विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर : रास्वपा

हिमाल प्रेस ४ असोज २०८० १५:१९
82
SHARES
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना माग राख्न पाउने वैकल्पिक विधि हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न शिक्षकहरूलाई अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधि हुँदाहुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौँ।’

विद्यार्थीको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्दछ भन्ने पार्टीको धारणा रहेको जनाउँदै रास्वपाले शिक्षकहरुले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने नीति रहेको स्मरण गराएको छ।

शिक्षक जस्तो मर्यादित र अतिसम्मानित पेसालाई सरकारबाट कहिलै उचित व्यवहार नभएको रास्वपाको विज्ञप्तिमा उल्लेख छ। पार्टीले भनेको छ, ‘समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षौँसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरुलाई अन्योलमा राखिँदै आएको पाइन्छ।’

रास्वपाले शिक्षकको तलबसुविधा सबभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटकपटक आवाज उठाउँदै आएको पनि जनाएको छ। यस्तै शिक्षकहरुको पेसागत विकासका मागमा एकै ठाउँमा उभिन तयार रहेको पनि पार्टीले स्पष्ट पारेको छ।

पार्टीले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको पनि जनाएको छ। ‘सरोकारवाला र विज्ञहरुसँग परामर्श गरी रास्वपाले यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्नेछ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ असोज २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =