उपभोक्ताको आकर्षण नभएपछि घट्यो खसी-बोकाको मूल्य

हिमाल प्रेस ३ कार्तिक २०८० १४:१३ | Friday, October 20, 2023
उपभोक्ताको आकर्षण नभएपछि घट्यो खसी-बोकाको मूल्य

काठमाडौँ- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्यांग्राको मूल्य घटाएको छ। कम्पनीले जिउँदो खसीबोका तथा च्यांग्राको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको हो। कम्पनीले शुक्रबारदेखि जिउँदो खसीबोका प्रतिकिलो ६ सय ५० रुपैयाँ तथा च्यांग्रा प्रतिकिलो एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ।

खाद्यले यसअघि १० रुपैयाँ छुट दिएर खसीबोका प्रतिकिलो ६ सय ७० तथा च्यांग्रा एक हजार दुई सय ५० मा बिक्री गर्दै आएको थियो। पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्यांग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।

उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जिउँदो खसीबोका तथा च्यांग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन्। खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ।

खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्यांग्रा खरिद गरेर ल्याएको थियो। हालसम्म छ सय ३० वटा मात्रै खसीबोका तथा च्यांग्रा बिक्री भएको कम्पनीले जनाएको छ।

अझै एक हजार पाँच सय ८२ खसीबोका बिक्री हुन बाँकी छ। फूलपाती र अष्टमीमा खसीबोका तथा च्यांग्राको बिक्री हुने गर्छ। ‘आज, फूलपाती र अष्टमीमा खसी बोकाको बिक्री हुने हो। लामो समयम्म राख्दा दानापानी तथा स्याहारसुसारमा खर्च गर्नुपर्ने अवस्था आउने भएकाले उपभोक्ता मूल्यमा थप छुट दिइएको हो’, न्यौपानेले भनिन्। रासस

प्रकाशित: ३ कार्तिक २०८० १४:१३ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast