काठमाडौँ- इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखहरू भारतको नयाँ दिल्लीमा भेला हुने भएका छन्। यस क्षेत्रका सेना प्रमुखहरूको १३औँ संस्करको सम्मेलनमा सहभागी हुन उनीहरू दिल्लीमा भेला हुन लागेका हुन्।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि सोही सम्मेलनमा सहभागी हुन आइतबार नयाँ दिल्ली जान लागेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
प्रधानसेनापति शर्मा असोज ७ मा दिल्ली जाने र असोज ११ मा फर्कने कार्यक्रम छ। सम्मेलन असोज ८ गतेदेखि १० गतेसम्म चल्नेछ। त्यही कार्यक्रमको साइडलाइनमा उनले भारतलगायत मुलुकका सेना प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने पनि तयारी छ।
सोही अवसरमा हुने ४७औँ इन्डो प्यासिफिक सेना व्यवस्थापन सभामा सहभागी हुन उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम पनि त्यसतर्फ जाने छन्। नवौँ सिनियर इनलिस्टेड लिडर्स फोरममा सहभागी हुन प्रमुख सुबेदार रत्नबहादुर थापा पनि प्रधानसेनापतिको भ्रमण टोलीमा रहने छन्।
प्रधानसेनापति शर्माको उक्त्र भ्रमणका लागि दुई साताअघि नै मन्त्रीपरिषद्बाट निर्णय भइसकेको छ। प्रधानसेनापति शर्माको कार्यकाल २ वर्ष पूरा भइसकेको छ। उनले आफू प्रधानसेनापति भएपछि भारतका राष्ट्रपतिबाट अवैतनिक प्रधानसेनापतिको मान लिएका छन्। भारतबाट पनि सेना प्रमुख नेपाल आएर त्यही मान लिएका थिए।
भारत र अमेरिकी सेनाहरूको सह-आयोजनामा उक्त सम्मेलन हुन लागेको हो। यसअघि पनि उक्त सम्मेलन हुँदै आएको थियो। अमेरिकाको इन्डो प्यासिफिक भित्रको राजनीतिको एक रणनीतिक कार्य भनिए पनि यो प्रकारको अभ्यास निकै पहिले देखि नै हुने गरेको थियो।
प्रधानसेनापति शर्मा अहिलेसम्म कुनै दाग नलागेका व्यक्ति हुनाले पनि उनले त्यहाँ नेपालको तर्फबाट राजनीतिक भन्दा पनि सेनाको विषयमा नै बढी कुरा राख्ने सैन्य स्रोतले बताएको छ।
यस क्षेत्रको शान्ति र सैन्य सहकार्य तथा क्षमता वृद्धिलगायत विषयमा छलफल हुने सैन्य स्रोतले जानकारी दिए।
नेपाली सेनाका एक उपरथीले भारतीय दूतावासका सैनिक सहचारीमाथि जथाभावी बोलेको विषय भारतीय सेनाको नेतृत्वसम्म पुगेकाले त्यसलाई पनि सेनाप्रमुख शर्माले स्पष्ट पार्ने बताइएको छ।
भारतीय पक्षले त्यस्ता व्यक्तिमाथि कारबाही हुनपर्ने कुराहरू सेनाभित्र भए पनि त्यसमा विभागीय कुनै न कुनै कारबाही भएको सन्देश दिएर यस्ता घटनाबारे सजग रहने कुरा दुईपक्षीय भेटघाटमा हुन सक्ने स्रोतले बतायो।
नियमित रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागीताबाट मित्रराष्ट्रका सैन्य संगठनहरूबीच सुमधुर सम्बन्ध विकासमा मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।
सम्मेलन भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गर्नेछन्। त्यहाँ यस क्षेत्रका १५० भन्दा बढी सैन्य अधिकारीहरूले विभिन्न राउण्ड टेबल बहसमा सहभागीता जनाउने पनि भारतीय सेनाले बताएको छ।
भारती सेनाका प्रमुख मनोज पाण्डे र अमेरिकी सेनाका भाइस चिफ र्याण्डी जर्जको नेतृत्व रहने उक्त कार्यक्रम तीन तहमा सञ्चालन हुनेछ।
तीन दिन चल्ने कार्यक्रममा शान्ति सेनाको भूमिका, विश्व शान्तिमा यस क्षेत्रका सेनाको भूमिका, प्राकृतिक प्रकोपमा सेनाको भूमिका, क्षमता अभिवृद्धि, एक अर्का मुलुकबीच सैन्य सहकार्य, महिला सशक्तीकरण लगायतमा काम गर्न छलफल गरिनेछ।
इन्डो प्यासिफिक क्षेत्रमा पुरानो प्रकारको थ्रेटलाई रोक्न सहकार्यबारे एक सेसनमा अमेरिका, फ्रान्स, जापान, माल्दिभ्स र सिंगापुरका फरेन सर्भिसमा रहेको र सेनाका विज्ञहरूबीच पनि छलफल हुनेछ।
इन्डो प्यासिफिक क्षेत्रमा ४० देश रहे पनि २७ भन्दा बढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ।