काठमाडौँ- चीनको साता व्यापी भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अनौपचारिक भेट गरेका छन्। चिनियाँ राष्ट्रपतिसँग १९औं एसियन गेम्सको उद्घाटन समारोहको साइडलाइनमा भेट वार्ता भएको हो।
समारोहमा सबै पाहुनालाई स्वागत गर्ने क्रममा यो भेटघाट भएको हो। स्वागत समारोह सकिएलगत्तै उनीहरुबीच छुट्टै औपचारिक वार्ता भको हो। सीको नेपाल भ्रमण देखिका विषयमा छलफल भएको एक सहभागीले जनाए। प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङ्चाउ पुगेका हुन्।
उनलाई विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए भने साथमा नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ राजदूत छन सोङलागयत उच्च अधिकारीहरू पनि थिए।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर शनिबार न्यूयोर्कबाट त्यहाँ पुगेका हुन्। प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्र मन्त्री एनपी साउद र अन्य सदस्यहरू न्यूयोर्कबाट गएका र नेपालबाट सिधै चीन पुगेका पनि छन्।
प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रमपछि बेइजिङ पुग्नेछन्। बेइजिङमा सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने र चीनको छोङछिङ महानगरपालिकामा रहेको कृषि एवं औद्योगिक क्षेत्र अवलोकन गर्नेछन्। सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछ्न्।
उनले चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ। बेइजिङमा उनलाई सीले रातो कार्पेट नबिछ्याए पनि उनीहरूबीचको हाङजाओ वार्ताको मुर्तरूप भने लि सँग भेटेपछि लिनेछ।
उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने नेपाल-चीन लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहने भनिएको छ।
प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता एवं अवलोकन सकेर असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ।