अमेरिकामा नेपाली आमाहरूलाई सम्मान

हिमाल प्रेस २७ भदौ २०८० २०:४१
12
SHARES
अमेरिकामा नेपाली आमाहरूलाई सम्मान

काठमाडौँ- नेपाल आमा सोसाइटी अफ हेल्पिङ हेण्डस् इंक यूएसएले तीजको अवसर पारेर ज्येष्ठ नागरिक नेपाली आमाहरूलाई सम्मान गरेको छ।

नेपाल आमा सोसाइटीले अमेरिकाको न्युयोर्कस्थित क्विन्समा तीज कार्यक्रम आयोजना गरी ६७ वर्षभन्दा माथि उमेर पुगेका अमेरिकामा रहेका ९ जना नेपाली आमाहरूलाई सल ओढाएर सम्मान गरेको हो।

गुल्मी स्थायी घर भएकी ८२ वर्षीया नमकला खनालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्। खनालले तीजको अवसरमा कार्यक्रम गरी सम्मान गरेकोमा खुसी व्यक्त गरिन्।

संस्थाका सचिव जनेश गुरुङले संस्थाको उद्देश्यबारे जानकारी दिँदै संस्थाले अमेरिकामा रहेका नेपाली ज्येष्ठ नागरिक, एकल महिला तथा नेपालमा रहेका ज्येष्ठ नागरिक तथा विपन्न एकल महिलाका लागि आर्थिक तथा आवश्यकीय व्यवस्थापनको काम गर्ने बताइन्। ‘नेपाली संस्कृतिलाई जगेर्ना गर्दै विदेशी भूमिमा वृद्धा आमाहरूको लागि तीज मनाउन पाउँदा खुसी लागेको छ,’ उनले भनिन्।

संस्था अध्यक्ष बिमला गुरुङले हिन्दू नारीहरूको तीजको शुभकामना व्यक्त गर्दै विभिन्न परिस्थितिले वृद्धाश्रममा पुगेका वृद्धाहरूका लागि आर्थिक तथा भौतिक सेवा गर्ने जानकारी दिइन्। मानव सेवा नै ठूलो धर्म भएको मन्त्रलाई मध्यनजर गर्दै संस्थाले नेपालमा रहेका वृद्धाश्रमसँग समन्वय गरी समाज सेवा गर्ने उद्देश्य राखेको जानकारी दिइन्।

अमेरिकामा आएर पनि विभिन्न ठाउँका आफूहरुलाई एकै ठाउँमा भेला गराएर सम्मान गरेको भन्दै कतिपय आमाहरू भाव विभोर भएका थिए। समाजसेवी शारदा क्षेत्रीले ज्येष्ठ नागरिकको वर्तमान अवस्थालाई मुक्तकमार्फत चित्रण गर्दै उनीहरूलाई माया र सम्मान गर्नका लागि अनुरोध गरिन्। त्यस्तै बन्दना कोइराला, गोमा सेनलगायत महिलाहरूले वृद्धवृद्धाहरूका लागि सुरु गरिएको सह्रानीय कामलाई आफूहरूले पनि सहयोग गर्ने बताए।

संस्थामा बिमला गुरुङ, उपाध्यक्ष शर्मिला शेरचन, सचिव जनेश गुरुङ तथा पार्वती गुरुङलगायत आबद्ध छन्। कार्यक्रममा नायिका यन्सर्ज गुरुङ तथा विनु हिराचनले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै ज्येष्ठ नागरिक आमाहरूले गाउँघरमा गाइने लोक भाकाका गीत गाउँदै नृत्य गरेर रमाइलो गरेका थिए।

कार्यक्रममा न्युयोर्क, न्युजर्सीका झण्डै ६० महिला तथा आमाहरू सहभागी थिए।

प्रकाशित: २७ भदौ २०८० २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =