बजेट अभावले रोकियो पदक

हिमाल प्रेस १ असोज २०८० ७:१९
6
SHARES
बजेट अभावले रोकियो पदक

काठमाडौँ- समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण नहुने भएको छ।

शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण वितरण गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालबाट विद्याभूषण वितरण कार्य रोकेको थियो।

समयमा र पर्याप्त बजेट उपलब्ध हुन नसक्दा वितरण सम्भव नभएको मन्त्रालयको भनाइ छ। शिक्षा सचिव सुरेश अधिकारीले बजेट घोषणा गत साउनमा भएको र बजेट उपलब्ध भदौमा भएको भन्दै थपे, ‘भर्खरै बजेट उपलब्ध भएको छ। तयार गर्ने संस्थासँग सम्पर्क गर्दा कम्तीमा तीन महिनामा विद्याभूषणका पदक तयार गर्न सकिने जानकारी दिए। विद्याभूषण तयार हुन नसक्दा वितरण सम्भव नभएको हो।’ विगतदेखि नै ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयले विद्याभूषण पदक तयार गर्ने गरेको थियो।

यस पटक पदक वितरण गर्न आवेदन आह्वान गरिएको थियो। जम्मा एक हजार ७९ जनाले आवेदन दिएकामा छानबिनपछि ९६२ जनालाई प्रदान गर्न सिफारिस भएको थियो। पदक तयार हुन नसक्दा यस पटक राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचारिक कार्यक्रमको आयोजना नहुने भएको छ।

‘पछि कुनै उपयुक्त दिन तय गरेर विद्याभूषण प्रदान गर्ने छौँ,’ शिक्षा सचिव अधिकारीले भने । उनका अनुसार विद्याभूषण पदकका लागि चार करोड रुपैयाँ प्राप्त भएको छ। त्यसमध्ये करिब ६० लाख रुपैयाँ शिक्षा दिवसको औपचारिक कार्यक्रम र शिक्षण संस्थालाई पुरस्कृत गर्दा खर्च हुने भन्दै उनले विद्याभूषण तयार गर्न अझै एक करोड रुपियाँ अपुग हुने बताए ।

शिक्षा दिवसमा देशका सर्वोत्कृष्ट विद्यालय तथा क्याम्पसलाई पुरस्कृत गरिने भएको छ। सामुदायिक र निजी विद्यालयतर्फ सर्वोत्कृष्ट तीनरतीन वटा विद्यालयलाई पुरस्कृत गरिने छ। पहिलो हुनेलाई तीन लाख रुपियाँ, दोस्रो हुनेलाई दुई लाख रुपैयाँ र तेस्रो हुनेलाई एक लाख रुपैयाँ तथा तीन वटैलाई सिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै प्राविधिक शिक्षातर्फका चार वटा शिक्षण संस्था र सर्वोत्कृष्ट तीन वटा क्याम्पसलाई पुरस्कृत गरिने छ।

प्रकाशित: १ असोज २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =