नेपाल-चीन वार्तामा देखिएको एउटा ‘असहज’ उपस्थिति

राजाराम बर्तौला १७ असोज २०८० ६:४९
44
SHARES
नेपाल-चीन वार्तामा देखिएको एउटा ‘असहज’ उपस्थिति

हामीले राजकीय भ्रमणमा र अन्य औपचारिक भ्रमणमा प्रयोग हुँदै आएको ‘प्रथम महिला’ भन्ने पदावलीको सम्बोधन सुन्दै आएका छौँ। यदाकदा भ्रमपूर्वक वा जिज्ञासाले मर्यादाको कुरा झिकेर विवाद निम्त्याउँदै पनि आएको देखिन्छ। यस्तो किन भइरहेछ भने आधिकारिक रूपमा ‘प्रथम महिला’ भन्ने पद वा दर्जा हुँदैन। यो त कूटनीतिक परम्परा, प्रचलन एवम् व्यवहारबाट परिष्कृत हुँदै आएकाले सामाजिक एवम् आधिकारिक मान्यता पाउन गएको हो। यस अर्थमा प्रथम महिलाको दर्जा मूलभूत रूपमा आलंकारिक हो आधिकारिक हैन।

भन्ने नै हो भने प्रथम पुरुषको अर्धांगिनीलाई प्रथम महिला भनिएको हो। प्रथम पुरुष यस अर्थमा राज्यको हेड अफ द स्टेटलाई भनिएको हो। अर्थात्, राजा वा राष्ट्रपति प्रथम पुरुष भनिने हुन्। तर व्यवहारमा प्रधानमन्त्रीकी श्रीमतीलाई पनि प्रथम महिला भन्न थालिएको छ। यस हिसाबले संघीयताको प्रान्तीय सरकारका गभर्नर र मुख्यमन्त्रीका श्रीमती पनि प्रथम महिला हुने भए।

अब अहिले आएर सरकार प्रमुखले विदेश भ्रमणमा जाँदा सरकार प्रमुख विधुर छ भने उसले आफ्नो छोरीलाई साथमा लिएर जाने प्रचलन बढ्दै गएको देखिन्छ। नेपालको सन्दर्भमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विदेश भ्रमणमा छोरीलाई साथमा लिएर जाने गर्नुभएको थियो। हाल आएर सोही प्रचलन पछ्याउँदै वर्तमान सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्नी छोरी गंगा दाहाललाई साथमा लिएर भारत, अमेरिका तथा चीनको भ्रमण गरिसक्नुभएको छ।

तर राजकीय पदमा पुरुष मात्र हुन्छ भन्ने मिथ्या मान्यता हो। माथि उल्लेख गरिएका पदमा महिला पनि निर्वाचित वा नियुक्त हुन सक्दछिन्। अनि राष्ट्रपति महिला भएको अवस्थामा उनको श्रीमान्‌लाई ‘प्रथम भद्रपुरुष’ भनेर सम्बोधन गर्ने वा नगर्ने? जब पुरुष राष्ट्रपतिकी श्रीमतीलाई प्रथम महिला भनेर सम्बोधन नगरिएपछि महिला राष्ट्रपतिको श्रीमान्‌लाई ‘प्रथम पुरुष’ भनेर सम्बोधन गर्न कुनै आपत्ति भएन। यस किसमको समस्या समाधानका लागि कूटनीतिक भाषामा ‘स्पाउज’ भन्ने शब्द प्रचलन छ। पुरुष या महिला जो पदमा भएको भए पनि निजको पति या पत्नीलाई ‘स्पाउज’ भनेर सम्बोधन गरिन्छ।

देशमा राजतन्त्र छँदा बडामहारानी भनिने हुँदा यो ‘प्रथम महिला’ भनिरहनुपर्ने अवस्था थिएन। गणतन्त्र आगमनपछि भने ‘प्रथम महिला’ भन्ने पद अलंकारको प्रचलन बढ्दै गएको छ। बेलायतमा महारानी हुँदा पनि उनका श्रीमान्‌लाई ‘प्रथम भद्रपुरुष’ भनेर सम्बोधन गरिएको सुनिएन। अतः राष्ट्रपति भएको अवस्थामा मात्र ‘प्रथम महिला’ भन्ने आलंकारिक पदको आवश्यकता परेको हो।

अन्तर्राष्ट्रिय प्रचलन नियाल्दा प्रथम महिलाले सम्पादन गर्ने काममा आधिकारिक रूपमा कतै उल्लेख छैन। न त प्रथम महिला भएको कारणले राजकीय सुविधा पाउने नै व्यवस्था छ। यो एउटा नितान्त आलंकारिक सम्बोधन भएको हुँदा राजकीय मानमर्यादाका लागि राष्ट्रपति वा प्रधानमन्त्रीले उपलब्ध गराउने स्वागत एवम् आतिथ्यमा सहयोग पुर्‍याउने हो। यसबाहेक प्रथम महिलाले सामाजिक प्रतिष्ठा वृद्धिका लागि सामाजिक संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रममा उपस्थित हुने, सहयोग जुटाउनेलगायत च्यारिटीसम्बन्धी अन्य कामहरू गर्ने हो।

यसरी हेर्दा प्रथम महिलाको कार्यक्षेत्र साँघुरो देखिए पनि कूटनीतिक मर्यादा र सन्देशमा प्रथम महिलाको रुचि, व्यक्तिगत परिचय, व्यक्तित्व, विशेषज्ञता, दक्षता, निजको विगत र वर्तमानलाई हेरेर मूल्यांकन गरिन्छ। वैदेशिक भ्रमणमा जाँदा प्रथम महिलाको व्यस्तताका लागि प्रतिनिधिमण्डलको आधिकारिक कार्यक्रम भन्दा भिन्न छुट्टै कार्यक्रम तयार गरिन्छ।

छुट्टै कार्यक्रम बनाउँदा प्रथम महिलाको रुचि र व्यक्तित्व हेरेर बनाइन्छ। कूटनीतिक व्यवहारमा यस्ता कार्यक्रमको आफ्नो छुट्टै विशेषता हुने गर्दछ। क्रियाशील र सिर्जनात्मक प्रथम महिलाले रचनात्मक कामद्वारा परम्परागत औपचारिकताभन्दा भिन्न तरिकाले दुई मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाउन उल्लेखनीय भूमिका खेल्न सक्दछिन्।

प्रथम महिलाले परम्परागत चलनचल्तीमा चल्दै आएको र निर्वाह गरिँदै आएको भूमिकामा यस्तै गर्नुपर्दछ भनेर आचारसंहिता नभएको हुँदा आआफ्नो क्षमता, रुचि र इच्छाअनुसार केही न केही नयाँ काम देखाउन प्रयत्न गर्नु राम्रै मानिन्छ। तर त्यस्तो काम सिर्जनशील र पदीय मर्यादाभित्रको हुनु आवश्यक छ।

प्रथम महिलाका रूपमा केही चर्चित नाम छन् जसले शासकीय प्रबन्धमा हस्तक्षेप नगरीकन पनि रचनात्मक कामसहित राष्ट्रिय सरोकारका विषयमा उचित सल्लाह र सुझाव दिएर आफ्नो विशिष्टीकृत पहिचान राख्न सफल भएका छन्। नामै लिनपर्दा अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टकी पत्नी एलिनोर रुजबेल्ट, बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टन र बाराक ओबामाकी पत्नी मिसेल ओबामाको नाम लिने गरिन्छ। कतिपय अवस्थामा अधिक सक्रियता देखाउन चाहने प्रथम महिलालाई आमनागरिकले नरुचाएको पाइएको छ।

भारतमा अहिलेसम्म दुईजना महिला राष्ट्रपति भएका छन्– श्रीमती प्रतिभा पटेल र वर्तमान राष्ट्रपति द्रौपदी मुर्मु। यी दुवैजनाका प्रथम पुरुष शासकीय परिदृश्यमा सक्रिय भएर राष्ट्रपतिको काममा सरसहयोग गरेको सुनिएको छैन।

नेपालमा अहिलेसम्म तीनजना राष्ट्रपति भए र त्यसमध्ये महिला राष्ट्रपति विद्या भण्डारी हुनुभयो। पहिलो राष्ट्रपति रामवरण यादवले आफ्नो छोरीलाई साथमा लिएर हिँडेको भए तापनि खासै प्रथम महिलाको भूमिकामा राखेको देखिँदैन। विद्यादेवी भण्डारीबाट पनि छोरीलाई प्राथमिकता दिएर लिएर हिँडेको देखिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गरेको चीन भ्रमणका क्रममा दुईपक्षीय वार्तामा छोरीलाई आफ्नो दायाँतर्फ राखेको दृश्य प्रसारण भएको हेरेर केही कूटनीतिक तथा राजनीतिक विश्लेषकले असहज मानिरहेका छन्। यस्तो हुनु स्वाभाविक पनि हो। किनभने यस किसिमको व्यवहार भारत भ्रमणको अवसरमा भएको थियो र नागरिकको प्रतिक्रिया हुँदाहुँदै फेरि दोहरिएको थियो।

प्रथम महिलाका रूपमा सहभागी भएर औपचारिक भ्रमणमा गएकी महिलाले औपचारिक प्रतिनिधिमण्डलको सदस्यको हैसियत बनाएर दुईपक्षीय वार्तामा बस्दा असहज अवस्थाको सिर्जना भएको हो। प्रथम महिलाको भूमिका के हुने के नहुने भनेर स्पष्ट व्यवस्था नभएको अवस्थामा स्वविवेकको प्रयोग औचित्यपूर्ण रहन्छ। स्वविवेक प्रयोग गर्दा पनि अन्तर्राष्ट्रिय प्रचलन, मान्यता र व्यवहारलाई आत्मसात् गरेर विवेकपूर्ण निर्णय लिइनु युक्तिसंगत हुन्छ।

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक आचरणको प्रयोग गर्दा परम्परा, प्रचलन र व्यवहार एउटा बलियो आधार हो। यिनै आधारलाई मान्ने हो भने दुईपक्षीय वार्ताका लागि निर्माण गरिएको औपचारिक प्रतिनिधिमण्डलको सदस्य भएको अवस्थामा वार्तामा सहभागी हुन कुनै आपत्ति भएन। तर नेतृत्वको विकास गर्ने निहुँमा प्रशिक्षण गर्ने उद्देश्यले यस्तो औपचारिक राजकीय महत्त्वपूर्ण बैठकमा उपस्थिति सहज मानिँदैन। औपचारिक रूपमा प्रधानमन्त्रीले छोरीलाई आफ्नो सहायकका रूपमा नियुक्त गरेको हुँदा मर्यादाक्रमको पनि समस्या आएको देखिन्छ।

अतः प्रथम महिला वा प्रथम भद्रपुरुष जो भए पनि शासकीय परिबन्धमा सिर्जनात्मक रायसुझाव र रचनात्मक क्रियाकलाप प्रशंसित भए पनि शीर्ष तहमा हुने एक्लाएक्लै भेट्ने ‘वान अन वान’ भेटवार्ता तथा प्रतिनिधिमण्डलले गर्ने वार्ताको औपचारिक बैठकहरूमा सहभागिता जनाउन प्रयास नगर्दा नै राम्रो देखिन्छ। निर्वाचित नभएको वा औपचारिक रूपमा नियुक्त भई राज्यको गोपनीयताको शपथ नलिएको व्यक्तिलाई राज्यको उच्चतहको औपचारिक भेटघाट र बैठकहरूमा संलग्न गराउने कार्यलाई प्रश्रय नदिँदा नै गोपनीयता तथा कूटनीतिक मर्यादा कायम रहन्छ र समकक्षीबाट पनि उचित मर्यादासमेत पाइन्छ।

प्रकाशित: १७ असोज २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =