जाबी अलोन्सो : किन परे ठूला क्लबको नजरमा?

हिमाल प्रेस १३ असोज २०८० १५:५५
64
SHARES
जाबी अलोन्सो : किन परे ठूला क्लबको नजरमा?

गत वर्ष यतिबेला बायर्न लेभरकुजन बुन्डेसलिगामा १७ औँ स्थानमा थियो। अहिले यो क्लब उपाधि दौडमा छ। १२ महिनामा यस्तो छलाङ, कसरी? जवाफ हो, प्रशिक्षक जाबी अलोन्सो।

हो, लेभरकुजन त्यति खराब टिम थिएन। टिममा प्रतिभाशाली खेलाडी थिए। यसकारण कसैले भन्न सक्छन्, पुनरागमन अचम्मलाग्दो होइन। तर यो पुनरागमनमा अलोन्सोको भूमिका सर्वाधिक महत्त्वपूर्ण छ।

लेभरकुजन कहिल्यै लिग च्याम्पियन बनेको छैन। पाँचपटक उपविजेता भने भएको छ। सन् २००२ मा त च्याम्पियन बोरुसिया डर्टमन्डभन्दा एक अंकले पछि परेको थियो। त्यही वर्षबाट लेभरकुजनलाई ‘नेभरकुजन’ को उपमा भिडाइयो। अहिले पनि विपक्षी क्लबका समर्थकले लेभरकुजनलाई खिल्ली उडाएर भन्ने शब्द त्यही ‘नेभरकुजन’ हो।

यसपल्टको लेभरकुजन भने फरक देखिएको छ। खेलाडी आत्मविश्वासी छन्। यसको उदाहरण हो, बायर्न म्युनिखविरुद्धको बराबरी गोल। सेप्टेम्बर १६ को लिग खेलमा लेभरकुजनले बायर्नसँगको खेलमा अन्तिम मिनेटमा गोल फर्काएको थियो।

लेभरकुजनको ताजा स्थितिका लागि प्राविधिक निर्देशक सिमोन रोल्फ्स प्रशिक्षक अलोन्सोलाई जस दिन्छन्। ‘हाम्रो खेलमा गम्भीरता र परिपक्वता छ। खेलशैली र प्रशिक्षकको व्यक्तित्व ठ्याक्कै उस्तै छन्। जाबी प्रतिस्पर्धात्मक प्रशिक्षक हुन्। उनी जितमा विश्वास राख्छन्। अन्तिम समयसम्म पनि हार मान्दैनन्,’ आफ्ना प्रशिक्षकबारे रोल्फ्सले भनेका छन्।

गत सिजन बुन्डेसलिगामा लेभरकुजन छैटौँ बन्यो। युरोपा लिगको सेमिफाइनलसम्म पुग्यो। रोल्फ्सको विचारमा युरोपा नकआउट प्लेअफको खेलबाट हो, अलोन्सोको वास्तविक जादु सुरु भएको।

अन्तिम १६ मा पुग्न लेभरकुजनले त्यस खेलमा मोनाकोलाई हराएको थियो। जबकि पहिलो लेगमा लेभरकुजन ३-२ ले पराजित भएको थियो। दोस्रो लेगमा भने लेभरकुजन ३-२ ले विजयी बन्यो। समग्रमा खेल ५-५ को बराबरीमा पुगेपछि नतिजाका लागि पेनाल्टी निर्णायक बनेको थियो। जहाँ लेभरकुजन भाग्यमानी साबित भयो।

‘त्यस खेलअघि हामी लगातार सात पेनाल्टीमा असफल भइसकेका थियौँ। यसकारण हामीलाई लागेको थियो, फेरि एकपल्ट हामी असफल हुँदैछौँ। तर मोनाकोविरुद्ध भाग्यबस पाँचै पेनाल्टी गोलमा परिणत भए। त्यो क्षण हाम्रा लागि महत्त्वपूर्ण थियो,’ रोल्फ्स सम्झिन्छन्।

लेभरकुजनमा अलोन्सोले जे गरेका छन्, त्यसले उनलाई उम्दा युवा प्रशिक्षकको सूचीमा सूचीकृत गरेको छ। यसबीचमा उनको तारिफ नगर्ने सायदै फुटबल समर्थक होलान्। के पनि भनिँदैछ भने अलोन्सो यति चाँडो परिपक्व हुनुमा उनको खेल करियरको हात छ।

किनभने खेलाडी हुँदा उनले क्लब फुटबलमा प्रमाणित प्रशिक्षकहरूको प्रशिक्षणमा खेल्न पाए। जस्तै, पेप ग्वार्डिओला, जोसे मौउरिन्हो, कार्लो एन्सिलोट्टी र राफाएल बेनिटेज। यी एकसेएक प्रशिक्षकका चेला भएकैले अलोन्सो आज रणनीतिक बन्न सकेका हुन्।

लेभरकुजनको प्रशिक्षक बन्नासाथ अलोन्सोले रक्षापंक्ति सुधारमा ध्यान दिएका थिए। रक्षापंक्ति बलियो भएपछि लेभरकुजनलाई काउन्टर अट्याक खेल्न सजिलो भयो। यो सिजन लेभरकुजन पुरानो रणनीतिबाट अघि बढेको छ।

अब लेभरकुजन पोसेसन फुटबल खेल्छ। मतलब बढीभन्दा बढी समय बल नियन्त्रणमा राखेर। स्वाभाविक हो, यो रणनीतिमा लेभरकुजन लोभलाग्दो खेल्ने टिम बनेको छ। धेरैले भन्छन्, बुन्डेसलिगामा लेभरकुजन जत्तिको सुन्दर फुटबल अरूले खेल्दैनन्।

‘आक्रामक फुटबल खेल्नेबित्तिकै रक्षापंक्ति छायामा पर्छ भन्ने छैन। लेभरकुजन सन्तुलित टिम हो। फेरि लेभरकुजनले हरेक खेल सुन्दर शैलीमा खेल्न सक्दैन। अलोन्सो एउटा शैलीमा अडिग रहनुपर्छ भन्ने ठान्दैनन्, उनका लागि जितको बाटो पहिल्याउनु सबैभन्दा महत्त्वपूर्ण हो,’ राल्फ्स भन्छन्।

अलोन्सोलाई नजिकबाट नियाल्नेहरू भन्छन्, उनको ‘फुटबल दर्शन’ रियल सोसिडाडसँग मिल्दोजुल्दो छ। यो त्यही क्लब हो, जसले फुच्चे अलोन्सोलाई फुटबल खेल्न सिकाएको थियो। जहाँ ‘पोसेसन फुटबल’ लाई महत्त्व दिइन्छ। प्रशिक्षण करियरको सुरुवाती दिनमा आफ्नो पुरानो क्लबमा रहेकाले अलोन्सोको फुटबल दर्शनमा सोसिडाड झल्किन्छ।

प्रशिक्षण कोर्स सकेपछि अलोन्सो रियल म्याड्रिड फर्किएका थिए। त्यहाँ उनी १४ वर्षमुनिको टिमको प्रशिक्षक बने। लगभग एक वर्ष रियलमा बिताएपछि अलोन्सो घर पुगे। घर मतलब, बास्क क्षेत्र। जहाँ सोसिडाड छ।

सोसिडाडको रिजर्भ टिम सोसिडाड ‘बी’ बाटै हो अलोन्सो सबैको नजरमा परेको। किनभने सोसिडाड बी लाई उनले स्पेनी फुटबलको दोस्रो श्रेणीको लिगसम्म पुर्‍याए। भलै बढुवा भएकै सिजन सोसिडाड ‘बी’ तेस्रो श्रेणीमा झर्यो। यद्यपि ६० वर्षमा पहिलोपटक दोस्रो श्रेणीमा पुग्नु सोसिडाड बीका लागि चानचुने उपलब्धि थिएन।

सोसिडाड ‘बी’मा अलोन्सोले बढीभन्दा बढी युवा खेलाडीलाई मौका दिए। यो टिममा खेलाडीको औसत उमेर बस् २१.४ वर्ष थियो। खेलाडी कम अनुभवी भए पनि सोसिडाड ‘बी’ले आफ्नो शैली छाडेन, सुन्दर फुटबल खेल्ने प्रयास गरिरह्यो। कम्तीमा सात खेलमा सोसिडाड ‘बी’ले ७० प्रतिशत वा बढी बल पोसेसन राखेको थियो।

लेभरकुजनमा पनि अलोन्सोको प्रयास यही हो, आक्रामक फुटबल। आक्रमण बुन्दा लेभरकुजनका खेलाडी ‘डाइरेक्ट पास’ खेल्छन्, विपक्षीको गल्ती पर्खिएर बस्दैनन्। बुन्डेसलिगाका सुरुवाती पाँच चरणका खेलका तथ्यांक केलाउने हो भने थाहा भइहाल्छ लेभरकुजनले कुन स्तरमा खेलिरहेको छ भनेर। यो लिगका १८ टिममध्ये लेभरकुजन यस्तो टिम हो जसले विपक्षीको पोस्टमा प्रहार गर्नुअघि सर्वाधिक पास खेल्छ।

लेभरकुजनले लोभलाग्दो खेल देखाइरहनुको एउटा कारण टिममा भित्रिएका नयाँ खेलाडी पनि हुन्। जो रणनीतिक रूपमा टाठा छन्। उदाहरण, यही सिजन जर्मनी पुगेका लेफ्ट विंगब्याक अलेहान्द्रो ग्रिमाल्डो। उनको कारण लेभरकुजन रक्षापंक्तिमा सन्तुलित बनेको छ। गत सिजन बेनफिकामा सर्वाधिक ‘सम्भावित असिस्ट’ सिर्जना गरेको ग्रिमाल्डो यसपालि पनि उही लयमा छन्।

एडमन्ड टाप्सोबा, जोनाथन टा र ओडिलोन कोसोनौउ लेभरकुजनका सेन्टरब्याक हुन्। यी खेलाडीका कारण राइटविंगब्याक जेरेमी फ्रिम्पोङ नडराई आक्रमणका लागि अघि बढ्न सक्छन्। जब दुई विंगब्याक आक्रमणमा हुन्छन् तब रक्षापंक्तिलाई सघाउन अनुभवी मिडफिल्डर जोनास होफमान चनाखो हुन्छन्। अर्का मिडफिल्डर ग्रानिट जाकाले ‘नम्बर १०’ र फरवार्डको भूमिकामा देखिने फ्लोरियन रिजसँग गजबको साझेदारी स्थापित गरेका छन्।

लेभरकुजनको अग्रपंक्तिको जिम्मा भिक्टर बोनिफेसलाई दिएको छ। बोनिफेस यस्ता खेलाडी हुन्, जो एक खेलमा विपक्षीको पोस्टमा औसतमा आठ पटकसम्म प्रहार गर्छन्। विपक्षीबाट बल खोस्ने प्रयास निरन्तर गरिरहन्छन्। उनकै कारण लेभरकुजन आक्रामक टिम बनेको हो।

००००

युरोपेली क्लब फुटबलमा सर्वाधिक सफल खेलाडीको सूची बनाउने हो भने त्यहाँ जाबी अलोन्सो पर्छन् नै। युरोपका ठूला क्लबमा स्थापित प्रशिक्षकहरूको प्रशिक्षणमा खेलेका उनले जित्न बाँकी मुख्य उपाधि छैन। स्पेनी राष्ट्रिय टिमबाट उनले विश्वकप र युरो जितेका छन्। तमाम सफलताका कारण अलोन्सोको व्यक्तित्व लोभलाग्दो बनेको छ।

जब सफल खेलाडी प्रशिक्षणमा हामफाल्छ तब उसको विगतले ठूलो भूमिका निर्वाह गर्ने बताउँछन् लेभरकुजनका एक अधिकारी। ‘अलोन्सो फुटबलका सुपरस्टार हुन्। त्यसमाथि उनीसँग गहिरो सैद्धान्तिक ज्ञान पनि छ। यी दुई चिजको मिश्रणले उनलाई खतरनाक बनाएको छ,’ लेभरकुजनका ती अधिकारी भन्छन्, ‘फेरि अलोन्सो असाध्यै मेहनती पनि छन्। नम्र छन्।’ के भनिन्छ भने, लेभरकुजनको अभ्यास केन्द्रमा सबैभन्दा पहिले छिर्ने अलोन्सो हुन्छन्। अनि सबैभन्दा पछि निस्किने पनि उनै।

क्लबका स्टाफहरूसँग अलोन्सोले गरेको छलफल नियालेका एक अधिकारीका अनुसार स्पेनी प्रशिक्षक चर्को वक्ता होइनन्। उनी शान्त स्वभावका छन्। समूहको केन्द्र बन्दैनन्। जसरी जर्मन प्रशिक्षक योगर्न क्लप आकर्षणको बिन्दु बन्छन्। अलोन्सोलाई प्रशिक्षकबाहेकको भूमिकामा पनि रुचि छैन। जबकि बायर्नका उनका धेरै साथी त्यस्ता भूमिकामा सक्रिय छन्।

अलोन्सोले सक्रिय खेलजीवनबाट संन्यास लिएको ६ वर्ष भयो। अझै पनि उनी दिनहुँ अभ्यास गर्छन्। अभ्यासमा उनी आफ्ना टिमका खेलाडीभन्दा उम्दा देखिन्छन्। लोभलाग्दो पास खेल्छन्। अभ्यास गरेको देख्दा लाग्छ, उनी अझ पनि खेल्न तयार छन्।

प्राविधिक रूपमा कुशल पूर्वखेलाडीलाई प्रशिक्षकमा नियुक्त गर्दा एउटा खतरा उत्पन्न हुन्छ, कतै खेलाडीलाई हीनताबोध त हुने होइन? लेभरकुजन यस्तो स्थिति दोहोरिएला कि भन्ने डरमा थियो।

सन् २००१ मा पियर लिट्बास्र्की लेभरकुजनमा सहायक प्रशिक्षक बनेका थिए। अभ्यासमा फ्रिकिक कौशल देखाउँथे। गतिलो फ्रिकिक प्रहार गर्न नसकेको भन्दै आफ्ना खेलाडीको खिल्ली उडाउँथे। उनीदेखि दिक्क मानेका खेलाडीहरूले बदला लिने मनसाय बनाए। अभ्यासकै बेला एक खेलाडीले ट्याकल हानेर उनलाई लडाइदिए।

तर अलोन्सो लिट्बास्र्की होइनन्। उनलाई ट्याकल गर्न सजिलो छैन। खेलाडी हुँदा पनि उनी विपक्षीको ट्याकल सजिलै पन्छाउँथे। फेरि पूरै टिमले अलोन्सोलाई सम्मान गर्छ। खासमा सबै खेलाडी उनको समर्थक हुन्।

‘कतिपय पूर्वखेलाडी प्रशिक्षक भएपछि आफ्ना खेलाडीलाई कौशल देखाउन खोज्छन्। किनभने उनीहरूसँग देखाउन प्रशिक्षकीय क्षमता हुँदैन। अलोन्सो त्यसो गर्दैनन्। उनी कोही खेलाडीले लामो पास खेलुन् भन्ने चाहन्छन् भने अभ्यासमा ठ्याक्कै त्यस्तै पास खेलेर देखाइदिन्छन्। अरु प्रशिक्षकले यस्तो पासको उदाहरण ह्वाइट बोर्डमा रेखा कोरेर देखाउँछन्,’ लेभरकुजनका एक अधिकारी भन्छन्।

प्रशिक्षकका रूपमा अलोन्सोो कति प्रतिबद्ध छन्, अभ्यासमा सधैँ नदेखिन सक्छ। तर लेभरकुजनको रंगशाला बे ऐरिना पुग्ने जोसुकैले पनि देख्न सक्छन्, अलोन्सोको प्रतिबद्धता देख्छन्। उनी खेलमा डुबिरहेका हुन्छन्। टेक्निकल क्षेत्रमा यताउति गरिरहेका हुन्छन्। खेलाडीलाई निरन्तर निर्देशन दिइरहेका हुन्छन्। खेलाडीले निर्देशन नबुझे जस्तो लागे, कस्सेर चिच्याउँछन्।

केही समयअघिको कुरा हो, अलोन्सोलाई लाग्यो आफूले भनेअनुसार खेलाडीले सेट पिस डिफेन्ड गरिरहेका छैनन्। त्यसकारण उनले प्रस्ताव राखे, खेलमा आफूले भनेअनुसारले डिफेन्ड गरे पुरस्कार दिने। जब खेलाडीले उनले भनेअनुसारले फ्रिकिक र कर्नर डिफेन्ड गरे, अलोन्सो खुसी भएर उनीहरूलाई दुई दिन बिदा दिए।

लेभरकुजन बलियो बन्नुको कारण अलोन्सो मात्र होइनन्, क्लब सञ्चालन गर्ने पद्धति पनि महत्त्वपूर्ण कारण हो। अलोन्सो, कार्यकारी अधिकृत फर्नान्डो कारो र प्राविधिक निर्देशक रोल्फ्स मिलेर काम गर्छन्। अलोन्सोको फुटबल दर्शनसँग मिल्दाजुल्दा खेलाडी लेभकरमुजनले खरिद गरिरहेको छ।

प्रतिभा पहिचानमा लेभरकुजन अब्बल मानिन्छ। पछिल्लो समय लेभरकुजनले केही पाका खेलाडी खरिद गरेको छ। जस्तै जाका र होफमन। यी दुवै ३१-३१ वर्षका हुन्। तर दुवै खेलाडी भनेजस्तो खेलिरहेका छन्। त्यसैगरी ग्रिमाल्डो २८ वर्षका छन् भने बोनिफेसचाहिँ २२ वर्षका भए। लेभरकुजनले यी खेलाडी मौसा डियाबीको बिक्रीबाट आएको पैसाले अनुबन्ध गरेको हो। डियाबीलाई यही सिजन एस्टन भिल्लाले पाँच करोड २० लाख पाउन्डमा बिक्री गरेको हो।

भर्खरै प्रशिक्षण करियरमा हामफालेका युवा प्रशिक्षकका लागि सही क्लब छनोट गर्न सजिलो छैन। यो मामलामा अलोन्सोो चलाख देखिएका छन्। सोसिडाड बी मा छँदा नै उनले बोरुसिया मन्चुनग्लाडबागको प्रशिक्षक बन्ने अवसर पाएका थिए। तर उनले यो मौका छोपिहालेनन्। केही समय पर्खिए सोसिडाडमै रहन चाहेका उनले अन्ततः लेभरकुजनको प्रस्ताव स्वीकार गरे। बायर्नमा तीन वर्ष रहेका उनलाई थाहा थियो, लेभरकुजन उनका लागि सही क्लब हुनेछ भनेर।

लेभरकुजन बुन्डेसलिगामा धनी क्लबमध्येको एक मानिन्छ। तर लेभरकुजन खेलाडी बजारमा धाक लगाउँदैन। फेरि लेभरकुजन आफैँमा सानो सहर हो। यसकारण हुनसक्छ लेभरकुजन क्लब पनि धेरै प्रचारमा विश्वास गर्दैन।

यस्तोमा अलोन्सो जस्ता भर्खरका प्रशिक्षकका लागि लेभरकुजन सही क्लब हो, जहाँ वृत्ति विकासका लागि पर्याप्त समय पाइन्छ। तर अलोन्सोको हकमा लेभरकुजनलाई डर छ, कतै ठूला क्लब उनका लागि तँछाडमछाड गर्दै बे ऐरिना त आइपुग्दैनन्?

पछिल्ला केही सातायता रियलले अलोन्सोलाई प्रशिक्षक बनाउने हल्ला चलिरहेको छ। यो हल्लाले रोल्फ्स चिन्तित छैनन्। ‘खेलाडी वा प्रशिक्षक स्तरीय भए यस्ता हल्ला चल्छन्। गत अप्रिलमा पनि अलोन्सोले लेभरकुजन छाड्ने हल्ला चलेकै हो। तर त्यसो भएन,’ रोल्फ्स भन्छन्। उनले भनेझैँ अलोन्सोले लेभरकुजन छाड्ने हल्ला त्यसबेला पनि चलेको थियो। तर उनले उल्टै सन् २०२६ सम्मका लागि नयाँ सम्झौता गरे।

यो सिजन सकिनसाथ हल्ला फर्किएर आउनेछ। लेभरकुजनलाई पनि थाहा छ, अलोन्सो लामो समय त्यहाँ बस्नेवाला छैनन्। उसो त उनले स्थानान्तरण चाहेमा लेभरकुजन तगारो बन्नेछैन। फेरि अलोन्सो आफैँले पनि लेभरकुजन छाड्न चाहेको संकेत गरेका छैनन्। हालसम्म अलोन्सोोले देखाएको क्रियाकलाप देख्दा लाग्छ उनी हतारमा छैनन्।

द एथ्लेटिकबाट

प्रकाशित: १३ असोज २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast