कार्यवाहक प्रधानमन्त्रीले भने- राहत र ईसीडी शिक्षकको माग सम्बोधन हुन्छ

हिमाल प्रेस ८ असोज २०८० १२:३८
878
SHARES
कार्यवाहक प्रधानमन्त्रीले भने- राहत र ईसीडी शिक्षकको माग सम्बोधन हुन्छ

काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग अघि सारेर सडक आन्दोलनमा सक्रिय सामुदायिक विद्यालयका राहत र बालविकास (ईसीडी) शिक्षकका माग सम्बोधन हुने बताएका छन्।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेपाल शिक्षक महासंघ भएको वार्ताबारे जानकारी गराउँदै उक्त कुरा बताएका हुन्।

महासंघ र सरकारबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै राहत शिक्षक र ईसीडी शिक्षक राजधानी केन्द्रित सडक आन्दोलनमा छन्। खड्काले राहत र ईसीडी शिक्षकले उठाएका माग नियमावलीमार्फत, कार्यविधिमार्फत र निर्णयमार्फत सम्बोधन गरिने बताए।

सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा नेपाल शिक्षक महासंघ आन्दोलित भएको थियो। महासंघसँग वार्ता गरी सहमति भए पनि राहत र ईसीडी शिक्षक आन्दोलनमै छन्। कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘विधेयक संसद्‌मा दर्ता भइसकेको छ। हामी संसद् र सरकार मिलेर शिक्षकका समस्या समाधान गर्नेछौँ।’

खड्काले भने, ‘नेपाल शिक्षक महासंघसँग भएका सहमतिमा राहत शिक्षक, पेन्सनसँग चित्त नबुझेका शिक्षक र ईसीडी शिक्षकको विमति छ। उहाँहरूले हामीलाई अन्याय भयो भन्ने तरिकाले कुरा गर्नुभएको छ। उहाँहरू सडकमा हुनुहुन्छ। मैले आफ्नो तरिकाले भेट गरिरहेको छु। संशोधन प्रक्रियामा लगेर उहाँहरूका माग सम्बोधन हुनेछ।’

खड्काले महासंघसँग भएको सहमति संसदीय प्रक्रियामा लगिने उनले बताए। नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले भने, ‘उहाँहरूका मागलाई सम्बोधन गरेर अघि बढ्छौँ। कतिपय कुरा नियमावलीमा समावेश हुन्छ। केही विषय कार्यविधिबाट सम्बोधन हुन्छ। अर्थ मन्त्रालयको निर्णयबाट टुंगो लाग्ने कुरा भएको छ।’

यसैगरी उनले महासंघसँग भएको सम्झौता कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताए। उनले भने, ‘त्यसमा दायाँबायाँ केही पनि हुँदैन। बरु अझै मिलाउन सक्ने विषय मिलाएर संशोधनको प्रक्रियामा लिएर जानेछौँ।’ सहमतिबारे प्रमुख सचेतकहरूलाई पनि जानकारी गराएको खड्काले बताए। उनले भने, ‘विधेयक संसद्को प्रक्रियामा जाँदा सरकार र दलका प्रमुख सचेतकहरूका तर्फबाट प्रतिबद्धता जनाउँछौँ। आआफ्नो दलभित्र प्रतिबद्धता जनाउने कुरा भएको छ।’

‘आफ्नैबाट आलोचित भएँ’
कांग्रेस उपसभापति खड्काले शिक्षक महासंघसँगको वार्तामा आफू आफ्नैबाट आलोचित भएको गुनासो गरेका छन्। उनले आफूले बोलेको कुरालाई विपक्षी दल निकटका शिक्षकहरूले सही बुझेको तर कांग्रेस निकटका शिक्षकहरूले गलत बुझेर आलोचना गरेका गुनासो गरेका हुन्।

उनले भने, ‘शिक्षकहरूका बीचमा म आलोचनाको पात्र भएको छु। मैले संविधानसँग बाझिने बाहेक र मुलुकको अर्थतन्त्रले धान्ने सबै प्रकारका माग पूरा गर्न तयार रहेको बताएको थिएँ। त्यही कुरालाई संगठनले र क्रान्तिकारीले बुझेको देखियो। संघभित्रकै साथीहरूले बढ्ता टिप्पणी गर्नुभयो मेरो पूरा कुरा नसुनीकन।’ वार्ताका सन्दर्भमा खड्काले दिएको अभिव्यक्तिलाई लिएर नेपाल शिक्षक संघका केही नेताहरूले खड्काको आलोचना गरेका थिए। संघ नेपाली कांग्रेस निकट मानिन्छ।

उनले जसले पूरा कुरा सुने उनीहरूले गतल टिप्पणी गरेको र पूरा कुरा नसुन्नेहरूले केही नभनेको बताए। उनले भने, ‘सामाजिक र राजनीतिक जीवनमा लाग्दा ताली र गाली दुवै कुरालाई स्वीकार भनेर लाग्या हो। त्यसैले यसलाई म अन्यथा लिन्नँ। सबै कुरालाई सुन्नुपर्छ स्वीकार्नुपर्छ। कतिपय गुरुहरूले कुरा बुझ्दै जानुभएको छ। पार्टीका तर्फबाट सबै कुरा स्पष्ट पारिएको छ।’

प्रकाशित: ८ असोज २०८० १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =