ओली ‘इसारा’ को पर्खाइमा कोशी एमाले

विवेक विवश रेग्मी १० असोज २०८० ११:२०
68
SHARES
ओली ‘इसारा’ को पर्खाइमा कोशी एमाले एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

इटहरी- नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन यही असोज १२ र १३ गते हुँदैछ। विराटनगरमा हुने अधिवेशनमा प्रदेशभरबाट प्रतिनिधि छनोट भइसकेका छन्। पार्टीका वर्तमान अध्यक्ष तुलसी न्यौपानेले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘तयारी अन्तिम चरणमा पुगेको छ। पार्टी अध्यक्षबाट अधिवेशनको उद्घाटन हुने भएकाले कार्यक्रम भव्य गर्ने तयारी छ,’ उनले भने, ‘भरसक सहमतिमै अधिवेशन सम्पन्न हुन्छ। यसमा प्रतिनिधिको पनि इच्छा हुन्छ।’

प्रतिनिधिहरू को कुन पदमा उठ्ने भन्नेबारे पनि छलफल हुने भएकाले अहिल्यै यसै भन्न नसकिने उनको भनाइ छ। ‘आकांक्षीहरूलाई विभिन्न जिम्मा दिएर सहमति गर्ने प्रयास हुनेछ,’ न्यौपानेले भने, ‘चुनावै हुन्छ जस्तो त मलाई लागेको छैन।’

विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा बिहान ११ बजे उद्घाटन हुने अधिवेशनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

उनका अनुसार कुल एक हजार ४७ जना प्रतिनिधि छन्। जिल्ला तह र विभिन्न संगठनबाट सो संख्यामा प्रतिनिधि छनौट भइसकेका छन्। अधिवेशनमा ताप्लेजुङ जिल्लाबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, तेह्रथुमबाट ४३, संखुवासभाबाट ३९, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६ र मोरङबाट १७८ जना, सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६ र उदयपुरबाट ३६ जनप्रतिनिधि सहभागी हुनेगरी तयारी पूरा भएको छ।

विभिन्न जनसंगठनले ५६ जना प्रतिनिधि पठाउनेछन्। जनवर्गीय संगठन र भूगोलबाट निर्वाचित भएर आउनेबाहेक प्रदेश कमिटीले ५० जना सदस्य मनोनीत गर्ने व्यवस्था छ।

कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि न्यौपानेसहित चारजना मैदानमा देखिएका छन्। यसअघि विशाल भट्टराईको पनि चर्चा थियो। तर उनी अहिले मैदानमा देखिएका छैनन्। प्रदेश अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल, घनश्याम खतिवडा चुनावी मैदानमा छन्। यस्तै वर्तमान अध्यक्ष न्यौपाने र उपाध्यक्ष टीका चेम्जोङले अध्यक्षको तयारी गरिरहेका छन्। यद्यपि उनीहरू पार्टी अध्यक्ष ओलीको ‘इसारा’ पर्खिरहेका छन्।

कोशी प्रदेशमा सहमतिमै अधिवेशन सम्पन्न गर्नका लागि ओलीकै इसारा ‘काफी’ हुने एमाले वृत्तमा चर्चा छ। तर केही समयअघि मात्रै लुम्बिनी प्रदेशमा सहमति गर्ने भनिए पनि गुटगत रूपमै चुनाव भएका कारण पनि कोशीमा निर्वाचन हुने कि सहमति भन्ने अझै निक्र्योल भइसकेको छैन।

पार्टी अध्यक्ष ओलीको गृह प्रदेश रहेका कारण पनि यहाँ उनले इच्छाएकै व्यक्ति अध्यक्ष हुने सम्भावना प्रबल छ। तर ओलीले हालसम्म पनि कसैलाई अध्यक्षका लागि समर्थन गरेका छैनन्।

केही दिनअघि ओलीले बागमती प्रदेशको अधिवेशन उद्घाटन गर्दै प्रदेशमा गुटगत रूपमा उम्मेदवारी दिन नपाइने बताएका थिए। तर ओलीले आकांक्षीहरूले गुट र प्यानल बनाएर उम्मेदवारी दर्ता गरे उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका थिए। व्यक्तिगत रूपमा चुनावी प्रतिस्पर्धामा होमिए आफूलाई आपत्ति नहुने तर पार्टीमा बसेर गुट नै बनाएमा उम्मेदवारी खारेज गर्ने ओलीको चेतावनी थियो।

प्रकाशित: १० असोज २०८० ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =