विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

हिमाल प्रेस १ कार्तिक २०८० १२:५४ | Wednesday, October 18, 2023
विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की मुख्यमन्त्री केदार कार्की।

इटहरी– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन लागेको हुन्।

कार्कीलाई एमालेका ३९ सांसद र कांग्रेसका डा. शेखर कोइराला समूहका ८ सांसदले समर्थन गरेका थिए।

उनलाई सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएका छन्। यस्तै नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ। राप्रपाले भने विश्वासको मत नदिने जनाएको छ। एकसिटे जसपा कुनै निर्णय गर्न सकेको छैन।

‘हामीले कुनै निर्णय गरेका छैनौं,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘अहिलेसम्म विपक्षमा मतदान गर्नुपर्छ भनेर छलफल भइरहेको छ।’

९ मन्त्रालय रहेको कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री कार्कीबाहेक कांग्रेसका शमशेर राई र एमालेका राम राना मन्त्री छन्।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा एमालेले पाँचवटा मन्त्रालयमा दाबी गरेको जानकारी दिए।
कोशी प्रदेशसभा ९३ सदस्यीय छ। सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। कोशीमा एमालेका ४० (उपसभामुखसहित) कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक सांसद छन्।
एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएपछि कार्की सरकारले निरन्तरता पाउने अपेक्षा गरिएको छ।

शेखर समूहको आड र एमालेको साथमा मुख्यमन्त्री बने कांग्रेसका केदार कार्की

प्रकाशित: १ कार्तिक २०८० १२:५४ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast