चिनियाँ राजनीति : विदेशमन्त्रीपछि हराउने पालो रक्षामन्त्रीको, शंका कारबाहीको

हिमाल प्रेस २९ भदौ २०८० ८:१३
62
SHARES
चिनियाँ राजनीति : विदेशमन्त्रीपछि हराउने पालो रक्षामन्त्रीको, शंका कारबाहीको

काठमाडौँ- चीन र भियतनामबीच वर्षेनी रक्षा बैठक हुने गर्छ। यसपालि बैठक आयोजना गर्ने पालो थियो, भियतनामको। जसमा चीनका तर्फबाट रक्षामन्त्री ली शाङ्फु सहभागी हुनुपर्ने थियो।

सेप्टेम्बर ७ र ८ का दिन तय भएको बैठक अर्को मितिका लागि सारियो। के भनिन्छ भने बैठक सार्न चीनले प्रस्ताव राखेको थियो। कारण, चिनियाँ रक्षामन्त्री ली अस्वस्थ हुनु।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार ली सार्वजनिक कार्यक्रममा देखा नपरेको दुई साता भयो। उनी एकाएक हराउनु र पहिल्यै तय भएको बैठक स्थगित हुनुलाई शंकास्पद दृष्टिले हेरिँदैछ।

भियतनामसँगको बैठक स्थगित भएको विषयमा रोयटर्सले चिनियाँ क्याबिनेटको सूचना केन्द्रमा सम्पर्क गरेको तर केही जवाफ नआएको लेखेको छ।

रक्षामन्त्री ली हराउनुलाई केहीअघिको घटनासँग तुलना गरिँदैछ। गत जुलाईमा तत्कालीन विदेशमन्त्री किन गाङ पनि एकाएक हराएका थिए। लामो समय सार्वजनिक कार्यक्रममा नदेखिएका उनी अन्ततः विदेशमन्त्रीबाट हटाइएका थिए।

चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकार कसरी सञ्चालन हुन्छन् भन्ने सूचना बिरलै बाहिर ल्याइन्छ। बेलोबलामा सैन्य नेतृत्व र मन्त्रालयहरुमा हुने गरेको परिवर्तनबारे पनि केही बताइँदैन। केही महिनाअघि चिनियाँ रकेट फोर्सको नेतृत्वमा परिवर्तन गरिएको थियो। यो परिवर्तनका विषयमा पार्टीभित्रै प्रश्न उठेको खबर आएका थिए।

गाङलाई विदेशमन्त्रीबाट हटाइँदा पनि अचम्म नमानिएको होइन। किनभने उनलाई राष्ट्रपति सी चिनफिङसँग नजिक रहेको नेता मान्ने गरिन्थ्यो। पार्टीभित्र उनको द्रुत उदयको कारण पनि सी नै रहेको बताइन्थ्यो। करिब सात महिना विदेश मन्त्रालय सम्हालेका उनी सार्वजनिक रुपमा देखा पर्न छाडेपछि उनको स्वास्थ्य स्थिति ठिकठाक नरहेको प्रष्टिकरण दिइएको थियो।

ली गत मार्चमा रक्षामन्त्री नियुक्त भएका नेता हुन्। उनी हराउनुलाई किन पनि गम्भीर मानिएको हो भने, उनी ‘स्टेट काउन्सिल’ का सदस्य हुन्। प्रधानमन्त्रीको नेतृत्वमा रहने स्टेट काउन्सिलमा चार उपप्रधानमन्त्रीसँगै कुल १० जना हुन्छन्। यहाँ सदस्य बन्ने मन्त्रीलाई अन्य मन्त्रीभन्दा वरिष्ठ मानिन्छ।

रक्षामन्त्री ली पछिल्लो पटक सार्वजनिक रुपमा देखा परेको अगस्ट २९ मा हो। त्यस दिन उनले बेइजिङमा अफ्रिकी रक्षा मन्त्रीहरुलाई सम्बोधन गरेका थिए। त्यसअघि उनले रुस र बेलारुसको भ्रमण गरेका थिए।

चीनमा रक्षामन्त्रीको जिम्मामा रक्षा कूटनीति हुन्छ, अन्य देशमा जस्तो सेना वा अन्य शसस्त्र फौजको कमाण्ड गर्दैनन्। सामान्यतया रक्षामन्त्री विदेशमन्त्री जस्तो सरकारी सञ्चारमाध्यमहरुमा छाइरहदैनन्।

‘गाङपछि ली हराउनुले चिनियाँ राजनीति कति रहस्यमयी छ भनेर देखाउँछ। सी नेतृत्वको चीन कुनै घटनाक्रमबारे बाँकी विश्व जानोस् भन्ने चाहँदैन। जानकारी दिन जरुरी ठान्ने त कुरै भएन,’ सिंगापुरको ली क्वान यु स्कुल अफ पब्लिक पोलिसीका सहायक प्राध्यापक अल्फर्ड वुले भनेका छन्।

ली सन् २०१६ मा ‘पीएलए स्टारटेजिक सपोर्ट फोर्स’ को उपप्रमुखमा नियुक्त भएका थिए। सन् २०१५ मा स्थापना गरिएको यो फोर्सलाई अन्तरिक्ष र साइबर क्रियाकलापको जिम्मा दिइएको छ। सन् २०१७ मा भने उनलाई खरिद विभागको प्रमुख बनाइएको थियो।

उता अमेरिका लीमाथि अनुसन्धान भइरहेको हुनसक्ने विश्वास गर्छ। फाइनान्सियल टाइम्सले अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै लेखेको छ, ‘लीमाथि पक्कै पनि अनुसन्धान भइरहेको हुनुपर्छ। रक्षामन्त्रीमाथि नै यसरी अनुसन्धान हुनुको सन्देश हो, बेइजिङको रक्षा तथा विदेश मन्त्रालय नेतृत्वमा रहेकाहरुबीच अविश्वास छ।’

डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा अमेरिकाले लीमाथि प्रतिबन्ध लगाएको थियो। ली पीएलएको खरिद विभाग प्रमुख हुँदा चीनले सन् २०१८ मा रुसबाट हतियार खरिद गरेको थियो। त्यही रिसमा तत्कालीन अमेरिकी प्रशासनले लीलाई प्रतिबन्ध लगाएको हो।

तर पछिल्ला केही महिनायता अमेरिका आफैँले प्रतिबन्ध लगाएको लीनेतृत्वको चिनियाँ रक्षा मन्त्रालयसँग वार्ता गर्ने प्रयासमा छ। चीनले भने अमेरिकी प्रयासलाई बेवास्ता गर्दै आएको छ।

अन्तर्राष्ट्रिय जगतमा ली हराएको चर्चा जापानका लागि अमेरिकी राजदूत राह्म इम्मानुएलले सुरु गरेका थिए। लीबारे उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘सुरुमा विदेशमन्त्री हराए। त्यसपछि रकेट फोर्सका जनरलहरु पनि हराए। अब अहिले आएर रक्षामन्त्री नै देखा पर्न छाडेका छन्।’

ली हराएपछि के पनि शंका गरिँदैछ भने राष्ट्रपति सीको भ्रष्टाचार निर्मूलन अभियान सेना तथा अर्धसैनिक बलतिर सोझिएको छ। यदि यसो भएको हो भने सीकै व्यक्ति छनोट क्षमतामाथि पनि प्रश्न उठ्ने पश्चिमा विश्लेषकहरु दाबी गर्छन्।

‘रक्षामन्त्री र रकेट फोर्सका जनरलहरु भ्रष्टाचारकै कारण हटाइएका हुन् भने प्रश्न सीमाथि पनि उठ्छ। किनभने ती व्यक्तिहरु सीका रोजाइ हुन्। यसले त चिनियाँ व्यवस्था र पूरै नेतृत्वको पारदर्शितामाथि प्रश्न उठाउँछ। जबकि सीले भ्रष्टाचार विरोधी अभियान चलाएकै एक दशक भइसक्यो,’ अमेरिकी जासुुसी संयन्त्र सीआईएका लागि पीएलए विज्ञ भएर काम गरेका डेनिस वाइल्डर भन्छन्।

उनका अनुसार लीले कुनै समय नेतृत्व गरेको खरिद विभाग पीएलएभित्र सबैभन्दा बढी भ्रष्टचार हुने ठाउँका रुपमा परिचित छ।

उता मार्सल फन्ड नाम गरेको थिंक ट्याङ्सँग आबद्ध बोन्नी ग्लासर भने ली हटाइँदा चीन–अमेरिका सैन्य सम्बन्ध केही सहजता आउने विश्वास व्यक्त गर्छन्। ‘अहिलेसम्म चीनले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग वार्ता गर्न नमानेको कारण ली हुनसक्छन्,’ ग्लासलरले फाइनान्सियल टाइम्ससँग भनेका छन्, ‘रक्षामन्त्री हटाइँदा सीको पकडमाथि प्रश्न उठाउन आवश्यक छैन। तर यसले के चाहिँ देखाउँछ भने चिनियाँ व्यवस्था र संरचना पनि भ्रष्टाचाररहित छैनन्।’

प्रकाशित: २९ भदौ २०८० ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =