काठमाडौँ- लिभरपुलका प्रशिक्षक योर्गन क्लपले स्ट्राइकर डार्विन नुनेजले आफ्नो खेलमा निकै सुधार गरेको प्रतिक्रिया दिएका छन्। उरुग्वेली नुनेजले इंग्लिस प्रिमियर लिगमा आइतबार राति लिभरपुललाई जिताउन गोल गरेपछि क्लपले उनको प्रशंसा गरेका हुन्।
एनफिल्डमा वेस्टह्याम युनाइटेडलाई पन्छाउन लिभरपुलले ३–१ को जित दर्ता गरेको थियो। लिभरपुलको जितमा नुनेजबाहेक मोहम्मद सलाह र डिएगो जोटाले एक–एक गोल गरे।
गत सिजन आफ्नो स्तर अनुसारको प्रदर्शन नगरेपछि शीर्ष चारमै नपरेको लिभरपुलले यो सिजन ६ खेलमा पाँचौँ जित हात पारेको हो। चेल्सीसँग बराबरी खेलेर नयाँ सिजनको सरुवात गरेको लिभरपुल त्यसपछि जित लयमा छ।
जसकारण क्लप नेतृत्वको टिमले हाल दोस्रो स्थानमाथि कब्जा जमाएको छ। पहिलो स्थानमा च्याम्पियन म्यानचेस्टर सिटी छ। सिटीको १८ र लिभरपुलको १६ अंक छ।
लिभरपुलको अपराजित शृंखलामा नुनेज महत्त्वपूर्ण साबित भइरहेका छन्। अगस्टको अन्तिम साता न्युकासल युनाइटेडविरुद्ध उनले दुई गोल गरेका थिए। न्युकासलको मैदानमा १० खेलाडीमा सीमित लिभरपुल १–० ले पछि परेको थियो। त्यस्तोमा नुनेज बेन्चबाट मैदान प्रवेशगरी लगातार दुई गोल गर्न सफल भएका थिए।
गत सिजन बेनफिकाबाट लिभरपुल आएका नुनेजको सुरुवात सोचेजस्तो हुन सकेको थिएन। धेरैजसो खेदमा क्लपको पहिलो एघारमा नपरेका नुनेज यसपालि भने आफूलाई स्थापित गर्न जोसिएका छन्। फलतः उनले लिगका ६ खेलमा तीन गोल गरिसकेका छन्। गत सिजन उनको नाममा नौ गोल थियो।
‘पछिल्ला केही साताको प्रदर्शन हेर्दा थाहा हुन्छ, उनले फड्को मारेका छन्। उनी विपक्षीको क्षेत्रमा खतरनाक देखिन्छन्। हरेक खेल गोल गर्ने मनस्थितिका साथ खेल्छन्,’ २४ वर्षीय नुनेजको तारिफमा क्लपले भनेका छन्।
गोल गर्ने क्षमताबाहेक नुनेजको तारिफ भइरहेको अर्को पक्ष हो, रक्षापंक्तिलाई सहयोग गर्ने भावना। ‘उनी डिफेन्सलाई भरपूर सहयोग गर्छन्। यो उनको बानी हो। गत सिजन पनि उनको यस्तो बानी मैदानमा देखिएको थियो। तर यसपालि उनी र अरु खेलाडीबीचको सहकार्य व्यवस्थित बनेको छ,’ क्लपले भने।
यो सिजनका सुरुका सातमध्ये चार खेलमा लिभरपुलले पुनरागमन जित दर्ता गरेको थियो। यसपालि भने अग्रता लिभरपुलले लियो। पहिलो हाफको १६ औँ मिनेटमा पाएको पेनाल्टीमा सलाह सफल भएपछि लिभरपुल खेलमा अघि बढेको थियो।
तर पहिलो हाफ नसकिँदै वेस्टह्याम खेलमा फर्कियो। जेराड बोवेनले हेडर गोल गरेपछि वेस्टह्यामले हार नमानेको सन्देश दिएको थियो। तर खेल ६० औँ मिनेटमा प्रवेश गर्दैगर्दा नुनेजले लिभरपुलको दबदबा पुनः स्थापित गरे। त्यसपछि निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा जोटोले लिभरपुलको तेस्रो गोल गरे।
पूर्ण रुपमा नयाँ मिडफिल्डका साथ सिजनको सुरुवात गरेको लिभरपुलले उपाधि दौडमा सिटीलाई दुःख दिने संकेत गरेको छ। यही साता युरोपा लिगमा समेत एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै विजयी बनेको लिभरपुल मानसिक रुपमा बलियो देखिँदैछ।
‘यी खेलाडी स्तरीय छन्। कहिलेकाहिँ भने उनीहरुको प्रदर्शन अपेक्षाकृत हुने गरेको छैन। त्यसलाई विश्लेषण गर्न हामी प्रशिक्षक छँदैछौँ। जे होस्, यो खेलमा सुरुवाती गोल खाइएन। तर अन्ततः गोल खाइयो नै। यसमा चित्त दुखाइ छैन। यस्ता परिस्थितिबाट पार पाउन मेहनत गर्नुछ,’ क्पलपले भने।