पर्यटकीय केन्द्र बन्यो ‘राप्ती शान्ति उद्यान’

हिमाल प्रेस २४ भदौ २०८० १६:२५
पर्यटकीय केन्द्र बन्यो ‘राप्ती शान्ति उद्यान’

दाङ- सशस्त्र द्वन्द्वको समय २०५९ माघमा शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ। तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउन थालेका छन्।

उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक चार सयदेखि पाँच सयको संख्यामा पर्यटक आउने गरेको पार्क व्यवस्थापन समितिले जनाएको छ। समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले पार्क अवलोकन गर्न आउनेबाट प्रतिव्यक्ति ३० रुपैयाँ शुल्क लिने गरेको बताउँछन्। त्यसका साथै वनभोजका लागि तीन सयदेखि पाँच सयसम्म शुल्क लिने गरिएको छ। पार्कमा सात जनाले रोजगारी पाएका छन्। सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक ४० देखि ४५ लाख बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिए।

पार्क १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको तीन किलोमिटर उत्तरमा श्रीगै गाउँबाट डेढ किमी पूर्वमा पर्छ। भण्डारीका अनुसार पार्कभित्र उत्तरतर्फ बालउद्यानसँगै ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुल निर्माण गरिएको छ। त्यस्तै, उत्तरतर्फ मिनी चिडियाखाना निर्माण गरिएको छ। जहाँ चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर र पशुपक्षी राखिएका छन्।

खानेपानी, शौचालयदेखि वनभोज खान आउनेलाई आवश्यकपर्ने भाँडाकुँडा, दाउरा तथा ग्यासको सुविधा पनि पार्कमा छ। पछिल्लो समयमा मगर संस्कृति झल्कने गुन्यो, चोलोलगायतका पोशाकको पनि व्यवस्था गरिएको छ। जसले गर्दा घुम्न आउनेले ती पोशाक लगाएर फोटो खिच्ने, टिकटक बनाउनसमेत पाउँछन्।

-रासस

प्रकाशित: २४ भदौ २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =