यस्तो थियो पहिलो विश्वयुद्धमा खटिएका सिपाहीलाई चन्द्रशमशेरको सम्बोधन

सन्तोष खडेरी १३ असोज २०८० १९:०८
1.7k
SHARES
यस्तो थियो पहिलो विश्वयुद्धमा खटिएका सिपाहीलाई चन्द्रशमशेरको सम्बोधन टुँडिखेलमा नेपाली सेनाका सिपाहीहरू, अन्य जनरलहरुका साथमा प्रधानमन्त्री चन्द्रशमशेर र प्रधानमन्त्री चन्द्रशमशेर। तस्बिर स्रोत : मदन पुरस्कार पुस्तकालय

पहिलो र दोस्रो दुवै विश्वयुद्धमा नेपालले ब्रिटिस सरकारलाई मद्दत गरेको थियो। उक्त सहयोग आर्थिकसँगसँगै सैन्यसमेत थियो। ब्रिटिस भारत सरकारका भाईसराय एवं गभर्नर जनरलको मागअनुसार पहिलो विश्वयुद्धमा नेपालले सैनिक सहायता उपलब्ध गराएको थियो।

नेपालका तर्फबाट पहिलोपटक ६ हजार सैनिक भारत प्रस्थान गरेपछि नेपालबाट तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवन र श्री ३ महाराज चन्द्रशमशेरले गभर्नर जनरललाई अलगअलग खरिता पठाएर त्यसको जानकारी गराएका थिए। पहिलोपटक ६ हजार नेपाली फौज भारत गए पनि तिनको साथमा जाने अन्य सहयोगीसहितको कुल संख्या ७ हजार ३२३ थियो।

त्यस्तै नेपालबाट फौज गएको दुई महिनापछि गभर्नर जनरलले देहरादुनमा नेपाली फौजको निरीक्षण गरेका थिए। नेपाली सैनिक देखेर उनीहरूको जिउज्यान, चालढाल एवं क्षमताबाट आफू प्रभावित भएको पत्र गभर्नर जनरलले चन्द्रशमशेरलाई पठाएका थिए।

ब्रिटिस सरकारको अनुरोधमा चार पटक गरी १५ हजार ६ सय ५८ नेपाली फौज भारत पठाइएको थियो। नेपालले युद्धकोषमा १ करोड ३७ लाख रुपैयाँ जम्मा गरिदिएको थियो। त्यसैगरी जिन्सीमा ४० हजार पाउन्ड अलैँची, ८४ हजार ६ सय ९९ पाउन्ड चिया, २ सय थान ज्याकेट, १२ थान ओभरकोट, नेपाली र तिब्बती कम्मल, ३ सय ४० थान बन्दुक, २ लाख थान रेलको स्लिपर र २२० वटा सिसौका रूख ब्रिटिसलाई सहयोगबापत उपलब्ध गराएको थियो। त्यस्तै रिक्रुटमार्फत २ लाख नेपाली युवाले ब्रिटिस सेनाका विभिन्न मोर्चाबाट उक्त युद्ध लडेका थिए।

सन् १९१५ को ३ र ४ मार्च (वि.सं १९७१ साल फागुन २० र २१) मा नेपाली फौज भारततर्फ प्रस्थान गरेको थियो। प्रधानमन्त्री चन्द्रशमशेरले भारत जाने नेपाली फौजको दल प्रमुखका रूपमा दिल्लीमा रहने गरी आफ्ना माइला छोरा जनरल बबरशमशेर जबरालाई पठाएका थिए। दिल्लीमा ब्रिटिस भारतीय सेनाका कमान्डर इन चिफको कार्यालय मातहत रहने गरी बबरशमशेर खटिएका थिए।

३ मार्चमा अपराह्न ४ बजेको साइतमा अबोटाबादका लागि चार पल्टन फौज काठमाडौँबाट प्रस्थान गरेको थियो। फौजको नेतृत्व कमान्डिङ जनरल पद्मशमशेर जबराले गरेका थिए। ती चार पल्टनमा राइफल कालीबक्स पल्टन, पुरानो गोरखा देवीदत्त पल्टन, पशुपतिप्रसाद भैरवनाथ पल्टन र शमशेर दल जबर जंग पल्टन थिए।

४ मार्चको बिहान ७ बजेको साइतमा देहरादुनमा रहने गरी दुई पल्टन फौज काठमाडौँबाट त्यतातर्फ प्रस्थान गरेको थियो। त्यसको नेतृत्व जनरल तेजशमशेर जबराले गरेका थिए। ती दुई पल्टन फौजमा काली बकस बर्द बहादुर दोस्रा राइफल थिए।

काठमाडौँबाट भारततर्फ प्रस्थान गर्नुपूर्व  १ मार्चमा टुँडिखेलमा जम्मा भएका नेपाली सैनिकलाई प्रधानमन्त्री चन्द्रशमशेरले सम्बोधन गरेका थिए। उनले त्यतिबेला फौज पठाएर सहयोग गर्नुको कारण यसरी स्पष्ट पारेका थिए–

“धेरै वर्ष अघि देखि दोस्ती रहेका ठुला अंग्रेज सरकारलाई अहिले यस्तो ठूलो लडाइँ गर्नु परेका बखतमा उनलाई हामीले यति मदत पनि नगरि यश मौकामा दोस्ती बढाउन सकेनौं भने पछि अंग्रेज सरकारले यिनीहरु भुषका दोस्तमात्र रहेछन्। हामीलाई परि आए तमासा मात्र गरिरहे भन्ने रिसिबिले त्यत्रा ठूला सरकारले पछि आईलागे भने तिमीहरु सबैले आफ्नो मुलुकको निमित्त ज्यान दिन हुनुपर्ने आउला भन्ने हेतुले अहिले लाखौं रुपैयाँ खर्च गरि तिमीहरुलाई तयार गरि पठाउनु परेको हो। हेर अघि १४ सालमा त्यहाँ फौजलाई कालासंग लडाइँ गरि फर्की आएका हुनाले आज ५०-६० बर्ष सम्म पनि दोस्ती कायमै रहि दुई सरकार मिलिजुली रहे। अहिले पनि हामीहरुले उनीहरुलाई परिआएको बखतमा सक्ने अनुसार काम गरि देखाई फर्की आए पछि अहिले जस्तो हामी स्वतन्त्र छौँ पछि छोरा नाति पनि धेरै काम सम्म सोही बमोजिम आनन्दसाथ रहन पाउनेछन्।

हेर अंग्रेज सरकारसंग दोस्ती गरेको हुनाले हाम्रो मुलुकमा २१००० हेन्द्री मारटेनोर २००० लियन्फिल बन्दुक राइफल आइसक्यो फेरि तिमीहरु फर्की आउँदा ३००० लियन्फिल बन्दुक राइफल दिन्छन् भन्ने लेखिआएको छ। सो अंग्रेजसंग दोस्ती नगरेको भए यस्ता असल बन्दुक मुलुकमा हुँदैनथ्यो। केही गरि लड्नु परेको भए यन्फिल लिइ लड्नु पर्दथ्यो। यो सबै कुराको विचार गरि मुलुक र तिमीहरु सबै प्रजा प्राणीको असल निमित्त तिमीहरुलाई अहिले हिन्दुस्थान पठाइबक्सेको हो। खाली आफ्नो फाईदा र नामको निमित्तमात्र पठाइ बक्सेको होइन। “

यही सम्बोधनमा चन्द्रशमशेरले फौजलाई साथमा खटाएका जनरलले भनेबमोजिमको उर्दी मान्न, अफिसरदेखि सिपाहीहरुले आफ्नू भन्दा ठुला दर्जाकाले अहराएको काम गर्न, आफ्ना हातहतियार, खजाना, लुगासमेत आफू बस्ने ठाउँमा सधैँ सफासुग्घुर राख्न, ठाउँमा बाहेक अरु ठाँउमा फोहर नगर्न सम्झाएका थिए।

कुटपिट, गाली, लुटपाट, हुलदंगा नगर्न र त्यस्तो ठाउँमा नजान पनि भनेका थिए। बजारबाट सुपथ मोलमा माल खरिद गर्ने, सापटी लिएर उधारोमा माल खरिद नगर्न, जुवा नखेल्न, नसा नखान, अर्काको देवमन्दिरलाई तुच्छ गर्न र नबिगार्न, अर्काको धर्मलाई होच्याएर अर्काको मन नदुखाउन, स्वास्नी मानिससँग ख्यालठट्टा, रन्डीबाज (यौनजन्य गतिविधिमा नलाग्न) नगर्न निर्देशन दिएका थिए। त्यस्तै परदेशीका अगाडि आफ्ना बाबुबाजे र मुलुकको नाम राख्नुपर्छ भनी सिकाएका थिए।

प्रधानमन्त्री चन्द्रशमशेरले १ मार्चको सम्बोधनमा नपरेका केही महत्त्वपूर्ण बुँदा ३ मार्च र ४ मार्चमा भारततर्फ प्रस्थान गर्न लागेका फौजलाई सुनाएका थिए। ती बुँदा उनीहरूको अनुपस्थितमा नेपालमा रहेका श्रीमतीहरूको हेरचाह र सुरक्षासँग सम्बन्धित थियो। भारततर्फ जान लागेका फौज आफ्नो अनुपस्थितमा आफ्ना श्रीमतीको सुरक्षासँग चिन्तित थिए क्यार! त्यसैलाई सम्बोधन गर्नका लागि उनले पछिल्ला भाषणमा श्रीमतीको सुरक्षाको बुँदा थप गरेका थिए। त्यसमा सिपाहीका श्रीमती कसैले जारी गरेर लगिदिएमा वा धनमाल हिनामिना गरेमा के गर्ने भन्ने विषय थियो। जसमा श्रीमतीहरू कसैसँग भागी गएमा वा धनमाल हिनामिना गरेमा भागी जाने श्रीमती र भगाई लैजाने जार दुवैलाई निज सिपाहीहरू भारतबाट नफर्किउन्जेलसम्म नेल ठोकी जेलमा राख्ने र सिपाहीहरू फर्केपछि सजाय गर्ने प्रावधान थियो।

अहिले पनि वैदेशिक रोजगारीमा जानेको हकमा आफ्नो अनुपस्थितमा श्रीमान् वा श्रीमतीले दोस्रो बिहे गर्ने, आफूले विदेशबाट कमाएर पठाएको पैसा यता नेपालमा हिनामिना गर्ने परिपाटी उस्तै कायम छ। जीवनभर विदेशमा बसेर दुःख गरी कमाएर घरमा पठाएको धन आफू नेपाल फर्किँदा नरहने र श्रीमतीले बालबच्चाको बिचल्ली पारेर अर्कैसँग बिहे गर्ने समस्या कायमै छ।

त्यतिबेला पनि त्यस्तो अवस्था रहेको र सिपाहीका मनमा त्यस्तो भावना देखेर प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो अर्को भाषणमा त्यसको सम्बोधन गरेका हुन सक्छन्। दुवै विश्वयुद्ध र पछि सन् १९४८ मा भारतको हैदराबादमा जाने नेपाली सैनिकको मुद्दामामिलामा नेपाल सरकारका तर्फबाट केही सहुलियतसमेत दिइएको थियो।

उदाहरणका लागि उनीहरुविरुद्ध देवानी प्रकृतिको कुनै मुद्दामामिला विचाराधीन भए उनीहरूको अनुपस्थितमा नेपालमा त्यसउपर सुनुवाइ नगरिने भन्ने थियो। त्यस्तै उक्त मुद्दाको हदबन्दीसमेत अलग्गै कायम गरिएको हुन्थ्यो। उनीहरु विदेशबाट नफर्किएसम्म उनीहरूविरुद्धका कुनै मुद्दामामिला भए मुल्तबीमा राखिन्थ्यो। उनीहरू नेपाल फर्किएपछि मात्र निश्चित समयसीमा दिएर मात्र मुद्दामा पुनः सुनुवाइ गरिन्थ्यो।

३ मार्च र ४ मार्चमा चन्द्रशमशेरले गरेको सम्बोधनको पूर्ण पाठ

हिन्दूस्तानतर्फ खटि जाने अफिसर देखि वानादर तक र निजामती फालवर समेत तीमीहरूका जाहान् कसैले जारी गर्‍यो वा धनमाल हीनामीना गर्‍यो भने अदालत अमालले सर्कार वादी भई, हेरी जारी गर्ने नेल गलफन्दी ठोकी स्वास्नीलाई नेल ठोकी तीमीहरू फर्कि नआयेसम्म झेल्खानामा राखि तीमीहरू फर्की आये पछि जार काट्नु सर्वस्व लीनु समेत जे गर्दछु भन्दछौ अ‍ैनले गर्न पाउने सजाय हुनेछ। धनमाल हीनामीना गरेमा अ‍ैनले हुने सजायको चौवर बढाई सजाय हुनेछ भन्ने ईस्तीहार जारी हुनेछ।

तीमीहरूका जाहान् छोराछोरीलाई तीमीहरू गयेपछि कसैले अन्याय थिचोमिचो गर्न पाउने छैन। कसैले गरे नगीचको अदालत अमालबाट हेरी इन्साफ हुनेछ। नगीचका अदालत अमालले हेरिदिएनन् भने हाम्रा हजुरमा कराउन आयेपछि हामीबाट बुझीबक्सी हकइन्साफ वकसन्यै छ। यो कुरा तीमीहरूले आफ्ना जाहानलाई सुनायेकै होला। नसुनाउनेहरूले लेखियेको कुरा चीठी लेखि पठाये पनी हुन्छ। आफ्ना छोराछोरी जाहानलाई लेखि पठाई राख्नु।

तीमीहरूका जहानले तीमीलाई चीठी लेषी पठाउँदा खाली तीमीहरूको नाऊ र जागीर षायाको पल्टनको नाम हिन्दूस्तान भन्ने नाम लेखि ठाउँठाउँका हुलाकमा हालीदीनु। टीकस पनी टाँसनु पर्दैन भनि अह्राउनु। तीमीहरूले नेपालमा पहाडमा रहेका आफ्ना जहानबच्चालाई चीठि पठाउँदा पनी चीठी लेखि अफीसरद्वारा जनरलका हात बाट पठाउनु। जनरलहरूलाई तीमीहरूको जाहानबच्चाकाहाँ पुर्याइदिने बन्दोबस्त गर्नु भन्ने हामीबाट हुकुम बक्सेको छ। तीमीहरूले पठाउने चीठीमा पनी टीकस टासनु पर्दैन। लौ भाइ हो जाओ। तीमीहरूका जाहान् बच्चाका नीमीत्त कत्ती फीक्री नगरी आफ्नो बाबुको काखमा छोडी गयेको झै समझी खुसी दील लीई जाऊ। पशुपतिनाथ गुहृयकालीले सदा सर्वदा तीमीहरूलाई रक्षा गरुन्। 

(यो सामग्री नयाँदिल्लीस्थित राष्ट्रिय अभिलेखागार र काठमाडौँस्थित राष्ट्रिय अभिलेखालयमा रहेका दस्तावेजका आधारमा  तयार पारिएको हो।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =