शिक्षकको दरबन्दी मिलान गर्दै काठमाडौँ महानगर

हिमाल प्रेस ७ असोज २०८० २१:०२
22
SHARES
शिक्षकको दरबन्दी मिलान गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ।

कामपा शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी संख्या बढी शिक्षक कम, कुनैमा शिक्षक बढी विद्यार्थी कम रहेकाले विद्यार्थी संख्या र आवश्यकताका आधारमा दरबन्दी मिलान गर्न लागिएको जनाएको छ।

विभागका प्रमुख सीताराम कोइरालाले दरबन्दी मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। उनले भने, ‘अहिले विद्यार्थी संख्या धेरै भएको विद्यालयले थप दरबन्दी माग गरेका छन् त्यस्ता विद्यालयलाई दरबन्दी मिलान गर्दा दिने प्रयास गरिने छ।’

यदि वास्तवमै शिक्षक आवश्यक हो भने मिलानका क्रममा दरबन्दी दिन नसके पनि त्यो बराबरको अनुदान रकम दिएर भए पनि आवश्यकता पूरा गर्ने उनले जानकारी दिए। हाल कामपामा प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन्।

अहिले कामपामा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय रहेका छन्।

त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ। त्यस्तै कामपाले सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्न लागेको जनाएको छ। पछिल्लो समय निजी छोडेर सामुदायिकमा आउने विद्यार्थी बढी रहेको पनि कामपाले जानकारी दिएको छ।

प्रकाशित: ७ असोज २०८० २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =