एमाले गण्डकीको अधिवेशन सुरु

हिमाल प्रेस १५ असोज २०८० १७:३४
12
SHARES
एमाले गण्डकीको अधिवेशन सुरु

पोखरा- नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबार पोखरामा सुरु भएको छ। दुई दिनसम्म चल्ने अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ९ सय ८ जना प्रतिनिधिले भाग लिएका छन्।

पोखराको अमरसिंहचौरमा सुरु अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिए पनि मौसम खराबीका कारण आउन नसक्दा पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गरे। उनले एमालेलाई सरकारबाट हटाएर गठबन्धन सरकारले संगठनात्मक अराजकता निम्त्याएको आरोप लगाए

उनले समृद्ध नेपाल, सुखी नेपालीका लागि एमाले नेतृत्वको सरकारको विकल्प नभएको दाबी गरे। ‘राजनीतिक दलहरू कहिले पनि पुराना हुँदैनन्। नीति र नेतृत्वमा समयक्रमसँगै अद्यावधिक हुँदै जान्छन्। यसको विकल्प रोज्नुभयो भने अराजकता निम्त्याउनु हो,’ उनले भने।

अहिलेको सरकार कालोबजारी प्रवर्द्धन गर्ने, मूल्यवृद्धि गर्ने तथा दसैंतिहारको मुखमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्न उद्दत रहेको महासचिव पोखरेलको आरोप थियो।

देशैभर एमालेको समानुपातिकमा पहिलो दल तथा प्रदेशका ६ वटा प्रदेशमा पहिले दल रहेको स्मरण गराउँदै उनले जनताले पार्टी एमाले रहेको दाबी गरे। विगतमा ओली नेतृत्वको सरकारको पालामा विकास र समृद्धिका लहर सुरु भएको दाबी गर्दै अहिलेको सरकारले भने चरम आर्थिक मन्दीमा देशलाई फसाएको बताए।

 

बाढी नियन्त्रण र सीमा सुरक्षामा प्रचण्ड छिमेकी मुलुकसँग झुकेको टिप्पणी समेत उनले गरे। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भिजन, नीति र योजनाबिनाको पार्टीले मुलुक हाँक्न नसक्ने टिप्पणी गरे।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले लोकप्रियतामा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप पनि लगाए। उद्घाटन समारोहमा पार्टी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, अर्का सचिव पद्‍मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं पोलिटब्युरो सदस्य खगराज अधिकारीलगायतले पनि देशको विकास र समृद्धिको लागि एमाले एकमात्र विकल्पको पार्टी भएको बताए।

एमाले गण्डकी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र सञ्चालन सचिव धनञ्जय दवाडीले गरेका थिए। कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू कोडा, नौमती, झोरा, लाखे नेत्य प्रस्तुत गरिएको थियो।

सो अवसरमा एमाले नेता तथा जिल्ला विकास समितिका पूर्वसभापति पुण्यप्रसाद पौडेलद्वारा लिखित ‘समाज समीक्षा’ नामक पुस्तक विमोचन गरिएको थियो। अधिवेशन सुरु हुनुअघि पोखराका विभिन्न भागबाट र्‍याली निस्केको थियो।

उद्घाटन अमरसिंह चौरमा भए पनि पोखरा सभागृह हलमा बन्दसत्र हुनेछ। अधिवेशनमा सबैभन्दा धेरै १ सय ४६ जना प्रतिनिधि कास्कीबाट छानिएका छन्। अधिवेशनले १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्दै समापन हुने अधिवेशन प्रचार कमिटी संयोजक रश्मी आचार्यले बताए।

एमाले गण्डकी अधिवेशन आज : खगराज र पृथ्वीसुब्बाबीच गुटगत टक्करको सम्भावना

प्रकाशित: १५ असोज २०८० १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =