई पद चाहिँदैन।’ महन्थ ठाकुर र उपेन्द्रहरू लामो समय सँगै रहेनन्।

उपेन्द्र र बाबुरामले महन्थ समूहलाई कारबाही गरे। त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामको नयाँ पार्टी बन्यो। अध्यादेश ल्याएर लोसपाको सांसद पद भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले जोगाइदिए। यसपछि जनता समाजवादी पार्टीमा खटपट सुरु भयो।

बाबुराम र उपेन्द्रबीच दरार उत्पन्न भएपछि फुटको चरणमा पार्टी पुग्यो। उपेन्द्रले बाबुरामलाई बाइपास गरेर वीरगन्जमा पार्टीको भेला बोलाए। बाबुरामले भने काठमाडौँको जडीबुटीमा भेला बोलाएर नयाँ पार्टी (नेपाल समाजवादी पार्टी) गठन गरे। त्यतिन्जेलसम्म बाबुरामले पुराना धेरै सहयात्री गुमाइसकेका थिए। मदन राई, डम्बर खतिवडालगायत पनि बाबुरामको बाटो नहिँड्ने निचोडमा पुगे। ‘बाबुरामसँग भिजन नै भएन। कहिले समाजवादीतर्फ जाऔँ। कहिले अर्काको चुनाव चिह्नबाट लडौँ। अर्काको आत्मसम्मानमा ठेस पुग्दैन?’ खतिवडा भन्छन्।

विकल्पविहीन भएपछि प्रचण्डसँगै

तीसको दशकदेखि राजनीतिमा सक्रिय बाबुरामसँग राजनीतिक जीवनमा लामाछोटा, तितामिठा धेरै अनुभव छन्। नेपाल समाजवादी पार्टी गठन भएपछि बाबुरामको घेरा थप साँघुरो बन्यो। उनी नेपाली राजनीतिमा भूमिकाविहीनजस्तै देखिए। अनि फेरि उनले २०७९ सालको आमनिर्वाचनमा माओवादीसँग गठबन्धन गर्न प्रस्ताव गरे।

प्रचण्ड पनि पार्टीलाई दरिलो बनाउने योजनामा थिए। बाबुरामका नेतालाई माओवादीको चुनाव चिह्न हसिँया हथौडाबाट उठ्न आग्रह गरे। कुरा मिल्यो। प्रचण्ड बाबुरामको आग्रह स्वीकार गर्दै गठबन्धन बनाएर जान तयार भए। ‘बाबुराम र प्रचण्ड एकै ठाउँमा आउनुको ठूलो अर्थ छ। यसलाई सामान्य मान्नु हुन्न’, प्रचण्डले त्यसबेला दिएको यस्तो अभिव्यक्ति चुनाव केन्द्रित थियो।

प्रचण्डलाई आफ्नो गोरखा-२ बाट उठ्न पठाएर बाबुराम चुनावी दौडमा लागेनन्। उनको उद्देश्य प्रचण्डसँग एकता गर्ने थियो। तर प्रचण्डले चुनाव जितेसँगै यो सहमति एकाएक परिवर्तन गरिदिए। बाबुरामसँग अहिले प्रतिनिधिसभामा एक र प्रदेशसभा दुई सांसद छन्।

गोरखा-२ प्रचण्डलाई क्षेत्र छाडेकोमा बाबुराम पछुताउने गरेका निकट नेताहरू सुनाउँछन्। उनले क्षेत्र छोड्नुको पनि अर्कै कारण थियो। उनी आफ्नो निर्वाचन क्षेत्रबाट प्रचण्डलाई अघि बढाएर छोरी मानुषी यमी भट्टराईलाई सांसद बनाउन चाहन्थे। मानुषी काठमाडौँ- ७ बाट प्रतिनिधिसभामा उम्मेदवार भइन्। तर छोरीलाई सांसद बनाउने बाबुराम चाहना पूरा हुन सकेन।  २०७९ को चुनाव बाबुरामका लागि अफापसिद्ध भयो। न आफू सांसद बने, न छोरी मानुषी।

बाबुराम फेरि अन्य कुनै दलसँग एकता गर्न सक्रिय भए। सानो शक्ति लिएर हिँड्दा आजित बनेका उनी मोर्चामार्फत भए पनि शक्ति विस्तार गर्न चाहन्थे। त्यसैले उनको पहिलो राजाइ बन्यो आफ्नै पूर्वपार्टी माओवादी। गोरखा-२ मा प्रचण्डलाई जिताएर गुन  लगाएका कारण पनि होला प्रचण्डसँग मोर्चा बनाएर जान बाबुरामले आग्रह गरे।  प्रचण्डले उनको योजना सुने अनि पनि मोर्चा बनाए। विडम्बना नै भन्नुपर्छ बाबुराम प्रस्ताव र अवधारणामा बनेको त्यो मोर्चामा उनै बाबुराम अटाएनन्।

प्रचण्डले किन टेरेनन् त बाबुरामलाई? ‘बाबुरामलाई मोर्चामा ल्याउनुको कारण प्रचण्डले देखेनन्’, विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘बाबुरामका सांसदहरू माओवादीकै चुनाव चिह्नबाट लडेका छन्। मोर्चामा नल्याए पनि आउँछन् भन्नेमा प्रचण्ड ढुक्क छन्।’ उनको बुझाइमा प्रचण्डलाई बाबुरामको भन्दा एक जना सांसदको महत्त्व धेरै छ। किनभने सत्ता जोडघटाउमा एकजना सांसदको जति भूमिका हुन्छ, बाबुरामको त केही पनि हुँदैन। बाबुराम समाजवादी मोर्चाको संयोजक बन्न चाहन्थे। यही बुझेर प्रचण्डले उनलाई मोर्चामा प्रवेश नदिएको बुझाइ उनी निकटका नेताहरूको छ।

बाबुरामले माओवादीसँग एकताका लागि लिखित प्रस्ताव पनि लगे। पार्टीको दोस्रो वरीयता दिनुपर्ने मागसहित माओवादीलाई बाबुरामले चिठी लेखेका थिए। फागुनमा लेखेको चिठीको उपयुक्त जवाफ बाबुरामले पाएनन्। ‘बाबुरामजीले पदको बारेमा मिलाएर माओवादीसँग एकता गर्ने कुरा गर्नुभएको थियो। माओवादीले एकता गर्ने तर पदबारे कुरा गरेन’, नेसपा एक नेता भन्छन्। बाबुरामको सट्टा माओवादीले नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्र लेख्यो, जति बेला बाबुराम विदेश भ्रमणमा थिए।

माओवादीको पत्रले बाबुरामको पार्टीमा तरंग उत्पन्न भयो। बाबुरामले केही दिनअघि पार्टीको बैठकमा भनेका थिए,‘प्रचण्डलाई तपाईँहरूले जसरी चिन्नुभएको छ। त्योभन्दा म अलि बढी चिन्छु। उनी हाम्रो कमजोरीमा खेल्दैछन्।’ प्रचण्ड अहिले बाबुराम बिना नै नेसपाका नेता भित्र्याउने प्रयासमा रहेको नेताहरू बताउँछन्।

नेसपाका सबै सांसद अहिले पनि माओवादीकै सांसद हुन्। ‘नेसपालाई आफ्ना सांसद भन्ने अधिकार छैन। माओवादीको चुनाव चिह्न लिएपछि माओवादीकै भए। बाबुरामले नराम्रो गरे माओवादीसँगै मिसिदिन सक्छन्’, राजनीतिक विश्लेषक विष्णु दाहाल भन्छन्, ‘प्रचण्डले यो कुरा राम्ररी बुझेका छन्।’

नेसपामा माओवादीसँग एकताका विषयमा दुई धार छ। अर्का अध्यक्ष महिन्द्रराय यादवलगायतका नेता माओवादीसँग एकता गर्नैपर्ने पक्षमा छन्। बाबुराम भने आफ्नो प्रस्ताव समेटिए मात्र एकता गर्ने अडानमा छन्। ‘प्रचण्डलाई गोरखा छाडिदिएकोमा बाबुरामजी पछुतोमा हुनुहुन्छ भने माओवादीको चुनाव चिह्नबाट लडेकोमा अर्को तनावमा हुनुहुन्छ’, नेसपाका एक नेताले भने, ‘ उहाँलाई अब पार्टी जोगाउने वा माओवादीमा विलय हुने भन्ने अन्योल छ।’

माओवादीभित्रका धेरै नेतालाई बाबुरामले छाडिहाल्छन् भन्ने लागेको थिएन। तत्कालीन माओवादी नेता टोपबहादुर रायमाझीले भनेका थिए, ‘बाबुरामजीले नि बनाएको माओवादी हो। यसरी छाडिहाल्नुहुन्छ भन्ने थिएन।’  बाबुराम अहिले त्यही माओवादीमा प्रवेश गर्न संघर्षरत छन्। साउनको माओवादी बैठकमा बाबुरामको बारेमा निर्णय हुने चर्चा थियो। तर बैठकमा बाबुरामका विषयमा कुरै उठेन। यसबाट पनि बाबुराम चिन्तित रहेको उनी निकट नेताहरू बताउँछन्।

उनी अब जसरी पनि ‘भत्केको’ घर फर्किने पक्षमा छन्। तर यसमा उनी अडिग हुने सम्भावना कम रहेको उनका पुराना सहयात्री विश्लेषक खतिवडाको बुझाइ छ। ‘बाबुरामजी साना कुरामा बढी बहस गर्नुहुन्छ। अपरिपक्व निर्णयकै कारण उहाँको राजनीति धरापमा परेको छ’, खतिवडा भन्छन्।

प्रकाशित: ३० असोज २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =