संविधान कार्यान्वयनमा विलम्ब नगर्न मुख्यमन्त्री चौधरीको आग्रह

हिमाल प्रेस ३ असोज २०८० १९:३८
4
SHARES
संविधान कार्यान्वयनमा विलम्ब नगर्न मुख्यमन्त्री चौधरीको आग्रह

भालुबाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधान कार्यान्वयनमा ढिला नगर्न आग्रह गर्दै अक्षरस पालना गर्न आग्रह गरेका छन्। संविधान दिवसको अवसरमा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सबै दलको अथक प्रयासपछि संविधान जारी भएको समेत बताए। उनले संविधान जारी गर्दा दलहरूमा गति देखिए पनि संविधान कार्यान्वयनमा चुकेको हुनसक्ने बताए।

उनले भने, ‘हामी संविधान कार्यान्वयनमा चुकेका त छैनौँ, ढिला गरेका त छैनौँ। आज संविधान दिवसमा अवसरमा सबै दलका नेताहरूलाई म अनुरोध गर्न चाहन्छु। ढिला नगरी संविधान कार्यान्वयन गरौँ। अक्षर अक्षर पालना गरौँ।’

यस्तै उनले संविधानमा जे लेखिएको छ‚ त्यो पालना गर्न र गराउनतर्फ लाग्न समेत आग्रह गरे। संविधानको सबैभन्दा ठूलो मर्म र भावना संघीयता भएको उनको कथन छ। यहाँ बोल्ने भाषा, यहाँ बस्ने नागरिक र हिमाल, पहाड, तराईलाई कसरी समायोजन गर्ने? हरेकको बोली र व्यवहारलाई कसरी संघीयतासँग जोड्ने भनेर संविधान जारी गर्ने वेला त्यो परिकल्पना गरेको समेत उनको भनाइ छ। संघीयता भनेका ३ वटा कुरा भएको भन्दै उनले पहिलो कुरा प्रतिस्पर्धा रहेको समेत बताए।

उनले भने, ‘म लुम्बिनीको मुख्यमन्त्री हुँ। अरू प्रदेशमा पनि अरू मुख्यमन्त्री हुनुहुन्छ। हामीबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने हो? कसले कुन प्रदेशमा राम्रो गर्छ भन्ने कुरा नेतृत्वमा प्रतिस्पर्धा हुनुपर्छ।’​

यसैगरी हिजोको केन्द्रीय शासनभन्दा जनताले के पाए भन्ने संविधान र संघीयताले परिकल्पना गरेको पनि उनको भनाइ छ। उनले भने, ‘केन्द्रीय सरकार केही कुरामा लडिरहन्छ, भने प्रदेश सरकारले विकासको गति रोक्नु हुन्न भन्ने संघीयताको मूल मर्म र भावना हो?’ उनले लुम्बिनी प्रदेशमा विभिन्न जातजाति रहेको उल्लेख गर्दै उनले भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने, सबै खाले विभेद अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको बताए।

यस्तै संविधानले दिएको अधिकार चाँडै दिन समेत उनले आग्रह गरेका छन्। संविधानमा लेखेको कुरा दिन कन्जुस्याइँ भएको भन्दै उनले संविधान र संघीयता फेल भएमा केन्द्रको कारणले फेल हुने उनको भनाइ छ।

संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने समेत बताए।

प्रकाशित: ३ असोज २०८० १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =