प्रतिनिधिसभा बैठक : १८ मिनेट बसेर असोज १४ गतेसम्मका लागि स्थगित

हिमाल प्रेस २९ भदौ २०८० १४:२६
10
SHARES
प्रतिनिधिसभा बैठक : १८ मिनेट बसेर असोज १४ गतेसम्मका लागि स्थगित प्रतिनिधिसभाको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबारको बैठक करिब १८ मिनेट बसेर स्थगित भएको छ। बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको हो। शुक्रबारको बैठकमा शून्य र विशेष समयको कार्यक्रम थिएन। बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्न समय दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले आफूले गर्न लागेको अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराएका थिए। साथै उनले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन र कान्तिबाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा भइरहेका अनुसन्धानबारे पनि जानकारी गराएका थिए।

त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सदनलाई प्राप्त एउटा पत्र पढेर सुनाएका थिए। त्यसमा सहरी विकासमन्त्री निदरल्यान्ड्समा आयोजना हुने बीएनजी बैंकको पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा सहभागी हुन गएकाले उनले सम्हालिआएको मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सम्हालेको उल्लेख छ।

बैठकमा सभामुख घिमिरेले इलाम निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले उक्त क्षेत्र रिक्त भएको जानकारी सदनलाई गराएका थिए। यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो।

त्यसपछि सभामुख घिमिरेले बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको जानकारी सभामुख घिमिरेले गराएका थिए।

प्रकाशित: २९ भदौ २०८० १४:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =