शिक्षकहरूलाई आन्दोलनको स्वरूप बदल्न कांग्रेस महामन्त्री थापाको आह्वान

हिमाल प्रेस ४ असोज २०८० ११:२७
166
SHARES
शिक्षकहरूलाई आन्दोलनको स्वरूप बदल्न कांग्रेस महामन्त्री थापाको आह्वान

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय बन्दजस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप बदल्न शिक्षक महासंघलगायत आन्दोलनरत पक्षलाई आह्वान गरेका छन्।

महामन्त्री थापाले बिहीबार एक अपिलमार्फत  यस्तो आह्वान गरेका हुन्। उनले भनेका छन्, ‘संसदमा आएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अगाडि बढाउन र रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न सबै पक्षमा हार्दिक अपिल गर्दछु।’

विधेयकको विरोधमा शिक्षकहरू विद्यालयमा पठनपाठन बन्द गरेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएपछि महामन्त्री थापाले यस्तो अपिल गरेका हुन्।

महामन्त्री थापाले शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर कानुन बनाउन पार्टी पूर्ण प्रतिबद्ध रहेको जनाएका छन्। साथै उनले आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायतका असहमत पक्ष र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको सम्बोधनका लागि सतत प्रयास र पहलकदमी रहने प्रतिबद्धता पनि थापाको छ।

प्रस्तावित विधेयक सरकारको मनसायको प्रस्ताव मात्र रहेको स्पष्ट पार्दै थापालेअब विधायकहरूले सबैको मनसायको कानुन बनाउने बताएका छन्। उनले भनेका छन्, ‘हामी सबै सरोकारवालाको कुरा सुन्छौँ। विधेयक ऐन बन्दा यसमा धेरै परिमार्जन संशोधन हुने नै छन्, संशोधन गर्नैपर्ने विषय छन्।’

पाँच दशकपछि बन्दै गरेको शिक्षा ऐन र संघीय संविधान बनेपछि त्यसअनुरूप बनाइने शिक्षा ऐनले विद्यालय शिक्षाको सन्दर्भमा अहिले भोगेका समस्या र चुनौतीको सम्बोधन गर्ने मात्रै होइन, यो पाँच दशकको अनुभवबाट सिकेर कम्तीमा अबको दुई दशकको समयलाई दिशानिर्देश गर्न सक्ने गरी परिकल्पना गरेर बनाउनुपर्नेमा पनि महामन्त्री थापाले जोड दिएका छन्।

उनले भनेका छन्, ‘ऐन बनाउँदा विद्यार्थी र विद्यार्थी गुणस्तरीय सिकाइलाई केन्द्रबिन्दुमा राख्नैपर्छ। शिक्षकको पेसालाई सम्मानित र मर्यादित बनाउनुपर्नेछ।’ साथै उनले शिक्षकहरूको न्याय, उत्प्रेरणा र आत्मसम्मानसँगै अब बन्ने शिक्षकका लागि आकर्षण, क्षमता र गुणस्तरको बाटो पनि मजबुत बनाउनुपर्ने आवश्यकता  औँल्याएका छन्।

‘शिक्षक देख्दा विद्यार्थी र समाजले गौरव गर्ने बनाउनुपर्छ भन्नेमा हामी प्रस्ट छौँ। विधेयकले निजी विद्यालयको नियमन अनि सामुदायिक विद्यालयको समुचित व्यवस्थापन र गुणस्तर अभिवृद्धिका लागि पनि स्पष्ट दिशानिर्देश गर्नुपर्नेछ। संविधानको मर्मलाई आत्मसात् गर्ने बनाउनुपर्नेछ। यी लगायत यावत् विषयमा हामी घनीभूत छलफल गर्नेछौँ’, महामन्त्री थापाले भनेका छन्।

प्रकाशित: ४ असोज २०८० ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =