घरमा आत्मविश्वासी भारत, समर्थकबिना ओइलाएको पाकिस्तान

हिमाल प्रेस २८ असोज २०८० ६:५६
12
SHARES
घरमा आत्मविश्वासी भारत, समर्थकबिना ओइलाएको पाकिस्तान भारतको अहमदाबादमा शनिबार भएको आईसीसी पुरुष क्रिकेट विश्वकपमा पाकिस्तानको विकेट लिएपछि खुसी साटासाट गर्दै भारती खेलाडी। तस्बिर : एपी/रासस

काठमाडौँ- भारत र पाकिस्तानबीचको खेलअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सामाजिक सञ्जाल एक्समा समर्थकलाई सोधेको थियो, यी ब्याट्सम्यानमध्ये सबैभन्दा उत्कृष्ट ‘पुल सट’ कसको?

आईसीसीले दिएको विकल्पमा थिए, रिक्की पोन्टिङ, भिभियान रिचार्ड्स, हर्सलेस गिब्स र विराट कोह्ली। समर्थकले आआफ्ना जवाफ दिए। समर्थकबाहेक अर्का एकले पनि ‘कमेन्ट’ आयो। ती थिए, भारतीय कप्तान रोहित शर्मा।

‘मलाई लाग्छ यहाँ कसैको नाम छुट्यो। हुन त घरबाट काम गर्न सजिलो छैन,’ रोहितले आईसीसीलाई व्यङ्ग्य गर्न भ्याए। छुटेको नाम भने उनको आफ्नै थियो। खासमा रोहित मज्जाको ‘पुल सट’ खेल्छन्। उनी अगाडि नै सट प्रहार गर्न तयार भइसकेका हुन्छन्।

शनिबारको खेलमा रोहितले फेरि एकपटक आईसीसीको खिल्ली उडाए। यसपालि भने ब्याटको सहारा लिए, एक्सको होइन। विश्वकपमा पाकिस्तानले दिएको १९२ को लक्ष्य पछ्याउँदा उनले एकपटक मात्र होइन, पटकपटक पुल सट प्रहार गरे।

चौथो ओभरमा साहिन अफ्रिदीको बलमा रोहितले पुल सट प्रहार गरेका थिए। योभन्दा गतिलो सट उनले राउफको बलमा प्रहार गरे। त्यो पनि एक पटक मात्र होइन।

पछिल्लो एक वर्षमा रोहितले आक्रामक क्रिकेट खेलिरहेका छन्। झन् नयाँ बलमा त उनको प्रहार शक्तिशाली हुने गर्छ। शनिबार साहिन अफ्रिदीको पहिलो बलमै रोहितले चौका प्रहार गरेका थिए।

रोहितले जसरी सुरुवात गरे, त्यसको सन्देश प्रस्ट थियो- भारत अलमल गर्नेवाला छैन। भारतीय ब्याट्सम्यानहरू आक्रामक खेल्न तयार छन्। अन्ततः रोहितले ६३ बलमा ८६ रन बनाए। जसमा ६-६ छक्का र चौकासम्मिलित थिए। उनी जुन बलमा आउट भए, त्यसमा उनको प्रहार साँच्चै खराब थियो। सायद खेलभरि उनले प्रहार गरेको खराब सट त्यही एउटा थियो।

उता शुभमन गिल र कोहलीले पनि सुन्दर सट खेलेका हुन्। तर दुवै जना १६-१६ रन बनाएर बाहिरिए। शक्तिशाली प्रहार गर्ने प्रयास गर्दा उनीहरू असफल हुन पुगे। बरु श्रेयस ऐयरको ब्याटिङ जितका लागि महत्त्वपूर्ण रह्यो। पाकिस्तानका स्पिन बलरहरूलाई उनले दुःख दिए।के एल राहुलको प्रदर्शनले पाकिस्तानलाई खेलमा फर्कन दिएन।

लगातार तीन जित र प्लस १.८२१ को रनरेटका कारण भारत हाल अंकतालिकाको शीर्षस्थानमा छ। विश्वकपमा सुरुवाती तीन खेल जित्ने भारत दोस्रो टिम हो। यसअघि यो सफलता न्युजिल्यान्डको नाममा थियो।

अब आउँदो खेलमा भारतले बंगलादेशको सामना गर्नेछ। तर यो खेलअघि भारत चार दिन विश्राम गर्नेछ। पुनेमा अक्टोबर १९ मा भारत र बंगलादेश भिड्दा पाकिस्तान भने त्यसको भोलिपल्ट अस्ट्रेलियासँग भिड्नेछ।

प्रतिद्वन्द्वी भारतसँगको हारले स्वाभाविक रूपमा निराश बनेको पाकिस्तान अर्को एक समस्यासँग पनि जुधिरहेको छ। त्यो हो, लयबिनाको बलिङ। पाकिस्तानी बलिङमा अहिले गति देखिएको छैन। ठ्याक्कै यही समस्या भारतले लामो समय भोगेको थियो।

‘समर्थकबिना खेल्न गाह्रो भयो’

भारतसँग पराजित भएपछि पाकिस्तानी टिमको खुबै आलोचना भइरहेको छ। पूर्वखेलाडी सोएब अख्तरले बलरप्रति रोष व्यक्त गरेका छन्। ‘मलाई लाग्छ रोहित र विराटले पाकिस्तानी बलरबाट भन्दा नेट अभ्यासमा बढी दबाब सामना गरेका थिए,’ अब्तरले एक्समा लेखेका छन्।

उता पाकिस्तानी टिमका निर्देशक मिक्की आर्थरले नरेन्द्र मोदी रंगशालामा खेल्न सजिलो नभएको प्रतिक्रिया दिए। पाकिस्तानी खेलाडीलाई उक्साइएको, रंगशालामा उद्घोषकले पाकिस्तानी टिमको पक्षमा केही नभनेको, बजाइएको संगीत पनि एकतर्फी भएको आर्थरको आरोप थियो।

‘यो त आईसीसीको होइन बीसीसीआईले आयोजना गरेको प्रतियोगिता जस्तो थियो। विश्वकप पनि दुई टिमबीचको शृंखला जस्तो गरेर खेलाइँदैछ। पाकिस्तानी टिमको कुनै गीत नै बजाइएन। माहोल खालि भारतको पक्षमा मात्र सिर्जना गर्ने प्रयास भयो,’ आर्थरले भने, ‘उद्यपि यी कुरालाई म हारको मुख्य कारण मान्दिनँ। हामी तत्कालीन समयमा कसरी खेल्ने, आइपर्ने समस्यालाई कसरी हल गर्ने, भारतीय खेलाडीलाई कसरी रोक्ने भन्ने पक्षमा गम्भीर हुनुपर्ने थियो।’

नरेन्द्र मोदी रंगशालामा पाकिस्तानी समर्थक असाध्यै थोरै थिए। किनभने भारत जान चाहेका पाकिस्तानी समर्थकका लागि भिसा प्रक्रिया कठिन बनाइएको थियो। जबकि उनीहरूले खेलको टिकट पहिल्यै खरिद गरिसकेका थिए। रंगशालामा जति पाकिस्तानी समर्थक देखिए, ती पाकिस्तानबाट नभई बेलायत र अमेरिकाबाट त्यहाँ पुगेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाएका थिए। मोहम्मद रिज्वानले ४९ रन जोडे भने ओपनर इमाम उल हकका नाममा ३६ रन रह्यो।

खेलपछिको पत्रकार सम्मेलनमा आर्थरले पाकिस्तानी खेलाडीले निराशाजनक प्रदर्शन गरेको बताए। पाकिस्तान ४२.५ ओभरमा १९१ रन बनाएर अलआउट भएको थियो।

‘हाम्रा खेलाडीले आत्मविश्वास देखाउनै सकेनन् विशेषगरी भारतीय स्पिनविरुद्ध। स्पिनरविरुद्ध अलिक बढी समय खेल्नुपर्ने थियो,’ आर्थरले भने। पाकिस्तानलाई औसत योगफलमा सीमित गर्न पाँच भारतीय बलरले दुई-दुई विकेट लिएका थिए।

पाकिस्तानी प्रशिक्षक ग्रान्ट ब्राडबर्नले समर्थकबिना खेल्दा गाह्रो भएको प्रतिक्रिया दिए। ‘आज पाकिस्तानी समर्थक यहाँ थिएनन्। उनीहरुबिना खेल्न सजिलो भएन। मलाई लाग्छ भारतीय समर्थक पनि पाकिस्तानबाट समर्थक यहाँ आएको हेर्न चाहन्थे। रंगशालाको वातावरण देख्दा, विश्वकपको खेल जस्तो पनि लागेन,’ ब्राडबर्नले भने।

प्रकाशित: २८ असोज २०८० ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =