महासभामा सम्बोधनको पाँच दिनअघि नै अमेरिका पुग्दै प्रधानमन्त्री

हिमाल प्रेस ३० भदौ २०८० १९:१४
34
SHARES
महासभामा सम्बोधनको पाँच दिनअघि नै अमेरिका पुग्दै प्रधानमन्त्री संयुक्त राष्ट्रसंघकाे ७८ औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबार साँझ न्युयोर्क गएका छन्। उनी कार्यक्रम सुरु हुनुभन्दा ४ दिनअघि नै अमेरिका पुग्न लागेका हुन्। कार्यक्रमको औपचारिक सुरुवात आगामी बुधबार बिहान हुनेछ भने उनले बिहीबार सम्बोधन गर्नेछन्।

राष्ट्रसंघ महासभालाई कार्यकारी प्रमुख र परराष्ट्रमन्त्रीले ‘होलिडे’मा जाने थलो बनाएको भनेर आलोचना हुने गरेको छ। परराष्ट्रमन्त्री एनपी साउद न्युयोर्क पुगेको चार दिन भइसकेको छ। त्यहाँ उनकाे कुनै विशेष कार्यक्रम छैन। मन्त्री साउद सामान्य भेटघाट, भवनअघि तस्बिर खिच्न र नेपाली समुदाय भेट्नमा व्यस्त छन्। उनी अमेरिकातिर डुलिरहेको तस्बिर सामाजिक सञ्जालमा देख्न सकिन्छ।

सरकारले अनावश्यक रूपमा हुने विदेश भ्रमणमा अंकुश लगाउने र मितव्ययी बन्ने भन्दै आए पनि परराष्ट्र मन्त्रालयको हकमा यो लागू भएको देखिँदैन। सामान्य बैठकमा पनि ठूलै समूह पुग्ने चलन कायमै छ। महासभा पनि काठमाडौँबाट २८ तथा जेनेभा, भियना, डीसी र न्युयोर्कबाट समेत गरी ४३ जनाभन्दा बढी सहभागी हुनेछन्।

सञ्चारमाध्यममा जम्बो टोली लिएर प्रधानमन्त्री महासभामा जान लागेको विषयमा समाचार प्रकाशित भएपछि परराष्ट्र मन्त्रालय केही कटौती गर्न बाध्य भएको हो।

भ्रमण टोलीमा न्युयोर्कमा गएर कामै नहुने र घुम्नुका साथै त्यहाँको रमाइलो मात्र हेरेर फर्कने पनि सहभागी छन्। यसरी राज्य कोषको दुरुपयोग किन? भन्ने प्रश्नमा परराष्ट्र अधिकारीहरू महासभामा त जानपर्‍यो नि भनेर पन्छिने गरेका छन्। परराष्ट्र अधिकारीको उद्देश्य नै कामको नतिजाभन्दा घुमफिर गर्नु रहेको जानकारहरू बताउँछन्। यस विषयमा परराष्ट्रमन्त्री साउद पनि बोल्न चाहँदैनन्। सांसद पनि आफू न्युयोर्क जान नपाइएला भनेर बाेल्न डराउँछन्।

तीन महिनासम्म चल्ने महासभामा सांसदहरू पनि सहभागी भइरहनेछन्। भारतमा भएको जी २० मा नेपालबाट उपस्थित गराउन नसक्ने कूटनीतिक भूमिकामा रहेकाहरू सेड्युल समारोहमा भने सबै जना दौडिएर राज्य कोषको दुरुपयोग गरिरहेको  कूटनीतिज्ञहरूको बुझाइ छ।

एक पूर्वराजदूत भन्छन्, ‘एकै हैसियतका यति धेरै मानिस त्यहाँ किन जानुपर्ने? न्युयोर्कमा स्थायी प्रतिनिधि र नियोग उपप्रमुख पनि सहसचिव स्तरका हुन्छन्। अनि अमेरिकामा रहेका राजदूतलाई मन्त्रीसरह मानिन्छ।’ जसका कारण महासभा झन् भद्दा देखिने विज्ञहरू बताउँछन्।

महासभामा  नेपालले बाल लडाकुलगायतको कुरा उठाउने योजना छ। शान्तिप्रक्रिया सम्पन्न गर्नका लागि सहयोगको आग्रह गर्ने तयारी पनि रहेको सरकारी अधिकारीहरूले बताएका छन्। ती पूर्वराजदूत भन्छन्, ‘के अब फेरि यस्ता कुरा राष्ट्रसंघीय नियोगलाई फेरि जिम्मा लगाउन खोजिएको हो र?’

प्रधानमन्त्री प्रचण्ड नेपाली समयअनुसार ३ गते बिहान राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। त्यहाँ सहभागी हुनका लागि नै उनी त्यसतर्फ गएका हुन्। जो बाइडन र प्रचण्डबीच बढीमा दुई मिनेट उभिएर हाइहेलो हुनेछ र फोटो खिचाउनेछन्।

चुपचाप फर्कनु नपर्ला!

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला कृष्णबहादुर महरा परराष्ट्रमन्त्री थिए। महरा महासभामा सहभागी भएका थिए। तर उनी अमेरिका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको भोजस्थलमा प्रवेश गर्न पाएका थिएनन्। उनी बाहिरबाटै फर्कनुपरेको थियो।

त्यतिबेला राष्ट्रप्रमुखको नाममा कार्ड थियो। नेपाली नियोगमा रहेका कर्मचारीको हेलचेक्रयाइँले महरा चुपचाप फर्केका थिए। ती पूर्वसचिवले भने, ‘हाम्रा मिसनमा कार्यरत कर्मचारीको हालत नियाल्दा अहिले पनि समस्या नहोला भन्न सकिन्न।’

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, मन्त्रीगण लगायतले बिदाइ गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत सलामी अर्पण गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उनी असोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ।

राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन जानेछन्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा गंगा दाहाल, सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिव, सरकारी मिडियाका सञ्चारकर्मीलगायत सहभागी छन्।

प्रकाशित: ३० भदौ २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =