विपन्न अवस्थाबाट गुज्रिएकी जंगबहादुरकी ती बुहारी

सन्तोष खडेरी ३० भदौ २०८० १८:१८
870
SHARES
विपन्न अवस्थाबाट गुज्रिएकी जंगबहादुरकी ती बुहारी रणजंग राणा र जुद्धशमशेरले मिसेस रणजंगलाई मासिक रूपमा ८३/४ का दरले प्रत्येक महिनाको सुरुमै कलकत्तास्थित बाइङ एजेन्सीमार्फत भत्ता दिने गरी १९९८ सालमा गरिदिएको सनद।  तस्बिर स्रोत : अनलाइन अक्सन वेबसाइट डेलक्याम्पे

जंगबहादुर राणाले नेपालमा १०४ वर्षसम्म चलेको राणा शासनको जग बसालेका हुन्। सन् १८४६ को कोतपर्वबाट सत्तामा उदाएका जंगबहादुर राणाले ३१ वर्षसम्म नेपालमा एकछत्र शासन गरे। जंगबहादुर राणाका पत्नी र सन्ता धेरै थिए। उनका सन्तानहरूसमेत शक्तिमा थिए। जंगबहादुर राणाको निधनपछि उनका भाइ रणोद्वीप सिंह प्रधानमन्त्री भए। तर रणोद्वीप प्रधानमन्त्री भएको आठौँ वर्षमा जंगबहादुरका कान्छा भाइ धीरशमशेरका छोराहरूले उनको हत्या गरी शासनसत्ता आफ्नो हातमा लिए।

धीरशमशेरका सन्तानलाई शमशेर खलक र जंगबहादुरका सन्तानलाई जंगखलक भनिन्छ। जंगबहादुर निधनको ८ वर्षपछि जेठा छोरा जगतजंग र नाति युद्धप्रतापजंग नेपालमै मारिए। अन्य धेरै सन्तान नेपालबाट खेदिएर ब्रिटिस भारतको शरणमा गए। एकाध संख्यामा काठमाडौँबाहिरका जिल्लामा बसोबास गर्न पुगे। ब्रिटिस भारतको शरणमा पुगेकाहरू पनि नेपाल फर्किएर बाहिरी जिल्लामा बसोबास गरे। जंगबहादुरका सन्तानलाई सत्ता र काठमाडौँ उपत्यका दुवैको ढोका बन्द भयो। उनीहरू जीवन निर्वाह गर्नका लागि सत्तामा रहेका शमशेरहरूसँग भत्ता माग्ने र त्यसैबाट गुजारा चलाउनुपर्ने अवस्थामा पुगे।

शमशेरखलक सत्तामा आउनुपूर्व नै सम्पत्ति संकलन गर्न पाएका, आफ्नो चलअचल सम्पत्ति देशबाहिर लैजान पाएका केही सीमित जंगसन्तानको जीवनयापन भने सहज थियो। जंगबहादुरका धेरै सन्तानको आर्थिक अवस्था दयनीय थियो। यहाँ जंगबहादुरका छोरा रणजंगकी पत्नी मिसेस रणजंगले श्रीमान्‌को मृत्युपछि जीवन निर्वाहका लागि श्री ३ प्रधानमन्त्रीहरूसँग केकसरी अनुनयविनय गर्नुपरेछ भन्ने सन्दर्भको चर्चा गरिएको छ।

जंगबहादुर राणाले जनतालाई शिक्षाबाट वञ्चित गरे पनि आफ्ना छोरा भतिजालाई राम्रै शिक्षा दिएका थिए। दरबार स्कुल स्थापना उनकै पाला भएको थियो। उनले घरैम शिक्षक डाकेर छोरा भतिजाहरूलाई अंग्रेजी शिक्षा पढाएका थिए। जंगबहादुर राणाको शासनको अन्तिमअन्तिम समयतिर सन् १८७३ को डिसेम्बरमा उनै रणजंग नेपाल सरकारको प्रतिनिधिका रूपमा वकिलमा नियुक्त भएका थिए।

रणजंग कलकत्तामा वकिलमा नियुक्त हुँदा उनको पद मेजर कप्तान थियो। पछि उनी लेफ्टिनेन्ट कर्नेलसम्म भए। उनी त्यहाँ करिब दुई वर्षसम्म रहेको देखिन्छ। सन् १८७५ को नोभेम्बरमा नेपालले उनको ठाउँमा नयाँ वकिलका रूपमा कर्नेल मीनबहादुर राणालाई नियुक्त गरेको थियो। (सन् १८७३ र १८७५ का कलकत्ता गजेटका अंकहरू)

त्यसपछि पनि त्यहाँको दरबारमा हुने विभिन्न औपचारिक समारोहमा उनले नेपालको प्रतिनिधित्व गरेका थिए। उनी भाईसरायले आयोजना गर्ने अन्य कार्यक्रममा सहभागी हुन्थे।

सन् १८७७ को २५ फेब्रुअरीमा जंगबहादुर राणाको निधन भयो। जंगबहादुरको निधनपछि रणजंग भारतमै बस्न थाले। उनले अंग्रेज इसाई धर्मावलम्बी युवतीसँग विवाह गरेका थिए। उनी पनि इसाई भएको कुरा ल्यान्डनको पुस्तकमा उल्लेख छ। खड्गशमशेरका छोरा लोकशमशेर पनि इसाई धर्म अंगाल्नेका थिए।

रणजंग सन् १८८० को दशकदेखि कलकत्तामा स्थायी रूपमा बस्न थालेका थिए। कलकत्तामा उनको ठेगाना १११ रिपोन स्ट्रिट थियो। रणजंग कलकत्तामा बस्दा के काम गरे भन्नेमा त्यति धेरै जानकारी पाइँदैन। तर वीरशमशेरसँग भएका केही पत्राचारमा उनले वीरशमशेरको समयदेखि नेपालबाट नियमित भत्ता पाउने गरेको देखिन्छ। त्यस्तै उनको निधन कहिले भयो भन्ने पनि खुल्दैन। तर सन् १९२७ ताका उनको निधन भइसकेको थियो भन्ने उनकी पत्नी श्रीमती रणजंगको पत्रबाट खुल्छ। नेपालमा उनको पहिचान मिसेस रणजंग थियो।

रणजंगको निधनपछि चन्द्रशमशेरको समयमा उनकी बिधुवा पत्नी श्रीमती रणजंगलाई नेपालका तर्फबाट नियमित भत्ताको व्यवस्था गरिएको थियो। सन् १९२७ ताका उनलाई वार्षिक रूपमा एक हजार कम्पनी रुपैयाँ (ब्रिटिस भारतमा चलनचल्तीको मुद्रा) प्रदान गरिएको थियो। त्यो पैसा उनलाई मुन्सीखाना (विदेश विभाग अड्डा) बाट पठाउने गरिन्थ्यो।

उनलाई उक्त रकम ६-६ महिनामा दुई किस्ता गरी प्रदान गरिन्थ्यो। नियमित मासिक भत्ताबाहेक बिमारी पर्दा धेरै खर्च हुन गएमा त्यसमा लागेको खर्च समेत उनलाई उपलब्ध गराइन्थ्यो। सन् १९२७ मा उनले प्रधानमन्त्री चन्द्रशमशेरलाई पत्र लेख्दै जनवरीदेखि लागू हुने गरी आफूलाई मासिक सय कम्पनी रुपैयाँका दरले १२ सय क.रु. उपलब्ध गराउन आग्रह गरेकी थिइन्। त्यसमा महँगी बढेको र एक हजार रुपैयाँमा जीवनयापन गर्न कठिन रहेको भन्दै बढाइदिन आग्रह गरेकी थिइन्। तर उनको माग पूरा भएन। सन् १९२९ मा चन्द्रशमशेरको निधन भयो।

चन्द्रशमशेरपछि भीमशमशेर हुँदै नयाँ प्रधानमन्त्रीमा जुद्धशमशेर आए। प्रधानमन्त्री जुद्धशमशेरको सन् १९३९-४० को कलकत्ता भ्रमण भयो। उनको कलकत्ता भ्रमणको सिलसिलामा मिसेस रणजंगले प्रधानमन्त्रीलाई बिन्तीपत्र पठाएर भत्तालाई मासिक १०० क.रु. पुर्‍याउन र मासिक रूपमा नै उपलब्ध गराइदिन आग्रह गरेकी थिइन्। जुद्धशमशेरले तत्कालै भत्ता बढाएनन्। तर उनले प्रत्येक महिनाको सुरुमा भत्ता पाउने व्यवस्था मिलाइदिए।

त्यतिबेलासम्म ब्रिटिस भारतमा हुने नेपाल सरकारको प्रतिनिधि वकिल अड्डा कलकत्ताबाट दिल्ली सरिसकेको थियो। तर कलकत्तामा सामान खरिद गरी नेपाल पठाउनका लागि बाइङ एजेन्सी भने अस्तित्वमा थियो। जुद्धशमशेरले त्यही बाइङ एजेन्सीमार्फत मिसेस रणजंगलाई भत्ता प्रदान गर्ने व्यवस्था मिलाइदिए। जसको सनद यहाँ समावेश छ। जुद्धशमशेरले वार्षिक १०० क.रु. बराबर मासिक रूपमा हुन आउने ८३/४ का दरले प्रत्येक महिनाको सुरुमै उपलब्ध गराउन थाले।

मोहनशमशेरको समय सन् १९४९ सम्म आउँदा उनको भत्ता मासिक १०० रुपैयाँ पुगिसकेको थियो। तर कसले भत्ता वृद्धि गर्‍यो भन्ने यकिन छैन।

सन् १९४८ मा कलकत्तामा नेपाली महावाणिज्यदूतावास कार्यालय खुल्यो। त्यसपछि उनलाई दिने भत्ता मासिक रूपमा कलकत्तास्थित महावाणिज्यदूतावासमार्फत प्रदान हुन थालेको थियो। सन् १९५० को सुरुमा मिसेस रणजंगले नेपालका वैदेशिक मामिलाका डाइरेक्टर जनरल विजयशमशेरलाई पत्र लेख्दै आफ्नो भत्ता वृद्धि गर्न आग्रह गरेकी थिइन्।

कलकत्तामा महँगी बढ्दै गएको, उपभोग्य वस्तुमा चारगुणा मूल्य वृद्धि भएको, आफूले नियमित रूपमा औषधि सेवन गर्नुपर्ने हुनाले मासिक १०० ले नपुग्ने भएकाले वृद्धि गरिदिनुपर्ने उनको माग थियो। उनले आफ्नो सहारा कोही पनि नभएको, जीवनयापनका लागि आम्दानीको अर्को स्रोत नभएको र आफ्नो उमेर पनि ९० वर्ष पुगिसकेकाले औषधि र बिहानबेलुका भरपेट खान भत्तामा मासिक ५० रुपैयाँ वृद्धि गरिदिन आग्रह गरेकी थिइन्। साथै उनले आफूसँग अलिकति पनि पैसा भएको भए नेपालका प्रधानमन्त्रीलाई कहिल्यै दु:ख नदिने बताएकी थिइन्। साथै उनले आफ्ना दिवंगत पति रणजंगले भविष्यका बारेमा केही सोचेको भए दयनीय अवस्था नआउने उल्लेख गर्दै श्रीमान् मरेर आफूहरूलाई ईश्वरको दया र करुणामा अनाथ छाडिदिएको बताएकी थिइन्।

उनको त्यो मार्मिक पत्रबाट त्यतिबेला उनी कस्तो अवस्थाबाट गुज्रिरहेकी थिइन् भन्ने बुझिन्छ। आफूले पाउनुपर्ने भत्ता समयमा नपाउँदा जीवन चलाउन साह्रै गाह्रो परेको र ऋण सापटी गरेर चलाउने अवस्था पनि नरहेको उल्लेख गरेकी थिइन्। अन्ततः उनको मागअनुसार सन् १९५० को मे महिनामा मोहनशमशेरले उनको भत्तामा वृद्धि गरिदिएका थिए। उनले पछिल्लो ८ महिनाको ४०० रुपैयाँ प्राप्त गरेकी थिइन्। सोही महिनामा उनले कलकत्तामा एकमात्र छोरी गुमाइन्। छोरीको निधनपछि उनलाई बढी चोट दिएको थियो। मोहनशमशेरले उनको छोरीको उपचार र निधन भएपछि अन्तिम संस्कारमा लागेको खर्चसमेत पठाइदिएका थिए।

मिसेस रणजंगलाई प्रदान गरिएको भत्तामा उनका छोरा सेन्ट्रिकजंग र छोरी वियांकासमेत आश्रित भएको देखिन्छ। सन् १९५० मा छोरी वियांकाको निधन भयो। मिसेस रणजंगको निधन कहिले भयो यकिन गर्न नसकिए पनि सन् १९५४ को फेब्रुअरीसम्म उनको निधन भइसकेको देखिन्छ। सन् १९५३ अक्टोबरमा राजा त्रिभुवन उपचारमा लागि युरोप जाँदा बम्बेमा राजा त्रिभुवनलाई भेटेर मिसेस रणजंगका छोराले आफ्नो जीवनयापनका लागि आम्दानीको अर्को माध्यम नभएकाले आफ्नी आमालाई दिएको भत्तालाई निरन्तरता दिन आग्रह गरेका थिए। राजा त्रिभुवनले सोहीबमोजिम सोही भत्तालाई निरन्तरता दिएका थिए। त्यतिबेलासम्म उनलाई दिने भत्ता मासिक २०० रुपैयाँ पुगिसकेको थियो। (राष्ट्रिय अभिलेखालय नेपाल)

जंगबहादुर आफू निकै शक्तिशाली शासक थिए। उनका सन्तानले खानलाउनकै लागि शासक वर्गमा आश्रित हुनुपरेको यो एउटा मार्मिक उदाहरण हो। जंगबहादुरका धेरै सन्तान भए पनि अन्यको आर्थिक अवस्था कस्तो थियो भन्ने चाहिँ खोजीकै विषय छ।

प्रकाशित: ३० भदौ २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =