नाडा : पर्दापछाडिको प्रशिक्षक

हिमाल प्रेस ३१ भदौ २०८० २०:०१
692
SHARES
नाडा : पर्दापछाडिको प्रशिक्षक

विश्व फुटबलमा ज्लाटान इब्राहिमोभिचका अनेकौँ किस्सा छन्। उनले ठट्टा गरिरहेको भिडियो इन्टरनेटमा छरपस्ट छन्। उनलाई घमण्डी मान्नेको संख्या पनि कम छैन। जति जनाले उनलाई घमण्डी मान्छन्, त्यतिले नै उनलाई हृदय सफा भएको खेलाडी मान्छन्। लागेको कुरा फ्याट्ट भन्दिने।

मैदानबाहिर ज्लाटान कस्ता थिए? जवाफ फरकफरक आउँछ। तर मैदानभित्रको ज्लाटान नि? यसको चाहिँ जवाफ एउटै आउँछ, ज्लाटान विश्वस्तरीय खेलाडी थिए। आधुनिक फुटबलमा टिक्न उनीसँग पर्याप्त कौशल थिए। योबाहेक बलिष्ठ शरीर पनि। तब त उनी २० वर्षभन्दा बढी खेले। त्यो पनि युरोपेली क्लब फुटबल।

१८ वर्षको हुँदा आयाक्स पुगिसकेका ज्लाटन ४१ वर्ष पुग्दा एसी मिलानमा थिए। उनले गत सिजन संन्यास लिए। आफ्नो करियरमा ज्लाटानले धेरै उपाधि जिते। उनको नाममा कैयौँ कीर्तिमान छन्। तीमध्येको एउटा कीर्तिमान हो, सबैभन्दा पाको उमेरमा इटालेली सिरी ए मा गोल गर्ने।

गत मार्चमा ज्लाटानले उडिनेसेविरुद्ध गोल गरेका थिए। त्यसबेला उनको उमेर थियो ४१ वर्ष १६६ दिन। ज्लाटानले त्यत्तिको पाको उमेरसम्म कसरी खेल्न सके? सबैले थाहा पाएको कारण हो, फिट्नेस। तर ४० कट्दा पनि सिरी ए जत्तिको बलियो लिग खेल्न सक्ने गरी आफूलाई कसरी फिट राख्न सके? यसबारे भने कमैलाई जानकारी छ।

ज्लाटानको फिटनेसबारे कैयौँ किस्सा छन्। कुरा यी स्विडिस फरवार्ड पेरिस सेन्ट जर्मेन (पीएसजी) मा छँदाको हो। उनी र क्लबका सेफहरूबीच झगडा पर्‍यो। ट्रेनिङ सकिएपछि पुग्दो फलफूल उपलब्ध नभएको भन्दै उनले ती दुई सेफलाई झपारे।

ज्लाटानको गाली खाएका सेफहरूले क्याटरिङमा सीमित बजेट भएका कारण फलफूल पनि सीमित मात्र ल्याउन पाएको जवाफ दिएका थिए। यस्तो जवाफले समस्या किन सुल्झिन्थ्यो र? अनि ज्लाटानको चित्त पनि किन बुझ्थ्यो र? आखिरमा पीएसजीले आफ्ना दुई सेफलाई बर्खास्त गरिदियो। क्याटरिङको बजेट बढ्यो, भनेजति फलफूल पनि उपलब्ध हुन थाल्यो।

ज्लाटानसम्बन्धी अर्को रोचक तथ्य – ज्लाटान जुन क्लबसँग आबद्ध हुन्थे, त्यहाँ आफ्नै फिजियो लिएर जान्थे। ती फिजियो थिए, डारियो फोर्ट। जो ज्लाटानका फिटनेस एन्ड कन्डिसनिङ कोच पनि थिए।

खासमा ज्लाटान र फोर्ट मिल्ने साथी हुन्। ज्लाटानले फोर्टलाई भेटेको सन् २०१० मा हो। दोस्ती तब सुरु भयो जब ज्लाटान बार्सिलोनाबाट मिलान पुगेका पुगे। त्यसबेला फोर्ट मिलानको एकेडेमीमा फिजियो थिए।

दोस्ती यति बढ्यो कि फोर्ट ज्लाटानको ‘पर्सनल फिजियो एन्ड फिट्नेस, कन्डिसनिङ कोच’ नै बने। ज्लाटान पीएसजी जाँदा फोर्ट पनि उतै गए। ज्लाटान जब म्यानचेस्टर युनाइटेडसँग आबद्ध भए, फोर्ट पनि सँगसँगै इंग्ल्यान्ड झरे।

०००

ओलम्पिक भारोत्तोलनमा भारतले हालसम्म जितेको पदक संख्या दुई हो। दुवै पदक महिला खेलाडीले जितेका हुन्। ती खेलाडी हुन्, कर्नाम मल्लेस्वरी र मिराबाई चानु। मल्लेस्वरीले सिड्नीमा कांस्य र चानुले टोकियोमा रजत जितेका थिए।

ओलम्पिकमा चानुको सफलताको मुख्य कारण अवश्य पनि उनको आफ्नो मेहनत हो। तर त्यसबाहेक अरू थुप्रै कारण पनि छन्, जसले उनलाई पदकधारी बनाएको हो। तीमध्येको एउटा कारण हुन्, आरोन हार्सिग। अमेरिकी फिजियो, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच हार्सिग आफैँ पनि कुनै समयका वेटलिफ्टर हुन्।

कोभिड-१९ महामारीका बेला चानु पनि अरू खेलाडीजस्तै लामो समय घरमै बसिन्। अभ्यास सुरु हुने बेला हुनै लागेको थियो, एक्कासि ढाड र काँधमा दुखाइ सुरु भयो। त्यसपछि उनलाई उनका प्रशिक्षक विजय शर्माले अमेरिका लगे, हार्सिगसँग अभ्यास गराउन। हार्सिगले उनको समस्या पत्ता लगाएर रिह्याब मात्र गराएनन्, लामो समय स्ट्रेन्थ ट्रेनिङ पनि गराए। फलतः उनले ओलम्पिकमा पद हात पारिन्।

‘उनको सोल्डर ब्लेड ठिक ठाउँमा थिएन। जसकारण उनलाई हात घुमाउन गाह्रो हुने गर्थ्यो। यसो भएपछि दुखाइ हुने नै भयो। उनको ढाड दुख्नुको कारणचाहिँ ग्लुट्स आवश्यकभन्दा बढी सक्रिय भएर हो। यी समस्यालाई समाधान गर्न हामीले विशेष अभ्यास गरेका थियौँ,’ चानुले ओलम्पिकमा पदक जितेपछि हार्सिगले भनेका थिए। अमेरिकी सहर सेन्ट लुइसमा रहेको होर्सिगको एकेडेमीमा चानुको दुखाइ त निको भयो नै, स्ट्रेन्थ एन्ड कन्डिसनिङ अभ्यासपछि उनी शारीरिक रूपमा झन् बलियो पनि भइन्।

अहिले पनि चानु हार्सिगको कन्डिसनिङ एन्ड स्ट्रेन्थ ट्रेनिङ क्याम्पमा छिन्। भारतीय भारोत्तोलन संघले हार्सिगको प्रशिक्षणमा राखेको यो क्याम्पमा चानु मात्र होइन अन्य सात खेलाडी पनि छन्। यी सबैको उद्देश्य पेरिस ओलम्पिकमा छनोटअघि शारिरीक रूपमा झन् बलियो बन्नु हो। ओलम्पिकका लागि छनोट प्रतियोगिता मानिने वर्ल्ड च्याम्पियनसिप आउँदो डिसेम्बरमा कोलम्बियामा हुँदैछ।

०००

विश्व खेलकुदमा सफल मानिएका खेलाडीहरू फिट्नेसलाई लिएर कति संवेदनशील हुन्छन् भन्ने उदाहरण हुन्, ज्लाटान र चानु। यी  दुई उदाहरणले एउटा खेलाडीका लागि स्ट्रेन्थ एन्ड कन्डिसनिङ ट्रेनिङ कति महत्त्वपूर्ण छ भनेर पनि प्रस्ट पार्छन्।

अब कुरा नेपालको। दक्षिण एसियामा खेलकुद पूर्वाधारमा सम्भवतः सर्वाधिक कमजोर देश नेपाल हो। फुटबलकै लागि गतिलो रंगशाला छैन। फुटबल नियामक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग भएको पूर्वाधार त्यही एन्फा कम्पलेक्स हो। जहाँ दशक पुरानो कृत्रिम मैदान छ।

नेपालमा सर्वाधिक लोकप्रिय खेल बन्ने दौडमा रहेको क्रिकेटका लागि पनि औसत स्तरको पूर्वाधार छैन। एसिया कप खेलेर फर्किएपछि धेरै नेपाली खेलाडीको भनाइ यही थियो- पूर्वाधार भए हामी अझ राम्रो गर्न सक्छौँ। हालका लागि खेल्न, अभ्यास गर्न, ट्रेनिङ क्याम्प राख्न, सबै कुराका लागि उपलब्ध पूर्वाधार त्रिवि मैदान नै हो।

उता राष्ट्रिय खेल भलिबलले कभर्ड हल खाजेको वर्षौँ भयो। नेपाल भलिबल संघले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नुपरे दशरथ रंगशालाको थोत्रो कभर्ड हल एकमात्र विकल्प हो। ट्रयाक एन्ड फिल्ड, मार्सियल आर्ट्सलगायतका खेलका लागि पनि विकल्प उही दशरथ रंगशाला, त्यहीँको कभर्ड हल हो।

भौतिक पूर्वाधार नभएर रन्थनिएको नेपाली खेलकुदले खेलकुदका अन्य पक्षको आवश्यकता महसुस गर्ने समय पाएकै छैन। गरेकै भए पनि जवाफ तयार छ, ‘बजेट अभाव’।

यस्तोमा ‘स्ट्रेन्थ एन्ड कन्डिसनिङ ट्रेनिङ’ का लागि जनशक्ति उत्पादन र पूर्वाधारतर्फ सरकारी लगानी छैन भन्दा फरक पर्दैन। यद्यपि निजी क्षेत्रबाट भने केही प्रयास हुन थालेको छ। त्यसको उदाहरण हो- नाडा पर्फमेन्स एन्ड रिह्याबिलिटेसन सेन्टर।

०००

अमेरिकामा पढाइ र केही क्लबमा काम गरेर नेपाल फर्किएका हुन्, विवेक विक्रान्त अधिकारी। जो आफूलाई एथ्लेटिक ट्रेनर, पर्फमेन्स कोच र फिजियोथेरपिस्टका रूपमा चिनाउँछन्। सन् २०१७ मा नेपाल फर्किएका उनी करिब दुई वर्ष एन्फासँग आबद्ध रहे। राष्ट्रिय पुरुष तथा महिला टिमका लागि काम गरे।

उनै विवेकले सन् २०२१ मा नाडा पर्फर्मेन्स एन्ड रिह्याबिलिटेसन सेन्टर स्थापना गरे। जसको उद्देश्य थियो- खेलाडीहरूको रिह्याबमा सहयोग गर्ने। अनि उनीहरूको प्रदर्शनलाई सुदृढ गर्न शारीरिक रूपमा बलियो बनाउने, मतलब ‘पर्फर्मेन्स इन्हान्समेन्ट’।

काठमाडौँको गैह्रीधारामा सानो क्षेत्रफलमा रहेको नाडाको आकार अब तन्किएको छ। सेन्टरको क्षेत्रफल बढेसँगै सुविधा र सेवा पनि थपिएका छन्। नाडा नेपालको पहिलो पर्फमेन्स एन्ड रिह्याबिलिटेसन सेन्टर भएको विवेकको भनाइ छ। नयाँ पूर्वाधारबाट खेलकुदमा लागेकालाई मात्र होइन अन्यलाई पनि सेवा पुर्‍याउने योजना नाडाको छ।

नाडाले विशेष गरी चार पक्षमा काम गर्नेछ। ती हुन्, इन्जुरी प्रिभेन्सन, इन्जुरी ट्रिटमेन्ट, रिह्याबिलिटेसन र पर्फमेन्स इन्हान्समेन्ट। यसको मतलब यही हो, खेलाडीलाई घाइते हुनबाट बचाउन आवश्यक तयारी गर्ने, घाइते भए शारिरीक अभ्यास गराएर निको बनाउने, शल्यक्रिया गराएका खेलाडीलाई रिह्याब गराउने र खेलाडीलाई शारीरिक रूपमा बलियो बनाउन अभ्यास गराउने, ताकि उनीहरूको प्रदर्शनमा निखारियोस्।

यी सबै काम गर्नका लागि फिजियाथेरापिस्टको त आवश्यक पर्छ नै, फिट्नेस, स्ट्रेन्थ, कन्डिसनिङ र पर्फमेन्स प्रशिक्षकको पनि आवश्यकता पर्छ। यी सबैको व्यवस्था नाडाले गरेको छ।

‘हामीले विगतमा पनि एसीएल (घुँडाको डरलाग्दो चोट) भएका खेलाडीलाई नौ महिनाभित्र मैदान फर्कन सक्ने बनाएका उदाहरण छन्। यसबाहेक अरू चोट भएका खेलाडीलाई निको पार्ने समार्थ्य थप विकास भएको छ,’ नाडाको रिह्याब क्षमताबारे विवेक भन्छन्।

विवेकले उल्लेख गरेको पर्फमेन्स इन्हान्समेन्ट विश्व खेलकुदमा नयाँ अवधारणा होइन। खेल संस्कृति भएका देशमा यो अवधारणा पछ्याइन्छ। युरोपका नाम चलेका फुटबल लिगमा खेल्ने क्लबहरूले त यसका लागि प्रशिक्षकहरूको टोली नै राखेका हुन्छन्। जसमा फिट्नेस एन्ड कन्डिसनिङ, फिट्नेस, पर्फमेन्स रिह्याब प्रशिक्षकहरूसँगै फिजियोथेरापिस्ट, प्रिभेन्सन थेरापिस्ट हुन्छन्।

‘एउटा खेलाडीलाई थप बलियो प्रदर्शन गर्न सघाउने काम पर्फर्मेन्स कोचको हो। सघाउने भनेको उसलाई शारीरिक रूपमा बलियो बनाउने हो,’ विवेक प्रस्ट्याउँछन्।

सामान्य भाषामा भन्दा स्ट्रेन्थ एन्ड कन्डिसनिङअन्तर्गत यस्ता शारीरिक अभ्यास हुन्छन्, जसले खेलाडीको शरीरको सबै अंग समान रूपमा बलियो बनाउँछन्। खेलाडीमा मानसिक स्फूर्ति ल्याउँछन्। शरीरको मोबिलिटी र सामर्थ्य बढाउनमा पनि यी अभ्यासले मद्दत गर्छन्। फुटबलरलाई तीव्र गतिमा, त्यो पनि लामो समयसम्म, सकभर उही गतिमा, खेल्न सक्ने बनाउने जिम्मा स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षकको हो।

खेलाडीको कमजोर पक्ष पहिचान गर्ने, कमजोर पक्षलाई सुदृढ गर्न सही अभ्यास चुन्ने, खेलाडीको लक्ष्य अनुसारको योजना बनाउने काम चाहिँ पर्फमेन्स प्रशिक्षकको हो।

यस्ता प्रशिक्षण र प्रशिक्षकको अभावकै कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी शारिरीक रूपमा कमजोर देखिने गरेको बुझाइ छ विक्रान्तको। ‘खेल कौशलमा नेपाली र विदेशी खेलाडीबीच खासै फरक हुँदैन। तर शारीरिक रूपमा हामी कमजोर देखिन्छौँ। किनभने हामीले खेलाडीलाई थप बलियो बनाउने काम नै गरेका हुँदैनौँ। बलियो बनाउने भनेको खाली खेल अभ्यास गराउने मात्र होइन,’ विक्रान्तको भनाइ छ।

‘कुनै फुटबलर कौशलले भरिपूर्ण हुन्छ तर उसको बल प्रहार गर्ने क्षमता (सुटिङ) कमजोर हुन्छ। कुनै ब्याट्सम्यान प्राविधिक रूपमा अब्बल होला। तर ब्याटिङ गर्दा पाउरफुल सट प्रहार गर्न नसक्ने हुन सक्छ,’ विवेक उदाहरण पेस गर्छन्, ‘यी खेलाडीको कमजोर पक्षमा सुधार ल्याउन सकिन्छ। त्यसका लागि निश्चित पद्धति पालना गर्नुपर्छ, त्यहीअनुसारको अभ्यास गराउनुपर्छ। तर नेपालमा यस्तो अभ्यास पालना गर्ने चलन बसेको छैन।’

आधुनिक विश्व खेलकुद पूर्ण रूपमा विज्ञानमा आधारित रहेको र निरन्तरमा नयाँनयाँ तथ्य पत्ता लागिरहने, परीक्षण भइरहने भए पनि नेपाल ती सबै कुराबाट पर रहेको दुखेसो पोख्छन्, विवेक।

‘अरू देशमा खेलाडी कुन पक्षमा कमजोर छ, पत्ता लगाइन्छ। त्यस पक्षमा बलियो बन्न अभ्यास पहिचान गरिहन्छ, अभ्यास गराइन्छ। नेपालमा त्यस्तो हुँदैन तब त हाम्रा विपक्षी टिमहरू हामीलाई छाडेर कहाँ पुगिसकेका हुन्छन्,’ विवेक भन्छन्।

खेलकुदको यो प्राविधिक पक्षमा काम गर्न सरकारी निकायबाटै पूर्वाधारमा लगानी हुनुपर्ने विवेकको भनाइ छ। ‘निजी क्षेत्रमै पनि कसैले यस्तो सेन्टर खोलोस् भन्ने मेरो चाहना थियो। संयोगवश म आफैँले सुरु गरेँ,’ विक्रान्त प्रसन्नता व्यक्त गर्छन्, ‘मैले यहाँ जे गर्ने कोसिस गरिरहेको छु। यसमा कोही जोडिन चाहन्छ भने म स्वागत गर्छु। विदेशमा यही विषय पढेकाहरू नेपाल फर्किएर काम गर्न चाहन्छन् भने पनि म मञ्च प्रदान गर्न सक्छु।’

उसो त नेपाली खेलकुदले पर्फमेन्स प्रशिक्षकको आवश्यकता अझैँ बुझ्न सकेको छैन। यस विषयमा खेलकुद वृत्तमा चेतना बढाउन आवश्यक रहेको ठान्छन् विवेक। चेतना फैलाउन प्रयास गर्ने योजना नाडाको पनि छ। ‘वर्कसप, सेमिनार गर्ने तयारी छ। जसमा खेलाडी, प्रशिक्षक, क्लब पदाधिकारी, संघका पदाधिकारीलाई निम्तो दिइनेछ,’ विवेक योजना सुनाउँछन्।

०००

गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा दुई क्लबसँग आबद्ध थियो नाडा। एफसी खुमलटारसँग सिजनको बीचमै सहकार्य टुटे पनि संकटा क्लबसँग भने पूरै सिजन नाडाले काम गर्‍यो। त्यसअघि सी डिभिजन क्वालिफायर्समा सुनाकोठी एफसीसँग पनि नाडा जोडिएको थियो।

आफूहरू आबद्ध हुन्जेल खुमलटार र संकटामा खेलाडी कमै मात्रामा घाइते भएको जिकिर गर्छन्, नाडाका संस्थापक विवेक। अब केही समयपछि सुरु हुने नेपाल सुपर लिगका केही क्लबसँग पनि सहकार्य गर्न छलफल भइरहेको विवेक सुनाउँछन्।

आधुनिक फुटबल परिवर्तनशील छ। जति नयाँ प्रशिक्षक विश्व फुटबलमा भित्रिन्छन्, त्यति नै नयाँनयाँ खेलशैली प्रयोग हुन्छन्। हरेक शैलीको केही समानता भने छन्। ती सबै शैलीका लागि तीव्र गतिमा खेल्न सक्ने शारीरिक रूपमा बलिया खेलाडी चाहिन्छ। बुन्डेसलिगाको प्रेसिङ फुटबल होस् वा एट्लेटिको म्याड्रिडमा देखिने काउन्टर अट्याक, आवश्यकता शारीरिक रूपमा बलिया खेलाडीकै हुन्छ।

गत सिजनको ए डिभिजन लिगमा पनि अधिकांश क्लबले तीव्र गतिमा खेल्ने प्रयास गरे। ट्रान्जिसन र काउन्टर अट्याकमा गोल गर्ने शैली क्लबहरूले अपनाए। तर लिग अघि बढ्दै गर्दा खेलाडीहरूको फिट्नेसमा ह्रास आउँदै गयो। यसको मुख्य कारण थियो- आरामको अभाव। पहिलेभन्दा बढी खेल त्यो पनि दुई वा तीन दिनको फरकमा, यसो भएपछि खेलाडी स्वाभाविक रूपमा बढी थाके।

तर त्यति हुँदाहुँदै पनि सही खाना (न्युट्रिसन) र ‘रिकभरी प्लान’ भएको भए खेलाडीलाई तयार पार्न सकिन्थ्यो। यसरी सही खाना र रिकभरी प्लान बनाउन पनि विवेकहरू जस्तै प्राविधिक जनशक्ति चाहिन्छ।

के भनिन्छ भने अन्तर्राष्ट्रिय खेलमा आफूभन्दा बलिया विपक्षी सामना गर्दा नेपाली फुटबल खेलाडी चाँडै थाक्छन्। तर किन थाक्छन् भन्ने कारण खोजिँदैन। ‘खेलाडी चाँडै थाक्नु भनेको इन्डुरेन्स कम भएर हो। यसमा हर्थ रेटको पनि भूमिका हुन्छ। इन्डुरेन्स बढाउन हर्थ रेटलाई स्वस्थ बनाउन जरुरी हुन्छ। यसका लागि शारीरिक अभ्यास नै गर्ने हो। अभ्यास पहिचान गर्ने काम पर्फमेन्स प्रशिक्षकको हो,’ विवेक भन्छन्।

०००

खेलकुदमा लागेका बाहेकका लागि नाडासँग अवधारणा छ, हेल्थी एइजिङ। यसको उद्देश्य हो उमेर बढ्दै गएकाहरूलाई दुखाइबाट मुक्त गर्नु।

उमेर बढ्नु प्राकृतिक प्रक्रिया हो। उमेर बढ्दै जाँदा शरीर कमजोर हुन्छ। शरीर कमजोर हुँदा विभिन्न भागमा दुखाइ सुरु हुन्छन् नै।

‘उमेर त रोक्न सकिँदैन, तर दुखाइचाहिँ रोक्न सकिन्छ। यसका लागि हामीले सारेको अवधारणा हो, करेक्टिभ फङ्सनल स्ट्रेन्थ ट्रेनिङ,’ विवेक भन्छन्। यसअन्तर्गत शरीरको मुभमेन्ट र मोबिलिटीमा ध्यान दिइने उनको भनाइ छ।

‘अहिलेको जीवनशैलीमा हाम्रो मुभमेन्ट कम हुन्छ। शरीरले कमै श्रम गर्छ। यस्तो भएपछि मसल्स र जोइन्ट कमजोर बन्दै जान्छन्। जसले गर्दा विभिन्न भागमा दुखाइ सुरु हुन्छ,’ विवेक योजना सुनाउँछन्, ‘यसबाट मुक्ति पाउन फङ्सनल एक्सरसाइज गर्नुपर्छ। ती एक्सरसाइज हामी सिकाउँछौँ।’

‘यस्ता कतिपय एक्सरसाइज हामी गरिरहकै हुन्छौँ। तर ती एक्सरसाइज हुन् भन्ने हामीलाई थाहा हुँदैन। जस्तो कुर्सीबाट जुरुक्क उठ्नु स्क्वाट गरेजस्तै हो, भुइँबाट साना नानी उठाउनु डेडलिफ्ट हो। तर आफू उठ्दा वा उठाउँदा तरिका सही हुँदैन, त्यस्ता तरिका सिकाउन फङ्सनल एक्सरसाइजको अवधारणा ल्याएका हौँ,’ विवेक थप्छन्।

घुँडा, ढाड दुख्ने जस्ता समस्या लिएर डाक्टर कहाँ पुग्नेले प्राय: पाउने सुझाव हो, ‘शरीरको वजन घटाउनुपर्छ।’ तर वजन घटाउनु आफैँमा जटिल छ। वजन घटिहाले, स्थिर नरहन सक्छ।

उसो त विवेकको विचारमा दुखाइबाट मुक्ति पाउन वजन घटाउनैपर्छ भन्ने छैन। शरीरसँग आफ्नो वजन बोक्न सक्ने क्षमता विकास भए दुखाइ भाग्ने उनको जिकिर छ। ‘यसका लागि हामीले दैनिक अभ्यास गर्नुपर्छ। जसलाई हामीले करेक्टिभ फङ्सनङल स्ट्रेन्थ ट्रेनिङ भनेका हौँ,’ विवेक भन्छन्।

प्रकाशित: ३१ भदौ २०८० २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =