माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

हिमाल प्रेस २७ असोज २०८० १६:३६
26
SHARES
माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

माेरक्काे- माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ।

रणनीतिक महत्त्व रहेको माथिल्लो अरूण जलविद्युत् आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी साता वासिङ्टनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्नेछ।

त्यसैगरी सहुलियतपूर्ण ॠण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आईडीए) को २१ औँ रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा विश्व बैंक सकारात्मक भएको छ।

विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा शनिबार अर्थमन्त्री डा. महतले यो प्रस्ताव राखेका हुन्।

मन्त्री डा. महतले उपाध्यक्षद्वयसँग गरेको छलफलमा हाल चालु परियोजनाको प्रगति समीक्षासमेत भएको थियो। गत वर्ष ९.२ प्रतिशतमात्र वितरण भएकोमा कर्जालाई बढाउन पूर्वतयारीमा ध्यान दिनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिएका छन्।

त्यस क्रममा साइट क्लियरेन्स तथा ठेक्का बन्दोबस्ततर्फ क्षमता अभिवृद्धि र धेरै क्षेत्रमा छरिएका आयोजनालाई दुईचारवटा प्राथमिकताका क्षेत्रमा मात्र खर्च गर्ने गरी स्पिलओभर प्रभाव बढाउने विषयमा छलफल भएको थियो।

यसैगरी ३०० मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षको सहमति भएको छ। यसअन्तर्गत सार्वजनिक वित्त वित्तीय क्षेत्र र हरित उत्थानशील तथा समावेशी विकास ग्रिड का क्षेत्रमा नीतिगत सुधारका कार्यहरु अगाडि बढाइनेछ।

यसैगरी भौतिक पूर्वाधारका क्षेत्रमा अर्थमन्त्रीले कार्यक्रमगत सहायताको नयाँ मोडलमा सहायता परिचालन गर्न अनुरोध गरेका छन्। यो मोडलअन्तर्गत ससाना आयोजना कार्यान्वयनका लागि नेपालको आफ्नै सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरण मापदण्डलाई आधार मानेर लगानी सुनिश्चित गर्न सकिनेछ।

ग्रिड अवधारणा कार्यान्वयनमा नेपाल अग्रपंक्तिमा रहेको र यो अवधारणाबाट विकास साझेदारबीच सामञ्जस्य हुने साथै जलवायु कोषको परिचालनमा नेपालको दक्षता अभिवृद्धि हुने विचार अर्थमन्त्री महतले राखेका छन्रा। यसमा विश्व बैंक आवश्यक समन्वय तथा सहकार्य गर्न सहमत भएको छ। बैठकमा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =