काठमाडौँ- राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस यही असोजको अन्तिम साता नेपाल आउने तय भएको छ। उनी नेपालको पोखरा भ्रमण गर्ने आफ्नै इच्छाअनुसार नेपाल आउन लागेका हुन्। उनी चीनको भ्रमणमा आउने समय पारेर नेपालको पर्यटकीय नगरी पोखरा पनि भ्रमण गर्ने इच्छा रहेको जानकारी दिएलगत्तै राष्ट्रसंघ महासभामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निम्ता दिएका थिए।
उनको भ्रमणको औपचारिक तालिका बाहिर नआए पनि उनी असोजका २६ गते दिउँसो काठमाडौँ उत्रने छन् । उनी एक रात पोखरा र दुई रात काठमाडौँमा बिताएर नेपालको उत्तरी छिमेकी चीनतर्फ असोज २९ गते अपराह्न प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। उनी कतार एअरलाइन्समा नेपाल उत्रने छन्। उनी चीन पुगेर नेपाल आउने तयारी भए पनि अहिले नेपाल भएर चीन जाने गरी तयारी गरिएको हो।
पोर्चुगलका पूर्व प्रमको दोस्रो भ्रमण
पोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत रहेका गुटेरसको राष्ट्रसंघ महासचिवको हैसियतमा पहिलो भ्रमण हो। तर राष्ट्रसंघमा नै शरणार्थी मामिला हेर्ने प्रमुख हुँदा नेपाल आइसकेका व्यक्ति हुन्, गुटेरस। उनले त्यो समयमा काठमाडौँ र झापाको भ्रमण गरेका थिए।
सन् २००७ को मे मा नेपाल आइसकेका उनलाई नेपालको पर्यटकीय सहर पोखराबारे सुनेको छाप बसिरहेको थियो। र, अहिले पोखरा घुम्ने गरी नेपाल आउन लागेका हुन्। उनलाई लुम्बिनी र पोखरा लैजाने तालिकाबारे छलफल भइरहेको छ। पहिला सगरमाथाको आधार शिविर लगेर त्यता लैजाने कि त्यता सकेर सगरमाथाको आधार शिविर र माउन्टेन फ्लाइट गर्ने भनेर परराष्ट्र र यहाँको राष्ट्रसंघीय कार्यालयबीच छलफल भइरहेको छ।
नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वासको लागि प्रक्रिया अघि बढाउने क्रममा उनी १६ वर्ष अघि नेपाल आएका थिए। अहिले १ लाख १३ हजार ५०० शरणार्थी अमेरिका, बोलायत, क्यानडा, डेनमार्क, नर्वे लगायत मुलुकमा पुनर्वासमा गएका छन्। यसरी पुनर्वासमा पठाउने क्रममा नेपालको प्रशासनिक संयन्त्र र राजनीतिक नेतृत्व मिलेर फेक डकुमेन्ट बनाएर नेपालीलाई समेत पठाएको प्रकरणमा मन्त्रीहरू नै जेल परेको अवस्थामा उनको भ्रमण हुन लागेको हो। यसमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि संलग्न रहेको भन्दै जेल परेका छन्।
जलवायु र दिगो विकास
जलवायु र दिगो विकासका विषयमा पनि उनले जानकारी लिनेछन्। उनलाई सरकारले सगरमाथा आधार शिविर लगेर जलवायु परिवर्तनसँग जोडिएको नेपालको चासो र विषयलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्ने तयारी गरेको छ। यो उपयुक्त समय पनि हो।
माओवादी शान्ति प्रक्रियामा आएपछि भएको निर्वाचनमा माओवादी नै सरकारमा रहँदा सन् २००८ को अक्टोबरमा तत्कालीन महासचिव बान कि मुन नेपाल आएका थिए। त्यतिबेला पनि प्रचण्ड नै प्रधानमन्त्री थिए।
महासचिवलाई निम्ता दिएर चीन हुँदै नेपाल फर्केका प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई जानकारी गराउने क्रममा महासचिवको भ्रमणबारे पनि जानकारी गराएका हुन्। त्यसपछि उनी नेपाल आउने प्रसंग बाहिर आएको हो। यद्यपि उनी नेपाल आउनुको प्रमुख कारण पोखरा घुम्ने नै हो। माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले उनको भ्रमणबारे जानकारी दिए पनि मिति भने स्पष्ट हुन नसकेको बताए। ‘असोजको अन्तिम साता नेपाल आउने जानकारी हामीलाई प्रधानमन्त्रीले दिनुभएको छ,’ उनले भने।
राष्ट्रसंघसँग नेपाल जोडिएको पछिल्लो पटक उदाउँदो विषय भनेको जलवायु परिवर्तनको पाटो नै हो। अर्को हो विश्व शान्ति। अनि शान्तिप्रक्रिया टुंगोमा पुर्याउने र दिगो शान्तिको पहलकदमी पनि छ। सँगै राष्ट्रसंघले अघि बढाएको दिगो विकास लक्ष्य, शान्तिप्रक्रिया अनि अन्य आर्थिक-सामाजिक विकासका विषयहरू यसमा छन्। गरिबी निवारणदेखि लिएर शिक्षा, स्वास्थ्य अनि वातावरणसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू पूरा गर्ने कार्य हुन सक्छ। अनि २०३० भित्रै अल्पविकसितबाट विकासोन्मुख मुलुकमा प्रवेश गर्न लागेको नेपाल सरकारलाई अर्बौँ रुपैयाँको लगानी आवश्यक छ।
जलवायु परिवर्तनको मामिलालाई अहिले राष्ट्रसंघले निकै महत्त्व दिएको छ र हरेक वर्ष कन्फरेन्स अफ पार्टी (कोप) सम्मेलन हुने गरेको छ। यसपटक कोप सम्मेलन युनाइटेड अरब इमिरेट्समा हुँदैछ। हामी अल्पविकसित र कार्बन धेरै उत्पादन नगर्ने मुलुक हुनाले यसमा राष्ट्रसंघ मार्फत चासो दिन आवश्यक छ। एक त अल्पविकसित मुलुक हो नेपाल अनि अर्को पर्वतीय भएकाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्या र आउने चुनौतीबारे पहिले नै स्पष्ट भएर सहयोग लिन सकिन्छ।
राष्ट्रसंघको महासचिवको भ्रमणले नेपालको सन्देश विश्वभर जानेछ। नेपाल र राष्ट्रसंघ सम्बन्ध पनि राम्रो हुनेछ। नेपालले विश्व शान्तिमा सेना अटिए अनुरूपको अधिकृत तहको पदमा गरेको दाबी थप सकारात्मक हुँदै जानेछ। महासचिव नेपाल आउँदा हामीले राष्ट्रसंघबाट लिन सक्ने फाइदाहरू आफैंले तय गर्न सक्नुपर्छ। विश्वमा नै राष्ट्रसंघको साख गिर्दै गएको अवस्था छ। अनि आर्थिक मारमा पनि राष्ट्रसंघ परेको छ।
खास गरी युक्रेनमा रसियाले हमला गर्नु र राष्ट्रसंघको निर्देशन बेवास्ता गर्नु भनेको राष्ट्रसंघ आफैं पनि संकटमा परिरहेको सन्देश हो। यो समयमा राष्ट्रसंघको महासचिव एवं पोर्चुगलका पूर्व प्रधानमन्त्री नेपाल आउनु आफैंमा महत्त्व राख्छ। यो समयमा सरकारले विकास परियोजना यी छन् यसमा राष्ट्रसंघको सहयोगमा बन्न सक्छ भनेर भन्नुपर्छ। योसँगै विश्वमा एकपटक नेपाल चिनिने छ। पर्यटकीय मुलुकको पर्यटकीय सहर आउन आफूलाई रहर लागेको बताइरहेका गुटेरसले नेपाल एक पर्यटकीय र अतिथि सत्कारमा राम्रो मुलुकको रूपमा परिचय दिनेछन्।
शान्ति सेना
नेपाल विश्व शान्तिको लागि पहल गर्ने र आफ्नो घरभित्रको कलह पनि आफैँ समाधान गर्ने मुलुकको रूपमा परिचित छ। यो विषयको ‘मार्केटिङ’ नेपालले गर्न सकेको छैन। विश्वभर शान्ति सेना पठाउनेमा पनि नेपाल दोस्रोमा छ। यो हिसाबमा पनि नेपालले आफ्नो पाटोबाट कुरा राख्न सक्छ। नेपालले अझ बढी सैनिक पठाएर विश्व शान्तिमा पहलकदमी लिने र नेपालमा रेमिट्यान्स पनि भित्र्याउने गर्नुपर्छ।
नेपाली सेनाको पछिल्ला आँकडाअनुसार शान्ति सेनाका रूपमा विभिन्न देशमा आफ्ना ६ हजार २ सय ९९ सुरक्षाकर्मी खटिएका छन्। हामीभन्दा बंगलादेश करिब एक हजारले अघि छ। नेपालले करिब १० हजार सेनासम्म शान्ति सेनामा पठाउन सक्छ। नेपालले भारतलाई उछिनेको भए पनि बंगलादेशलाई उछिन्न सकेको छैन। यो विषयमा नेपालले अधिकृत स्तरको कोटाको लागि पहल गर्न सक्छ। त्यस्तै नेपालले विकास सहायता अनि दिगो विकास लक्ष्यजस्ता विषय उठाउन सक्छ।
राष्ट्रसंघको महासभामा गएको अवस्थामा नेपालका प्रधानमन्त्रीहरू जहिले पनि उच्चस्तरीय छलफलमा सहभागी हुन पाउँछन्, यही शान्ति सेना ठूलो संख्यामा पठाउने मुलुकको हैसियतमा। शान्ति सेनामा अधिक सेना पठाउने १० मुलुकको छुट्टै साइडलाइन वार्ता हुन्छ। त्यहाँ अधिक समय अमेरिकी राष्ट्रपति पनि सहभागी हुने गर्छन्। नभ्याउँदा महासचिव र राजनीतिक मामिला हेर्ने अमेरिकन हुन्छन्।
शन्ति प्रक्रियामा राष्ट्रसंघ
नेपालमा एक दशक चलेको माओवादी सशस्त्र द्वन्द्व अन्त्य भएसँगै नेपालको शान्ति प्रक्रियालाई स्थायी निचोड दिन नेपालमा राष्ट्रसंघ प्रत्यक्ष तथा परोक्ष संलग्न रह्यो। अनि त्यसका लागि नेपालमा राष्ट्रसंघीय नियोग अन्मिन नै सन् २००७ देखि २०११ सम्म रह्यो। तर पछि राजनीतिक दलले नै उत्तरी छिमेकीलाई असर गरेको भनेर चीन र भारतको सुझावमा फिर्ता पठाउने काम सरकारले गरेको प्रस्ट छ।
शान्ति प्रक्रियासँग जोडिएका सत्य निरूपण अनि बेपत्ता पारिएकाहरूको छानबिनको विषय राष्ट्रसंघमा उठिरहने विषय हुन्। त्यसमा राष्ट्रसंघको लामो चासो रहँदै आएको छ। माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार महासचिव आएको यो समयमा सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम निचोडमा पुर्याउन सके झन् सन्देश राम्रो जानेछ। यसलाई निचोडमा पुर्याउन विपक्षी दल र पीडित पक्षको सहयोग सरकारले खोजिरहेको अवस्थामा उनले यस्तो धारणा बाहिर ल्याएका हुन्।
कार्यकाल दोहोर्याउने सबै महासचिवको रोजाइमा नेपाल
नेपाल राष्ट्रसंघको सदस्य सन् १९५५ मा बनेपछि नेपाल भ्रमणमा नआएका महासचिव बुत्रोस बुत्रोस घाली मात्र हुन्। उनी एक कार्यकाल मात्र महासचिव भए। नेपालले सदस्यताका लागि आवेदन दिएको तर नपाइरहेको अवस्थामा महासचिव थिए, ट्रिग्वे ली। उनी नर्वेका नागरिक हुन। लिग अफ नेसनबाट राष्ट्रसंघ बनेपछि ली महासचिव बनेका हुन्। घाली छैटौँ महासचिव हुन। उनीहरू बाहेक अन्य सबै महासचिवले नेपालको भ्रमण गरेका छन्।
पछिल्लो पटक दुई कार्यकाल महसचिव रहेका बान कि मुन नेपाल आएका थिए, २००८। उनी लुम्बिनी पनि पुगेर विश्व शान्तिको कामना गरेका थिए। राष्ट्रसंघ स्थापनापछि ९ महासचिव बने। त्यसमा दुईले नेपाल भ्रमण गरेनन् भने अन्य पाँचले गरिसके। नवौँ महासचिव दुई कार्यकालको उत्तरार्द्धमा रहँदै गर्दा नेपाल आउन लागेका हुन्। नेपाल भ्रमण नगरेका दुई बाहेक अन्य सबैको कार्यकाल पनि दुई नै रहेको छ।
अब्बल कूटनीतिज्ञ भनेर चिनिएका महासचिव ड्याग ह्यामरशोल्डले सन् १९५९ को मार्चमा नेपाल भ्रमण गरेका थिए। उनी पछिका महासचिव ऊ थान्तले सन् १९६७ अप्रिलमा नेपाल भ्रमण गरेका थिए। त्यस्तै कुर्त वाल्डहाइमले सन् १९८१ को फेब्रुअरीमा, हाभियर पेरेज द कोयारले १९८९ मार्चमा भ्रमण गरेका थिए। २००१ को मार्चमा कोफि अन्नानले पनि नेपाल भ्रमण गरेका थिए। त्यसपछि नेपालमा महासचिव मुन २००८ मा आएका हुन्।