प्रचण्डको भ्रमणपछि नेपाल-भारत विकास साझेदारीले थप गति लियो : भारतीय दूतावास

हिमाल प्रेस ६ असोज २०८० १५:२७
36
SHARES
प्रचण्डको भ्रमणपछि नेपाल-भारत विकास साझेदारीले थप गति लियो : भारतीय दूतावास नयाँदिल्लीमा बिहीबार आयोजित संयुक्त पत्रकार सम्बोधनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय समकक्षी नरेन्द्र मोदी। तस्बिर : रासस

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी चीन भ्रमणमा निस्केको भोलिपल्ट भारतीय  दूतावासले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धि र अघि बढेका विकास कार्यहरू सार्वजनिक गरेको छ।

‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौँ,’ प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर पुनः सार्वजनिक गर्दै काठमाडौँस्थित भारतीय दूतावासले भनेको छ, ‘पारस्परिक लाभका लागि भारत-नेपाल  ऊर्जा सहकार्य।’

प्रधानमन्त्री प्रचण्ड चीनमा आयोजित १९औँ एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी भएका छन् भने उनले त्यहीँ चिनियाँ राष्ट्रपति सी चीनफिङसँग औपचारिक भेटवार्ता गर्ने  कार्यक्रम  छ।

त्यही समयमा दक्षिण छिमेकको समाचार र तस्बिर बाहिर आउँदा फरक मनोविज्ञान देखा पर्न सक्ने परराष्ट्र अधिकारीहरू बताउँछन्। यद्यपि सहमति भएका र अघि बढेका विषय बाहिर ल्याएर भारतले आमनागरिकको ध्यान खिच्न खोजेको उनीहरूको बुझाइ छ।

प्रधानमन्त्री चिनियाँ अधिकारीसँग भेटघाटमा व्यस्त रहँदा अर्को छिमेकी भारतले आफ्नो दूतावासमार्फत नेपाल भारत विकास साझेदारीले थप गति लिएको जानकारी बाहिर ल्याएको हो।

भारतीय दूतावासले आफ्नो ग्रुप च्याट र औपचारिक ट्विटरमा यस्तो उल्लेख गरेको हो। सहमति भएर अघि बढेका विभिन्न आयोजनाका बारेमा पनि भारतले स्मरण गराएको छ।

विशेषगरी प्रधानमन्त्रीको भ्रमणका क्रममा १० वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमता १० हजार मेगावाट पुर्‍याउन प्रयास गर्ने प्रतिबद्धतालाई यथार्थमा बदल्दै गएको विषय मुख्य उपलब्धिका रूपमा लिइएको छ।

१३२ केभी टनकपुर-महेन्द्रनगर ट्रान्समिसन लाइनमार्फत विद्युत् थप भएको उल्लेख गर्दै तत्काल भारततर्फ १८० मेगावाट विद्युत् निर्यात स्वीकृत गरिएको दूतावासले जनाएको छ।

यस्तै अब नेपालले भारततर्फ ६३१ मेगावाट विद्युत् निर्यात गर्न सक्ने उल्लेख गरिएको छ।विद्युत्‌मा ‘डे अहडे’ बजारबाहेक मध्यावधि र रियल टाइम बजार उपलब्ध गराएको विषय र परराष्ट्र अधिकारीबीच उच्चस्तरीय वार्ता हुने दूतावासको भनाइ छ।

दूतावासले कुर्था-बिजलापुर रेल सञ्चालनले आमनागरिक सम्पर्क बढ्दै नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच भारत-नेपाल विकास सहकार्य भइरहेको उल्लेख गरेको छ।

२०७२ सालमा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुनर्निर्माण, बूढानीलकण्ठ धर्मशाला पुनर्निर्माण लगायतका विषयलाई पनि भारतले नेपालसँगको सहकार्यको उपलब्धिका रूपमा सार्वजनिक गरेको छ।

भारतले संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवन, सुदूरपश्चिम प्रदेशमा तीनवटा परियोजना टीकापुर बहुमुखी क्याम्पस (कैलाली), पशुपति शिक्षा मन्दिर र सिद्धनाथ माध्यमिक विद्यालय (कञ्चनपुर जिल्ला) र सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालका विभिन्न जिल्लामा ५४६ वटा परियोजना सञ्चालन गरेको  जनाएको छ।

काठमाडौँको चन्द्रागिरीस्थित विष्णुदेवी माध्यमिक विद्यालय पुनर्निर्माण, दार्चुला, संखुवासभा र उदयपुरमा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाइका क्षेत्रमा ४ वटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको विषयलाई भारतले विकास सहकार्यको नमुनाका रूपमा बाहिर ल्याएको छ।

नेपालका विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा ५० स्कुलबस उपहारस्वरुप उपलब्ध गराएको र यो हरेक वर्ष गर्दै आएको कार्यको निरन्तरता रहेको जनाइएको छ।हालसम्म भारतले ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरुप प्रदान गरिसकेको छ। सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालका विभिन्न जिल्लामा ५४६ वटा परियोजना सञ्चालन भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले गत जेठ १७ देखि २० सम्म चारदिने भारत भ्रमण गरेका थिए। पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो विदेश भ्रमण  भारतबाट सुरु गरेका थिए। उनी भारतमा जुन तवरले भ्रमणमा गए त्यसअघि नै चीनले पनि निम्ता दिएको थियो।

यद्यपि उनले भारतबाट आफ्नो पहिलो विदेश भ्रमण हुने बताइसकेका थिए। एक साताअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रचण्ड त्यतैबाट चीन पुगेका छन्।

प्रकाशित: ६ असोज २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =