‘इन्डिया’ले गर्‍यो १४ एंकरलाई बहिष्कार

हिमाल प्रेस ३० भदौ २०८० ८:१७
12
SHARES
‘इन्डिया’ले गर्‍यो १४ एंकरलाई बहिष्कार स्केच साभार : न्युज लन्ड्री

काठमाडौँ– भारतका विपक्षी दलहरूको गठबन्धन ‘द इन्डियन नेसनल डेभलेपमेन्ट इन्क्लुसिभ अलायन्स (इन्डिया)’ले केही टेलिभिजन च्यानल र समाचारवाचकलाई बहिष्कार गरेको छ।

चुनावअघि नै ‘इन्डिया’ले मिडियाबारे कडा निर्णय गरेको हो। देशको सद्भावलाई भंग गर्ने ‘प्रोपगान्डा मिडिया’को बहिष्कार गर्ने गठबन्धनले जनाएको छ।

भदौ २७ मा दिल्लीमा भएको ‘इन्डिया’को समन्वय समितिको बैठकपछि सो निर्णय गरिएको हो। रिपब्लिक भारत, टाइम्स नाउ, सुदर्शन र दूरदर्शनलगायत टेलिभिजन च्यानलसहित १४ समाचारवाचकलाई बहिष्कार गर्ने प्रस्ताव बैठकमा गरिएको थियो। तर गठबन्धनका सदस्यहरूबीच समाचारवाचकको मात्र बहिष्कार गर्ने सहमति बनेको छ।

सुधीर चौधरी, अर्णव गोस्वामी, चित्रा त्रिपाठी, अमन चोपडा, अमिश देवगन, अदिति त्यागी, रुबिका लियाकत, गौरव सावन्त, प्राची परासर, आनन्द नरसिम्हन, सुशान्त सिन्हा, शिव अरुर, अशोक, श्रीवास्तव, नाविका कुमार आदि एंकरको कार्यक्रममा गठबन्धनका सदस्यहरू सहभागी नहुने ‘इन्डिया’ले जनाएको छ।

यी सबै एंकर आज तक, रिपब्लिक भारत, इन्डिया टुडे, टाइम्स नाउ, डीडी न्युज, न्युज १८, इन्डिया टीभी, भारत २४लगायत टेलिभिजन च्यानलमा काम गर्ने गर्छन्।

साम्प्रदायिक बहस आयोजना गर्ने, मन्दिर–मस्जिद भनेर झगडा गराउने यी एंकरहरूका बहस कार्यक्रम र च्यानलमा गठबन्धनका सदस्य सहभागी हुने छैनन्।

अहिलेका लागि बहिष्कार गरे पनि केही महिनासम्म गठबन्धनले यी च्यानल र एंकरमाथि निगरानी राख्नेछ। तिनमा सुधार पाइए बहिष्कार फिर्ता लिइने बताइएको छ। ‘बहिष्कारपछि पनि यदि तिनमा कुनै सुधार नदेखिए अहिले भारतका ११ वटा राज्यमा गठबन्धनका सरकार छ। ती राज्यमा यी च्यानललाई विज्ञापनमा रोक लगाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =