सामुदायिक विद्यालयमा शनिबार पनि पठनपाठन

हिमाल प्रेस २० असोज २०८० १७:२१
5.1k
SHARES
सामुदायिक विद्यालयमा शनिबार पनि पठनपाठन

काठमाडौँ- देशका अधिकांश सामुदायिक विद्यालयमा शनिबार पनि पठनपाठन भएको छ। विद्यार्थी अन्य दिनजस्तै विद्यालयमा पुगेका छन् भने शिक्षकहरू पनि नियमित रुटिनअनुसार सिकाइ क्रियाकलापमा सहभागी भएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा भएको राजधानी केन्द्रित आन्दोलनका क्रममा अवरुद्ध भएको पठनपाठनलाई क्षतिपूर्ति दिन शनिबार पनि विद्यालयमा पठनपाठन गरिएको काठमाडौँको रामशाहपथस्थित पद्मोदय माविका प्रधानाध्यापक नारायणप्रसाद गौतमले जानकारी दिए।

उनले भने, ‘शिक्षकहरू महासंघको आन्दोलनमा सहभागी हुँदा तीन दिन पढाइ अवरुद्ध भएको थियो। त्यसकै क्षतिपूर्तिस्वरूप हामीले शनिबार कक्षा सञ्चालन गरेका हौँ।’ उनका अनुसार अन्य बिदाका दिनमा पनि कक्षा सञ्चालन गरेर पठनपाठन पूरा गरिनेछ।

काठमाडौँको रामशाहपथस्थित पद्मोदय माविमा शनिबार भएको पठपाठन। तस्बिर : नारायणप्रसाद गौतम

यसैगरी राजधानीकै पद्मकन्या विद्याश्रम माविमा पनि शनिबार पठनपाठन गरिएको छ। प्रधानाध्यापक रीता तिवारीले शिक्षक महासंघको आयोजनामा भएको काठमाडौँ केन्द्रित आन्दोलनका कारण असर परेको विद्यालयको पठनपाठन शनिबार सञ्चालन गरिएको जानकारी दिइन्।

शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू विद्यालय बन्द गरेर राजधानी केन्द्रित आन्दोलनमा सहभागी भएका कारण असोज ३, ४ र ५ गते पठनपाठन हुन सकेको थिएन।

विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानमा विमति जनाउँदै शिक्षकहरू आन्दोलित भएका थिए। तीनदिने आन्दोलनपछि भएको वार्तामा सरकार र महासंघबीच सहमति भएको थियो। त्यसपछि शिक्षकहरू विद्यालय फर्किएका थिए।

काठमाडौँको डिल्लीबजरस्थित पद्मकन्या विद्याश्रम माविमा शनिबार बिहानी प्रार्थनामा सहभागी छात्रा। तस्बिर : रीता तिवारी

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले महासंघले दिएको निर्देशनबमोजिम देशभरका अधिकांश सामुदायिक विद्यालयमा बिदाका दिनमा पनि पठनपाठन भइरहेको जानकारी दिए। उनले भने, ‘महासंघले रोकिएको पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो। सोहीअनुसार देशभरका विद्यालयमा बिदाका दिनमा पनि पठनपाठन सञ्चालन भइरहेको छ।’ उनका अनुसार कतै शनिबार र कतै स्थानीय पर्वबिदाका दिन विद्यालयमा पठनपाठन हुनेछ।

प्रकाशित: २० असोज २०८० १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =