अभियानमा योगदान पुर्‍याएकालाई सम्मान गर्दै अर्बुद रोग निवारण संस्थाले मनायो वार्षिकोत्सव

हिमाल प्रेस १ असोज २०८० १३:४८
6
SHARES
अभियानमा योगदान पुर्‍याएकालाई सम्मान गर्दै अर्बुद रोग निवारण संस्थाले मनायो वार्षिकोत्सव

काठमाडौँ- नेपाल अर्बुद रोग निवारण संस्थाले ४१ औँ वार्षिकोत्सव मनाएको छ। राजधानीमा आज एक कार्यक्रम आयोजना गरी संस्थाले क्यान्सर विरुद्धको अभियानमा योगदान पुर्‍याएका दर्जनौ संघसंस्थालाई पुरस्कृत गरी आफ्नो वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा सांसद तेजुलाल चौधरीले सुर्तीजन्य पदार्थमा लगाइने कर वृद्धि नगरिएको प्रति असन्तुष्टी प्रकट गर्दै सरकार क्यान्सर रोग निवारणमा गम्भिर नभएको जिकिर गरे। सांसद चौधरीले सरकार नै सक्रिय नभएसम्म क्यान्सर रोग रोकथाम र उपचारमा गैरसरकारी संस्थाहरुको प्रयास पर्याप्त हुन नसक्ने तर्फ ध्यानकर्षण गराए।

उनले नेपाल अर्वुद रोग निवारण संस्थाले गरेको कामको प्रशंसा गर्नुका साथै आगामी दिनमा पनि प्रभावकारी कार्यक्रम गरे सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगका कारण विकसित राष्ट्रको तुलनामा विकासोन्मुख र अविकसित राष्ट्र्रहरुमा मृत्युदर विकराल रहेको बताउँदै यसको रोकथामका लागि अब ढिला गर्न नहुने बताए।

भक्तपुर क्यान्सर अस्पताको स्थापना र सफल सञ्चालन गरिसकेको प्रसंग उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निकट भविष्यमा अन्तराष्ट्रिय स्तरको क्यान्सर डायग्नोष्टिक सेण्टर स्थापना गर्न लागेको बताए।

अध्यक्ष श्रेष्ठले यो संस्थाले देशमा विकराल रूपमा विस्तार भइरहेको क्यान्सर रोगको रोकथामकालागि सचेतनामूलक कार्यक्रमका साथै क्यान्सर रोगीहरुको उपचारात्मक कार्यकालागि सहयोग पुर्‍याइरहेको दाबी गरे।

उनले राष्ट्रियस्तरको गैर नाफामूलक सामाजिक संस्थाका रूपमा स्थापित यस नेपाल अर्बुद रोग निवारण संस्थाले सातै प्रदेशसरकार र स्थानिय स्वास्थ्य सेवा प्रदायक र पालिकाको समन्वयमा जनचेतना जागरण र क्यान्सर रोगिको उपचार दुवैमा सहयोग पुर्‍याउँदै आएको जानकारी दिए।

नेपाल अर्वुद रोग निवारण संस्थाका महासचिव दिपेन्द्र बान्तवाले क्यान्सर सम्वन्धी काम गर्ने जेठो संस्था भएकाले अवका दिनमा क्यान्सर विरुद्धका अभियानमा लागेका सबै संघसंस्थाहरुसग सहकार्य गरी अघि बढ्ने बताए।

कार्यक्रममा क्यान्सर सर्भाइवर गायिका देविका बन्दना, नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष नवराज खतिवडा, भरतपुर क्यान्सर अस्पतालका पुर्व अध्यक्ष प्रकाशराज न्यौपाने लगायतले क्यान्सर रोग नियन्त्रण र उपचारका लागि लिनुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए।

संस्थाको वार्षिकोत्सवको अवसरमा एक दिन अघि मात्रै क्यान्सर रोग विरुद्ध सचेतना र क्यान्सर डायग्नोष्टिक सेण्टर स्थापनार्थ कोष संकलनका लागि बृहत पदयात्राको आयोजना गरिएको थियो । कार्यक्रममा सेरो ल्याव, यतिकेम, प्रसिडेण्ट टुर्स एण्ड ट्राभल, शुभगुरु सुनचादी पसल, इभेण्ट सोलुसन लगायतका विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान र पुरस्कृत गरिएको थियो।

प्रकाशित: १ असोज २०८० १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =