कोशीले शुक्रबारमात्रै मुख्यमन्त्री पाउने

हिमाल प्रेस २५ असोज २०८० २०:०३
30
SHARES
कोशीले शुक्रबारमात्रै मुख्यमन्त्री पाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय।

इटहरी- कोशी प्रदेशको मुख्यमन्त्री शुक्रबार मात्रै नियुक्त गरिने भएको छ। मुख्यमन्त्रीका लागि दुईजनाले दाबी पेस गरेका कारण छलफल गरेर शुक्रबार मात्रै नियुक्त गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार ५ बजेसम्मको समय रहेकाले शुक्रबार नै नियुक्त गर्ने तयारी भएको जानकारी दिए। प्रदेश प्रमुख परशुराम खापुङको भनाइ उदृत गर्दै उनले हिमाल प्रेससँग भने, ‘भोलि छलफल गरेर बाँकी कारोबार गरौँला भन्नुभयो, उहाँले (प्रदेश प्रमुख)।’

बिहीबार काम गर्दागर्दै ढिलो भएका कारण आँफूहरू कार्यालयबाट निवासतर्फ लागेको उनको भनाइ छ। ‘काम गर्दागर्दै आज ढिलो भयो। दुईजनाको दाबी पेसका कारण पनि छलफल हुनै बाँकी छ,’ श्रेष्ठले भने, ‘भोलि ५ बजेसम्मको समय भएकाले छलफल गरेर प्रदेश प्रमुखबाट निर्णय हुनेछ।’

गत २० असोज (शनिबार) एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै दलहरू नयाँ सरकार बनाउन कसरतमा थिए। तर, एमालेसँगै मिलेर डा. शेखर कोइराला पक्षका सांसदले केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सारेसँगै कोशीमा मुख्यमन्त्री नियुक्त गर्न अन्योल छ। सोहीअनुरुप बिहीबार साँझ एमालेका ४० सांसद (उपसभामुख) र कांग्रेसका शेखर पक्षधरका ९ सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

यसअघि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार सम्मको समय दिएका थिए। तर, बिहीबार सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले माओबादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै शेखर पक्ष असन्तुष्ट बनेको थियो। असन्तुष्ट समूहले एमालेसँग मिलेर जाने प्रस्ताव राखेको र सोही अनुरुप कार्कीलाई मुख्यमन्त्रीमा दाबी पेस गरिएको थियो।

कोशीमा अब यो अन्तिमपटक सरकार निर्माण भएको हो। संवैधानिक व्यवस्थाअनुसार संविधानको धारा १६८ (५) बमोजिम सरकार बनेपछि संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत प्राप्त गर्न नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बिघटन गरी ६ महिनाभित्र प्रदेशसभाको निर्वाचन (मध्यावधि) को मिति तोक्ने संवैधानिक व्यवस्था छ।

यसअघि कोशी प्रदेशसभामा कांग्रेसले मुख्यमन्त्री लिएको थियो। कांग्रेसका उद्धव थापाले दुईपटक मुख्यमन्त्री बन्दापनि विश्वासको मत प्राप्त गर्न नसकेको भन्दै बिहीबार बिहानको सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले माओबादीका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो।

मुख्यमन्त्रीमा आङ्बोलाई अघि सार्दा राप्रपालेसमेत सहयोग गर्ने सम्भावना रहेका कारण उनलाई मुख्यमन्त्रीमा अघि सार्ने जनाइएको थियो। तर, असन्तुष्ट बनेको शेखर समूहले आँफू पक्षका नौ सांसदलाई हस्ताक्षर गराएर एमालेसँगको सहकार्य गरेर दाबी पेस गरेका हुन्।

कार्कीलाई मुख्यमन्त्री बनाउन कार्कीसहित कांग्रेसबाट उदयपुरका सांसद रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनीता गुरुङ र उदयपुरकी लीलाकुमारी राई र उदयपुरकै हिमाल कार्कीले हस्ताक्षर गरेका छन्। यसअघि हिमाल कांग्रेस संसदीय दलको उपनेता थिए। उनले बिहीबार नै उपनेताबाट राजीनामा दिएर केदारलाई सघाएका हुन्।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। कोशीमा एमालेका ४० (उपसभामुखसहित) कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक सांसद छन्।

प्रकाशित: २५ असोज २०८० २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =