रंगमञ्च

यमलोक पुगिसकेका राम पण्डित कसरी फर्किन्छन् जिउँदै?

सुस्मिता बजगाईं १२ असोज २०८० २०:०९
184
SHARES
यमलोक पुगिसकेका राम पण्डित कसरी फर्किन्छन् जिउँदै?

काठमाडौँ– बत्तिसपुतलीस्थित शिल्पी थियटरमा हास्यव्यंग्य निबन्धकार भैरव अर्यालको निबन्ध कृतिमा नाटक ‘ह बिन्दु राम पण्डित’ मञ्चन भइरहेको छ।

हास्यव्यंग्य निबन्धकार अर्यालको निबन्धसंग्रह काउकुती, जयभुँडी, इतिश्रीजस्ता कृतिलाई मुख्य आधार बनाएर नाटक तयार पारिएको हो। नाटकको नाट्य आलेख तथा निर्देशन बारत लिम्बूले गरेका छन्।

नाटकमा भ्रष्टाचार, सरकारी कार्यालयमा कर्मचारीको ढिलासुस्तीलाई प्रमुख विषय बनाइएको छ। देशमा व्याप्त विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार आदिका कारणले जनतामा छाएको नैराश्य, हैरानी, बेचैनीको तीतो यथार्थ प्रस्तुत गरिएको छ। जसले गर्दा मानिसले मानसिक सन्तुलन गुमाउन परेका अवस्थाको चित्रण छ।

राम पण्डितको मृत्युबाट नाटक सुरु हुन्छ र अन्त्यमा ऊ जिउँदै फर्किन्छ। कौहूलता जाग्यो? त्यसका लागि भने तपाईंले नाटक हेर्नैपर्छ। नाटक मञ्चन अन्तिम चरणमा पुगिसकेको छ।

पुराणमा वर्णन गरिएको यमलोकको परिकल्पनालाई नाटकमा उतारिएको छ। समग्र नाटकमा पण्डितले त्यहाँ नामकै कारण भोगेको सास्ती नाटकको कथावस्तु बनेको छ। जुन मत्र्यलोकबाट यमलोक र यमलोकबाट पुनः मत्र्यलोकको यात्रालाई परिकल्पनालाई कथाको रूप दिइएको छ।

चित्रगुप्तले पापपुण्यको लेखाजोखा वा हिसाब नराख्नाले राम पण्डितले यमलोकमा दुःख पाउनु परेको छ। सवा एक घण्टाको नाटकमा चित्रगुप्तको कार्यालयमा पुगेको हबल्दार राम पण्डित हिन्दु धर्मको मान्यताअनुसार स्वर्गलोक र नर्कलोक नगई पृथ्वीमै फर्कनु परेको रोचक कथा छ।

पाप र पुण्य दुवै नगरेको राम पण्डित पृथ्वीलोक फर्किनुले दण्डहीनताको अवस्थाको चित्रण गरेको छ। मृत्युपछि स्वर्ग वा नर्कमा स्थायी रूपले जानुपर्ने हिन्दु धर्ममा रहेको लोक विश्वास नाटकभित्र उजागर गरिएको छ। समग्र नाटकलाई भैरव अर्यालको जीवनमा आधारित गरिएको छ। उनले रोजेको मृत्युको बाटोलाई पनि अन्त्यमा देखाइएको छ।

भैरव अर्यालको निबन्धमा प्रयोग गरिएको व्यंग्यात्मकताको विशिष्ट चित्रण छ। भ्रष्टाचार, दुराचार, व्यभिचारी, घुसखोरी, नातावाद, कृपावाद आदि विकृति विसंगतिप्रतिको कलात्मक व्यंग्य गर्नु अर्यालका निबन्धात्कम प्रवृत्ति हो। यही मर्मलाई नाटकीकरण गरिएको छ। निबन्धमा कथा हुँदैन तर नाटकमा कथा अनिवार्य हुनुपर्छ। फलस्वरूप निबन्धको मर्मअनुकूल कथानकको परिकल्पना गरिएको छ।

नाटकको प्रतीकात्मकता यमलोकलाई बनाइएको छ। यमलोकको यमराजको माध्यमबाट निर्देशक लिम्बूले आजको शासक वर्गलाई व्यंग्य गर्न खोजेका छन्। यमलोकमा पनि कर्मचारीतन्त्र प्रविधिका मान्छेहरू रूपान्तरित भएर यमराजका कर्मचारी भ्रष्ट हुन पुगेको र त्यहाँ पनि राम पण्डितले घुस नख्वाइ काम अघि नबढेको भनी व्यंग्य गरिएको छ।

नाटकका पात्र चित्रगुप्त अहिलेका उच्च पदस्थ कर्मचारी हुन्। अन्य दुई साधारण कर्मचारी पनि छन्। नाटकको मुख्य पात्र ह बिन्दु राम पण्डितले अहिलेको सेवाग्राहीको अवस्था अभिनयमार्फत भनिरहेका छन्। नाटकको मञ्च सेटिङ पनि विषयवस्तुअनुसार उपयुक्त नै मान्न सकिन्छ। नाटकमा कलाकारहरूको अभिनय कथावस्तुअनुसार उचित छ। पात्रहरूले प्रयोग गरेका वेषभूषा, आभूषण स्वाभाविक र सान्दर्भिक छन्।

यद्यपि नाट्य रूपान्तरणको मर्मअनुकूल कहीँ स्वर उच्च हुन पुगेको छ। कतै आवश्यकताभन्दा बढी न्यून भएको छ। यसले संवाद मर्मसापेक्ष स्वरमा सन्तुलन नभएको भान हुन्छ। र, दर्शन के भनेको भनेर अलमलमा पर्ने स्थिति हुन्छ।

नाटकमा सरल शब्दको प्रयोग गरिए तापनि बीचबीचमा पात्रहरू अंग्रेजी प्रयोग गर्छन्। नाटक हेर्न बालकदेखि वृद्धसम्म आउने हुनाले संवादमा केही कठिनाइ भएको महसुस हुन्छ। पात्रहरूले गर्ने सात्त्विक अभिनय भने ओझेलमा परेको देखिन्छ। संवादअनुसार बोलीमा झल्किए पनि वास्तवमा देखिदैनन्।

मृत्युलोकमा पनि टिकटकको प्रयोग र मुर्रा भैँसी प्रतीकको रूपमा प्रयोग गरिएको छ, जसले दर्शकलाई थप रोमाञ्चकता प्रदान गर्छ। समग्रमा नाट्य निर्देशक लिम्बूले निबन्धमार्फत नाटकमा हुनुपर्ने तत्त्वलाई अपूर्ण हुन दिएका छैनन्। नाट्य रूपान्तरणमा मूल कृतिको मौलिकताको संरक्षण भएको छ।

नाटकमा हुनुपर्ने कथाको परिकल्पना, पात्रहरू र संवादको प्रयोग, परिवेश र कृतिहरूको मौलिकपनलाई समय सान्दर्भिक बनाएका छन्। नाटकमा गरिएको समकालीन नेपालको संस्थागत भ्रष्टाचार र भ्रष्टाचारीप्रति गरिएको व्यंग्य अत्यन्तै मार्मिक छ।

६ दशकअघि लेखिएका भैरव अर्यालका निबन्ध आज पनि सान्दर्भिक लाग्छन्। समय सापेक्ष देशमा भइरहेको कर्मचारीतन्त्र, उनीहरूले सेवाग्राहीलाई गर्ने व्यवहार, कार्यालयमा सेवाग्राहीले भोग्नु परेको पीडा, सम्पूर्ण कार्यालयको दुरावस्थालाई निर्देशकले रंगमञ्चमार्फत अर्यालका तीखो व्यङ्ग्यलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्। नाटकको पहिलो निर्देशनमा रंगकर्मी बारत लिम्बू पोख्त साबित देखिएका छन्।

नाटकमा कलाकार विकास जोशी, श्रवण सिंह राना मगर, सविर चुरौटे, मिल्सन राई, सविन कट्टेल, रोशन, उज्जवल वान्तवा राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, सोनिल राई, सम्झना राई र क्षितिज सन्तोष माझीले अभिनय गरेका छन्।

प्रकाशित: १२ असोज २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =