नियात्रा

डुबुल्कीपछि चिसोले लुगलुग काम्दै गरेका ती युवा

राजाराम बर्तौला २० असोज २०८० १७:५५
86
SHARES
डुबुल्कीपछि चिसोले लुगलुग काम्दै गरेका ती युवा

सांस्कृतिक सहरको हो, पनौती। जसलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रयास भइरहेको छ। पनौती जति घुमे पनि अघाइँदैन। हरेक पटक केही न केही छुटेको अनुभूति हुन्छ। यसअघिको भ्रमणमा पुरानो दरबार हेर्ने अभिलाषा अपूर्ण नै रह्यो। चारैतिर पर्खालले घेरेर राखेको दरबारको ढोका बन्द थियो। कम्पाउन्डबाट भित्रै गएर हेर्न छुटेको थियो, नौचोके दरबार।

यो दरबार पनौतीको सबैभन्दा पुरानो अवशेष हो। जहाँ नौवटा चोक भएको भग्नावशेष देखिन्छ। त्यसै गरी इनार पनि। बौद्ध कथाअनुसार सिद्धार्थ गौतमको पूर्वजन्मको कथा पनि यस दरबारसँग जोडिन आउने रहेछ। दरबारको एउटा कुनामा यसको प्रतीकका रूपमा संरचना संग्रह गरिएको छ। यसपालिको घुमघाममा यो इच्छा पूरा भयो।

फूलचोकीबाट आएकी रोशी खोला जसलाई लीलावती पनि भनिन्छ। उत्तर पहाडबाट आएकी पुण्यवती र गुप्त रूपमा बहने रुद्रवती गरेर तीन नदीको संगम भएर त्रिवेणीधाम भएको हो। यो त्रिवेणीधाममा प्रत्येक वर्ष जेठ पूर्णिमामा र बाह्रबर्से मकर मेलासमेत लाग्ने गर्छ। उता कोशीको शाखा नदी पनि रोशी छ। यता यो रोशीचाहिँ फूलचोकीबाट निस्किएर प्रवाहित हुन्छिन्। पनौती सहर हुँदै कोशीमा नै मिसिन्छिन्।

अघिल्लो पनौतीको पदयात्रासम्बन्धी लेखमा यो सहरको प्राचीन कथा या भनौँ लोकोक्ति भनिएको थियो। उक्त कथामा कसरी अहिल्याको सुन्दरताबाट लोभिएर गुरुपत्नीमाथि पापकर्म गर्दा श्रापित भएर शरीरैभरि लिंगको चिह्न लिएर लाजको कारण १२ वर्षसम्म लुकेर बस्नुप¥यो। दिव्य तपले भगवान् महादेव प्रसन्न भई इन्द्रलाई श्रापबाट मुक्त गरे भनेर लेखियो।

कथाको सानो अंश छुटेको थियो। अर्थात् कथा अपुरो थियो। इन्द्र श्रापबाट मुक्त त भए तर जति गर्दा पनि निधारमा भएको लिंग गएन। त्यो अन्तिम बाँकी दाग वा भनौँ दोष मेटाउन उनी पनौतीबाट चार किलोमिटर पश्चिममा रोशी खोलाको भूमिडाँडा गए। थप तप ध्यान गरेपछिमात्र त्यसबाट मुक्ति पाए।

इन्द्रको निधारमा रहेको श्रापित अंग पतन भएको स्थानमा भालेश्वर महादेव उत्पत्ति भएका रहेछन्। यो मन्दिरमा आएर दर्शन गर्नाले चिताएको पूरा हुन्छ भन्ने मान्यता छ।

मान्छेको मन आशा, आकांक्षा, इच्छा पोको हो। मागेको फल प्राप्त हुने भएपछि भालेश्वरको दर्शन गर्ने कामना नगर्ने भक्तजन को नै होला? मनोकामना सिद्ध होस् भनी अग्लाअग्ला पर्वत शिखरसम्म पुगेर भगवान्को पाउँमा माथा टेकाउँछन् भक्तजन।

काठमाडौँबाट यति नजिकै भएको भालेश्वरसम्म पुगेर मनको इच्छा पूरा हुन्छ भने भगवान् पुकारा किन नगर्ने? मनसाय पदयात्रा गर्ने भनिए पनि अन्तर्यचाहिँ बीच बाटोमा पर्ने भालेश्वर दर्शन पनि थियो। एक पन्थ दुई काज भनेजस्तै।

यहाँसम्म पुग्न पनौतीको त्रिवेणीधामस्थित रोशी खोलाको किनारैकिनार हिँडेर जानुपर्छ। हिँड्न सजिलो छैन। टिपरहरूलाई गुडन् फराकिलो बाटो निर्माण गरिएको छ। जसमा पदयात्री डराइडराइ हिँड्छन्। बाटोको किनारा लागेर। भयभीत पदयात्रु सकेसम्म हिँड्न रुचाउँदैनन्। किनभने त्यहाँ टिपरहरूको एकछत्र साम्राज्य छ। हुइँकिएर आएका टिपरले कतिखेर ठक्कर देलान् भन्न सकिन्छ। प्राण जोगाउनका निम्ति बाटोको किनार लागेर हिँड्नुको विकल्प छैन।

उपत्यकाको विकास निर्माण र आवासीय निर्माणमा उपलब्ध हुने ढुंगा, गिट्टी र बालुवा यतैबाट आउँछन्। महाभारत पर्वतमालामा थिचिएर बसेका चट्टानलाई मेसिनले फोरेर विभिन्न स्वरूप र आकारमा टिपरमा लोड गरेर उपत्यकाका क्रसर उद्योगमा पु¥याइन्छ। राजकीय शक्तियुक्त बलशालीहरू द्वारा सञ्चालित यस्ता बालुवागिट्टी उद्योगका क्रसरले तयार गरेका उत्पादन बोक्ने सयौँ टिपर निर्बाध ओहोरदोहोर गर्छन्।

त्यस बाटोमा हिँड्ने पदयात्रीहरूलाई कुनै समस्या आइनपरोस् भनेर स्थानीय प्रशासनले प्रहरी परिचालन गरी टिपरहरूको आवागमनलाई व्यवस्थित गरेको थियो। जसले गर्दा हामीलाई पदयात्रामा कुनै समस्या भएन। तर सामान्य अवस्थामा अन्य यात्रु भने निकै सतर्क र सजग भएर हिँड्दा रहेछन्।

भालेश्वर दर्शनपछि पुनः यात्रालाई निरन्तरता दियौँ। अगाडि बढ्दै गयौँ रोशीको किनारैकिनार पश्चिमतिर। एउटा दोभान आइपुग्यो जहाँ एकातिरबाट रोशी र अर्कोतिरबाट खरे खोला आएर मिसिएको थियो। रोशी खोलाको जलाधार क्षेत्र निकै फराकिलो र ठूलो छ। खरे खोलाको पनि जलाधार ठूलै छ। जलाधार ठूलै भएको कारणले हिउँदमा पनि यहाँको खोलामा प्रशस्तै पानी बगेको हुन्छ। रोशीको शिर पुग्न त फूलचोकी जलाधार क्षेत्रमा नै पुग्नुपर्छ। हामी खरे खोलालाई पछ्याउँदै अगाडि बढ्यौँ। हाम्रो पदयात्राको गन्तव्य भनेको पञ्चकन्या झरना थियो। जुन यसै खोलाको शिर भागमा पर्छ।

शरद यामको सुरुमा पनि यो झरनामा पानीको कमी थिएन। यहाँ हिउँदमा पनि पानी रहिरहने हुँदा यो झरना बाहै्र महिना देखिने सर्वकालीन हो। वर्षा ऋतुमा प्रकृतिको सुन्दरतालाई बढाएका हुन्छन् झरनाहरूले। धेरै झरना अस्थायी हुन्छन्। जुन वर्षा सकिएपछि हराएर जान्छन्। तर कुनै झरना सदाबहार हुन्छन्। पञ्चकन्या भने यस्तै झरनामध्ये एक हो, सदाबहार। दुई पहाडको खोंचमा रहेको तर निकै आकर्षक र मनमोहक।

यहाँसम्म पुग्न स्थानीय सरकारले बाटोको निर्माण गरेको छ। झरनाको फेदीमा व्यवस्थित पोखरी बनाइएको छ। फलामे बार र रेलिङ पनि छ। झरनामा नै गएर पानी स्पर्श गर्न सकिँदैन। तर पोखरीमा नुहाएर आनन्दित हुन सकिन्छ। हामी शरद ऋतुको आरम्भमा पुग्दा झरनाको पोखरीमा डुबुल्की मारेर बाहिर निस्केका युवायुवती चिसोले लुगलुग काम्दै थिए। यसैबाट अनुमान लगाउन सकिन्छ पानी कति चिसो थियो।

झरनाको उचाइ त्यति धेरै छैन। तर जुन वेगमा पानी झरेको छ, त्यसले बनाएको सेतो फोहरा, हावामा उडेको वाष्पकणले स्पर्श गर्दा मन प्रफुलित बनाउँछ। हरियो जंगलको बीचमा चट्टानमा ठोक्किएर झर्ने सेतो पानीको फोहरा र पानीको फिँजले अपरिमेय आनन्द दिन्छ।

पञ्चकन्या झरना पर्यटकीय आनन्द लिन चाहनेहरूको बीचमा प्रसिद्ध रहेछ। झरनाको सुन्दरता हेर्न सयौँ युवायुवतीको लस्कर लाग्ने रहेछ। केही तलसम्म मोटरसाइकल जाने भएको हुँदा पनि पहुँचको सहजताले यसको लोकप्रियता बढाएको हुन सक्छ। झरनाको छेवैमा रिसोर्ट खुल्दै छन्। जुन बाटो गएका थियौँ, सोही बाटो फर्कियौँ। मनभरि झरनाको सौन्दर्य, भालेश्वरको आशीर्वाद लिएर।

प्रकाशित: २० असोज २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =