जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन जनकपुरधाममा जारी रहेका बेला प्रदेश सचिव डा. कृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन्। एमालेको मधेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास जारी रहेका बेला पौडेल आफ्नै घरमा मृत भेटिएका हुन्।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगर प्रमुखसमेत रहेका उनी जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित आफ्नै घरमा मृत फेला परेको बताइएको छ।
घटनाको पुष्टि एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले सामाजिक सञ्जालमा पोस्ट गर्दै गरेका छन्। यसका साथै उनले पौडेलको निधन प्रति दुःख समेत व्यक्त गरेका छन्। पौडेल नेकपा एमालेटबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख निर्वाचित भएका थिए। उनी अहिले नेकपा एमाले मधेशको सचिव थिए।
पौडेलको निधनसँगै एमालेको मधेश अधिवेशन शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। उनको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पूर्ण निर्वाचन प्रक्रिया शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको एमालेका एक नेताले जानकारी दिए।
जीतपुर सिमरा उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवम् हाम्रो पार्टीका मधेस प्रदेश कमिटीका सचिव डा. कृष्णप्रसाद पौडेलको निधनको खवरले अत्यन्त दु:ख लागेको छ । दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) October 12, 2023