इजरायल-प्यालेस्टिन द्वन्द्व

गाजा क्षेत्र नियन्त्रणमा लिन नेतान्याहुमाथि दबाब

हिमाल प्रेस २२ असोज २०८० १३:०२
68
SHARES
गाजा क्षेत्र नियन्त्रणमा लिन नेतान्याहुमाथि दबाब इजरायली हवाई आक्रमणका कारण गाजा सहरमा उठेको धुवाँको मुस्लो। तस्बिर : सिन्हवा/रासस

आइतबार साँझ इजरायली सेना हमासका लडाकुसँग लड्दै थियो। जो ३६ घण्टाअघि इजरायली भूमिभित्र छिरेको हमासका अन्तिम लडाकु थिए। इजरायलभित्र छिरेका हमासका लडाकुलाई परास्त गरे पनि यो युद्ध सकिएको छैन। किनभने इजरायली नेतृत्व नयाँ चरणको युद्धको तयारीमा छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अब आफूहरू आक्रामक हुने चरणमा पुगेको बताएका छन्। ‘लक्ष्य पूरा नहुन्जेल युद्ध कारबाही रोकिँदैन,’ सुरक्षा बैठकपछि नेतान्याहुले भने।

नेतान्याहुले सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति दिइरहँदा इजरायली युद्धक विमानले भने गाजा क्षेत्रमा बम खसाल्न सुरु गरिसकेका थिए। हमासको पकड क्षेत्र गाजामाथि इजरायली युद्धक विमान उड्नुको संकेत हो, इजरायलमाथि आक्रमणले अब युद्धको रूप लियो।

हमासको आक्रमणमा परी करिब ६ सय जनाको मृत्यु भएको बताइँदैछ। सँगसँगै दुई हजार घाइते भएको सूचना बाहिर ल्याइएको छ। हमासले एक सयभन्दा बढीलाई बन्धक बनाएको पनि खबर छ।

हमासको आक्रमणपछि नेतान्याहु दबाबमा परेका छन्। उनको पार्टी सदस्य रहेको दक्षिणपन्थी गठबन्धनलाई समर्थकले हमासमाथि आक्रामक हुन आह्वान गरिरहेका छन्। कतिसम्म भने गाजाभत्रि इजरायली स्थल सेना पठाउनुपर्ने माग उठिरहेको छ।

इजरायली अधिकारीहरूका अनुसार शनिबार सुरु भएको आक्रमणमा परी चार सय प्यालेस्टिनीको मृत्यु भइसकेको छ। बमबारीले २३ सयलाई घाइते बनाएको आँकडा छ। ‘दुस्मनको ढाँड भाँच्न जरुरी छ। आक्रमण तबसम्म हुनुपर्छ जबसम्म उनीहरू हामीलाई आक्रमण गर्न आग्रह गर्दैनन्,’ इजरायलको दक्षिणपन्थी अखबार हायोमले आइतबारको अंकमा लेखेको थियो।

नेतान्याहु इजरायली प्रधानमन्त्रीको कुर्सीमा करिब १५ वर्ष बसिसके। यो बीचमा उनको नेतृत्वमा इजरायलले हमाससँग तीन युद्ध लडिसकेको छ। सन् २०१४ को युद्धमा इजरायलले गाजाभित्र स्थल सेना परिचालन गरेको थियो।

कतिपय सुरक्षा तथा रक्षाविज्ञ र पूर्वअधिकारीहरू इजरायललाई स्थल सेना परिचालन गर्न सल्लाह दिइरहेका छन्। हमासलाई साँच्चै कमजोर बनाउने हो भने ऊविरुद्ध स्थल सेना परिचालनको विकल्प नरहेको उनीहरूको जिकिर छ। त्यसो गरे मात्र हमास ठूलो आक्रमण गर्न सक्ने स्थितिमा पुग्न नसक्ने दाबी गरिँदैछ। शनिबारको आक्रमण हमासले सन् १९४८ पछि गरेको सर्वाधिक घातक हो।

‘स्थल सेना परिचालन गर्न दबाब बढेको छ। यो दबाब इजरायली सरकारले नजरअन्दाज गर्नसक्छ जस्तो लाग्दैन। स्थल सेनाले कारबाही गर्नैपर्छ। कारबाहीको आकार कत्रो हुन्छ थाहा छैन,’ इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद्का पूर्वडेपुटी हेड इतामार यारले भनेका छन्, ‘सत्य यही हो, वायुसेनाले मात्र केही गर्न सक्दैन। अबको कारबाही वायु, स्थल र जल सेनाको संलग्नतामा।’

स्थल सेना परिचालन गरे हमास मात्र होइन इजरायलका अन्य शत्रु पनि तह लाग्ने कतिपयको जिकिर छ। यसपालिको आक्रमणमा हमासलाई लेबनानको हेज्जबुल्लाहले सहयोग गरेको थियो। हेज्जबुल्लाह इरानसँग निकट छ। यसकारण तीन पक्षको संलग्नतामा इजरायलमाथि आक्रमण भएको दाबी इजरायलको छ।

‘गाजाभित्र छिर्नुको विकल्प छैन। गाजालाई पूरै नियन्त्रणमा लिनुपर्छ। पूरै नभए यसको धेरैजसो हिस्सा हाम्रो कब्जामा हुनुपर्छ। अब पुराना रणनीतिले काम गर्दैनन्। हमासलाई तह लगाउन सकिएन भने इजरायलको क्षमतामाथि प्रश्न खडा हुनेछ। इजरायल मात्र होइन पूरा क्षेत्र नै अस्थिर हुनेछ,’ इजरायली सेनाको गाजा कमान्डका पूर्वडेपुटी कमान्डर अमिर अभिभी भन्छन्।

उसो त विगतमा इजरायली स्थल सेनाले गरेको कारबाहीले पनि हमासलाई पूर्ण रूपमा तहसनहस गर्न सकेको होइन। सन् २०१४ मा इजरायली स्थल सेनाले हमासमाथि गाजाभित्र छिरेर धावा बोलेको थियो। तर पछि हमासका लडाकु फेरि एकीकृत भएका थिए।

गाजाभित्र पसेर हमासमाथि आक्रमण गर्न सजिलो पनि छैन। गाजा त्यसै पनि साँघुरो छ। त्यहाँ बस्ती ठूलो छ। त्यसमाथि हमासले सम्भावित इजरायली आक्रमण थेग्न वर्षौँदेखि तयारी गरेको छ। यस्तोमा इजरायली स्थल सेना त्यहाँ पुग्नु भनेको उसलाई ठूलो क्षति हुनु हो। सँगसँगै ठूलो संख्यामा प्यालेस्टिनी नागरिक मारिनेछन्।

‘हमासको आक्रमण एक हिसाबले प्रकोप हो। यो प्रकोपको प्रभाव इजरायली र प्यालेस्टिनी दुवै पक्षलाई पर्छ। हमासले आईएसएस समूहको जस्तो रणनीति अपनाएको छ। यो आक्रमणका कारण इजरायले प्यालेस्टाइनमाथि बर्बरतापूर्ण हमला गर्ने मौका पाएको छ। उसको अपराधलाई पहिलेभन्दा झन् बेवास्ता गरिनेछ,’ इजरायली मानवअधिकारकर्मी इते म्याकले भन्छन्।

अहिलेको परिस्थिति किन पनि अप्ठ्यारो छ भने हमासले एक सयभन्दा बढीलाई बन्धक बनाएको छ। बन्धक बनाइएकामध्ये अधिकांश बालबालिका, महिला, निहत्था, सैनिक र अमेरिकी नागरिक छन्। फेरि यतिबेला गाजामा हतियारधारी हमास मात्र छैन, अन्य लडाकु समूह, इस्लामिक जिहादीलगायत पनि छन्।

इजरायली सरकारका लागि हालको प्राथमिक लक्ष्य ती बन्धकलाई हमासको कब्जाबाट मुक्त गर्नु हो। तर ती बन्धकलाई कहाँ राखिएको छ, पत्ता लगाउन मुस्किल छ। किनभने हमासले गाजामा सयौँ किलोमिटर लामा सुरुङ खनेको छ। बन्धकलाई सुरुङमा राखिएको हुन सक्ने अनुमान छ। यस्तोमा हमासमाथिको हमलाले ती बन्धकको ज्यान जाने हो कि भन्ने डर कायमै छ।

‘हमासलाई थाहा छ, इजरायलीलाई बन्धक बनाउनु इजरायल सरकार अप्ठ्यारोमा पर्नु हो,’ इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद्का पूर्वडेपुटी हेड यारको भनाइ छ। इजरायली राष्ट्रिय सुरक्षा परिषद्का पूर्वप्रमुख याकोभ नाजेल हमासबाट बन्धक छुटाउन स्थल सेनाको कारबाही आवश्यक रहेका दाबी गर्छन्। उनी हमासले अनुमान गरेभन्दा बढीलाई बन्धक बनाएको बताउँछन्। ‘हमासलाई थाहा छ, यो संख्या धेरै हो। यस्तोमा हामी त्यहाँ नगई सुख छैन,’ याकोभ भन्छन्।

कतिपयचाहिँ इजरायली स्थल सेनाको कारबाही योजना हमासभन्दा हेज्जबुल्लाहलक्षित रहेको अनुमान गर्छन्। लेबनानको यो राजनीतिक तथा लडाकु समूहले सन् २००६ मा इजरायलसँग करिब एक महिना युद्ध लडेको थियो। हमासलाई समर्थन गरेको हेज्जबुल्लाहका लडाकु र इजरायली सेनाबीच आइतबार गोली हानाहान भएको थियो।

इजरायलले स्थल सेना गाजाभित्र पठाउँछ वा पठाउँदैन भन्ने प्रश्न छँदैछ। पठाइहाले र कारबाही अभियान सके, त्यसपछिको कदम के? यो प्रश्न पनि उठ्छ। फेरि गाजामाथि इजरायली शासन हुनुपर्छ भन्ने मत इजरायलभित्र बलियो छैन। यो यस्तो क्षेत्र हो, जसमाथि इजरायलले कब्जा गरेर छाडेको थियो। सन् २००५ मा कब्जा गरेर छाडेको गाजामाथि फेरि कब्जा किन? यस्तो प्रश्न गरिने नै छ।

गाजामा इजरायलले हमासको प्रभाव निमिट्यान्न पार्दा त्यहाँ ‘पावर भ्याकुम’ हुनेछ। गाजामाथि कसैको एकल प्रभाव नहुने स्थिति उत्पन्न भए त्यो इजरायलका लागि सही नहुने विश्लेषण पनि छ।

‘गाजामाथि कब्जा जमाउने कि नजमाउने भन्ने बहस पछिल्ला वर्षहरूमा इजरायलमा भएको छैन। तर अब यो बहस उठ्नेवाला छ। हमासको आक्रमणले यो एजेन्डालाई टेबलमा फर्काएको हो,’ इजरायली वायु सेनाका पूर्वकमान्डर भिका हाइमोभिच भन्छन्।

फाइनान्सियल टाइम्सबाट
प्रकाशित: २२ असोज २०८० १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =