डोका बेचेरै ३५ हजार आम्दानी

हिमाल प्रेस १५ असोज २०८० ९:५७
6
SHARES
डोका बेचेरै ३५ हजार आम्दानी

भोजपुर- भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्। पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए। एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उनको भनाइ छ। डोका बिक्रीबाट मासिक ३० रुपैयाँ देखि ३५ हजारसम्म आम्दानी हुने उनले जानकारी दिए।

‘चालीस वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु’, उनले भने, ‘एक दिनमा आठदेखि दश वटासम्म डोका बुन्छु। डोका बिक्रीबाट मासिक ३० रुपैयाँ देखि ३५ हजारसम्म आम्दानी हुन्छ। डोकाबाट नै मेरो चिनारी बनेको छ।’

डोका स्थानीय बजारमा प्रतिगोटा तीन सय ५० रुपैयाँदेखि चार सयसम्ममा बिक्री हुने तामाङले बताए। घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक सात÷आठ लाख रुपैयाँसम्म आम्दानी लिन सकिने उनको भनाइ छ।

‘डोका बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ’, उनले भने, ‘यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक सात÷आठ लाख रुपैयाँ आम्दानी गर्न कठिन हुन्न। अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुन्छ।’

आफूले बुनेको मालिंगो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति)का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ। मालिंगोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उनको भनाइ छ। डोकाको लागि विभिन्न ठाउँबाट माग हुने उनले बताए।

‘मैले बुनेको डोकाको लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ’, उनले भने, ‘गाईबस्तुपालनसँगै खेतीपाती पनि गर्छु। कहिलेकहीँ त मागअनुसारको डोका पुर्‍याउन समस्या हुन्छ।’

आफूले बुनेको डोकालाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उनको भनाइ छ। बजारसम्म पुग्नको लागि घरबाट पाँचदेिख छ घण्टासम्म लाग्ने उनले बताए।

‘डोकाको माग धेरै ठाउँबाट आउँछ’, उनले भने, ‘यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो। बजारमा लगेर बिक्री गर्छु। मैले बुनेको डोका किन्न गाउँ÷गाउँबाट मानिस आउँछन्।’

सामुदायिक वनले कडीकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताए। मालिंगो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उनको भनाइ छ। आफ्नै निजी बारीमा उत्पादन हुने मालिंगो, सिँगानेलगायतबाट डोका बुन्दै आएको तामाङको भनाइ छ।

‘नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्’, उनले भने, ‘डोका बुन्नको लागि पनि धेरै दुःख हुन्छ। हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ। सहजरूपमा पाउने अवस्था छैन।’

प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताए। यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको उनले बताए।
‘पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था छ’, उनले भने, ‘मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन्। यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक छ । यसमा सरकारले पहल गर्नुपर्छ।’

आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङले बताए। यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने उनको भनाइ छ।

प्रकाशित: १५ असोज २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =