पूर्वराष्ट्रपति यादव भन्छन् : संविधानले सबै वर्ग र समुदायलाई समेटेको छ

हिमाल प्रेस १५ असोज २०८० २०:३१
4
SHARES
पूर्वराष्ट्रपति यादव भन्छन् : संविधानले सबै वर्ग र समुदायलाई समेटेको छ

नवलपरासी-  पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताएका छन्। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा बीपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज (सोमबार) पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरेका हुन्।

११०औँ बीपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि यहाँ आइपुगेका उनले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए। उनले बीपीको राष्ट्रवादलाई सबैले अंगाल्नुपर्नेमा जोड दिए।

नेपालका प्रथम राष्ट्रपति डा. यादवले अहिले नेपालीहरू परजीवी बन्दै गएको बताए। ‘हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गथ्यौँ, तर त्यही तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ। यो दुःखद् अवस्था हो,’ उनले भने।

अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा. यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गरे। प्राकृतिक स्रोतहरूको चरम दोहनले भोलिका दिनमा मानव संकट पर्ने बताउँदै उनले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिए।

प्रकाशित: १५ असोज २०८० २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =