लुम्बिनी– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्र सुधार गर्नभन्दा सत्ता टिकाउनमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्। रुपन्देही उद्योग संघको ४५ औँ साधारणसभा तथा २३ औँ अधिवेशनको सोमबार बुटवलमा उद्घाटन गर्दै उनले सत्ता र शक्ति बचाउनका लागि चिर्कटो सम्झौता गर्न सरकार व्यस्त रहेको बताए।
उनले राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको टिप्पणी गरे। ‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलब छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठिक्क छ। देशको अर्थतन्त्र र उद्योगी व्यवसायीबारेका कहाँ छलफल गर्छ? सरकारको ध्यान यो गठबन्धन जोगिनुपर्यो भन्नेमा मात्र केन्द्रित छ’, उनले भने।
जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको उनले टिप्पणी गरे। देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार अझै नगरेको पौडेलले बताए। सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी सन्तुष्ट हुने अवस्था नभएको पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलको भनाइ छ।
उद्योगी र व्यवसायीहरूको टाउकोमा घँगारूको लाठी बर्साएको उनको टिप्पणी थियो। ‘उद्योगीका समस्या के छन् सरकारले सुन्दैन, समाधान गर्न के गर्नुपर्छ त्यसमा सहयोगी बन्दैन। अनि टवाङ–टवाङ टाउकोमा हिर्काउँदै हिडिँरहेको छ। उद्योगी र व्यवसायीलाई त्रसित गर्ने, आतंकित गर्ने, उनीहरूको भय दोहन गर्ने, उनीहरूबाट अनुचित किसिमको लाभको अपेक्षा गर्दै लाठीसहित हिँडेको छ,’ उनले भने।
जसले गर्दा पुँजी पलायन हुँदै गएको बताउँदै उपाध्यक्ष पौडेलले भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको बताए। उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत उत्पादन गर्नसमेत नसकेको उनले संकेत गरे। ‘आपूर्ति, माग र उत्पादन नभएको देश धानिन्छ कसरी?’, पौडेलले सरकारलाई प्रश्न गरे। यो अवस्था आउनु भनेको देशका लागि धेरै ‘सिरियस इन्डिकेसन’ भएको पनि उनले सचेत गराए।
नेपालमा लगानीका लागि अनुकूल वातावरण नभएको सन्देश विदेशीसम्म पुगेको समेत पौडेलको गुनासो थियो। उनले मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने गरी ढुंगा हान्ने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए। यस्तै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताए।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक संकटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा समेत संकट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको गुनासो पाखे।
उत्कृष्ट औद्यौगिक पत्रकारिता पुरस्कार केसीलाई
नेपाल पत्रकार महासंघ रूपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले प्रदान गर्ने उत्कृष्ट औद्यौगिक पत्रकारिता पुरस्कारबाट पत्रकार शेरबहादुर केसी पुरस्कृत भएका छन्।
पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेल र संघका अध्यक्ष माधव पौडेलले संयुक्त रुपमा खादा तथा प्रमाणपत्रसहित केसीलाई सम्मान गरेका थिए। पुरस्कारको राशि ४५ हजार १५५ रुपैयाँ छ। लुम्बिनी राष्ट्रिय दैनिक पत्रिका सम्पादक केसी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष पनि हुन्।