देउवालाई भेटेर शेखरले भने : तपाईं सच्चिनु भएन जे गर्न मन छ गर्नुस्, हामी अघि बढ्छौँ

हिमाल प्रेस ३ असोज २०८० १५:२०
22
SHARES
देउवालाई भेटेर शेखरले भने : तपाईं सच्चिनु भएन जे गर्न मन छ गर्नुस्, हामी अघि बढ्छौँ

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार इतर समूहका नेताहरूसँग बैठक गरेका कोइरालले  आज सभापति देउवालाई भेटेर देउवालाई सचेत गराएका हुन्।

कानुनमन्त्री धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर कोइराला देउवालाई भेट्न धुम्बाराही पुगेका थिए। उनले पार्टी सञ्चालनदेखि सभापति भएपछि गरेका कामहरूको बारेमा असन्तुष्टि व्यक्त गरे। यसरी पार्टी अघि नबढ्ने भन्दै उनले सच्चिन आग्रह गरेका थिए। कोइरालाले कोशी प्रदेश, केन्द्रको सरकार सञ्चालनदेखि भातृ संगठन र अन्य निर्णयमा असन्तुष्टि राखेको उनीसँगै भेटमा सहभागी एक नेताले बताए।

बुधबार बिहान ११ बजे देउवा र कोइरालाबीच करिब ४५ मिनेट कुराकानी भएको र दुवै खरो रुपमा प्रस्तुत भएको ती नेताले बताए। नेता कोइरालाले पार्टी सञ्चालनका क्रममा सभापतिले निरन्तर एकलौटी रुपमा निर्णय गर्दै जाँदा आफूहरू मौन भएर बसेकै कारण कमजोरी नसम्झन पनि अनुरोध गरेका थिए।

‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरीत कार्य गर्दै आउनुभयो। अहिले पनि यो कुरा रोकिएन,’ कोइरालाले भने ‘यस्ता निर्णय गर्दा न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग सोधिन्छ। तपाईंको निर्णयले पार्टीभित्र सबैलाई समान र न्यायोचित वितरण हुन सक्दैन,’ कोइरालाको भनाइ उद्धृत गर्दै ती नेतााले बताए। उनले अहिले सभापतिको एकल निर्णयले पनि राष्ट्रिय राजनीतिमा पार्टीलाई नोक्सान भइरहेको बताएका थिए। उनले सरकार सञ्चालनका क्रममा माओवादीले एकपछि अर्को गल्ती गर्ने तर त्यसको बचाउ र अपजस नेपाली कांग्रेसले बोकेर जवाफ दिँदै हिँड्नु परेको बताए।

नेता कोइरालाले सरकारमा पठाउने मन्त्रीहरूको चयनमा पनि छलफल नगरिएको र मन्त्री भएपछि थाहा पाउनुपर्ने गुनासो आउनु गलत भएको बताएका थिए। त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत भएका कारण सरकार गुमाउनु परेको बताएका थिए।

कोशीमा असंवैधानिका कार्य हुदाँ अदालतले समेत उल्टाउने कार्य हुनाले कांग्रेसमा क्षति भएको र यसको जिम्मेवारी सभापतिले लिनुपर्ने भनाइ उनले राखेको ती नेताले बताए। आगामी दिन सरकारमा फर्कनका लागि संवैधानिक बाटो र सही निर्णय लिनुपर्ने सुझाव कोइरालाले दिएका थिए। यसैगरी उनले भ्रातृ संस्थाहरूको गठन र विस्तारमा समेत परामर्श नगरिएको भन्दै गुनासो गरे।

‘तपाईंले गलत गर्दा मैले यसअघि पनि सच्चिएर अघि बढ्न भनेको हुँ। तर तपाईं रोकिनुभएन,’ भेटमा कोइरालाले भनेका थिए, ‘यदि तपाईं नसच्चिने हो भने भन्नूस्, जे गर्न मन लाग्छ, त्यही गर्नुस्।’

कोइरालाको आक्रोशपछि देउवाले उनलाई सम्झाउन खोजेका थिए। देउवाले सबैलाई मिलाएर लान अहिले पनि आफू तयार रहेको र लैजाने आश्वासन पनि दिएका थिए। तर कोइरालले नेपाल विद्यार्थी संघ र तरुण दलमा आफूहरूसँग पनि नाम मागिएको र दिएको तर एकलौटी रुपमा विधान विपरीत जम्बो समूह किन बनाइयो भनी प्रश्न गरेका थिए। कोइरालाले पार्टीभित्र सबैलाई मिलाएर नलैजाने भए आफ्नो सुरले अघि बढ्न र आफूहरू पनि आफ्नो हिसाबले अघि बढ्ने चेतावनी दिएका थिए।

‘यसअघि पनि तपाईंलाई हामीले भनेकै हौँ। अब तपाईं आफ्नो रुपमा अघि बढ्नूहोस्, हामी हाम्रै रुपमा अघि बढ्छौ ’ कोइरालले देउवालाई आफ्नो गुटको अन्तिम सन्देश सुनाएको भेटमा सहभागी एक नेताले बताए।

कोइराला आफ्नो कुरा राखेर धुम्बाराहीवाट निस्केका थिए। ०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा कोइराला देउवासँग दोस्रो चरणमा पुगेर पराजित भएका थिए। देउवाले त्यसबेला नेतृत्वमा आफू अन्तिम पटक रहने भन्दै सभापतिमा भोट मागेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =