आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस ४ असोज २०८० ६:४५
2
SHARE
आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ : प्रधानमन्त्री दाहाल

न्यूयोर्क- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन्।

उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गरे।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री दाहालले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)का प्रमुख प्रशासक सामन्था पावरले आयोजना गरेको ‘डेमोक्रेसी डेलिभर्स’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘नेपालको इतिहास नागरिकको संघर्ष र योगदानका आधारमा निर्मित छ, यस्तो संघर्ष स्वतन्त्रता, न्यायिक अधिकार, समानता र सशक्तीकरणका लागि भएको थियो।’

नेपालले २००७ सालमा सम्पन्न गरेको जहानियाँ राणाशासन र २०४६ सालको प्रजातन्त्रको लडाईंको स्मरण गर्दै उनले भने, ‘नेपालको इतिहास जहानियाँ शासनविरुद्धको आन्दोलन सन् १९५० देखि सुरु भएको हो । त्यो सन् १९९० मा थप सशक्तरूपमा देखापरेको थियो।’

प्रधानमन्त्री दाहालले नेपालमा १० वर्ष लामो सशस्त्र विद्रोह सन् १९९६ देखि २००६ सम्म जारी रहेको र नागरिकको भद्र आन्दोलन सन् २००६ मा सम्पन्न भएर राजाको प्रत्यक्ष शासनलाई अन्त्य गरेको बताए। ‘हामी प्रजातान्त्रिक र समावेशी संविधान २०७२ मा जारी गर्न सफल भएका छौँ। यो हाम्रा लागि कोसेढुंगा सावित भएको छ’, उने भने।

प्रधानमन्त्री दाहालले २०७२ सालको संविधानले आवधिक निर्वाचन, शक्ति पृथकीकरण, सन्तुलित समाज, स्वतन्त्र न्यायपालिका, मानवअधिकारको संरक्षण र सम्वर्द्धन तथा नागरिकका मूलभूत अधिकारजस्ता विषय निर्दिष्ट गरेको स्पष्ट पारे।

प्रकाशित: ४ असोज २०८० ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =