सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

हिमाल प्रेस ५ असोज २०८० १७:५२
560
SHARES
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ– सरकार र शिक्षा विधेयकमा असहमति जनाउँदै आन्दोलनमा होमिएका शिक्षकबीचको वार्तामा ७ बुँदे सहमति भएको छ। सहमति भएसँगै अब आन्दोलन पनि स्थगित भएको छ। शिक्षकहरू शिक्षा विधेयकमा आपत्ति जनाउँदै तीन दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिएको जानकारीअनुसार सहमतिपत्र तयार पारिएको छ। उनले भनिन्, ‘आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिको ड्राफ्ट तयार हुँदैछ।’

सरकारसँगको चौँथो चरणको वार्तापछि शिक्षकहरू सरकारसँग भएको सहमतिमा हस्ताक्षर गर्न तयार भएका हुन्। वार्तामा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए।

आन्दोलनरत शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।

यसअघि बुधबार र बिहीबार पनि शिक्षकहरुका मागलाई लिएर वार्ता भएको थियो। बिहीबार बिहान पनि भएको वार्ता त्यतिकै सहमति नभई सकिएको थियो। गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरू असन्तुष्ट छन्।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको थियो।

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका थिए।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौँमा आन्दोलन थालेको थियो।

प्रकाशित: ५ असोज २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =