देउवाको स्वीकारोक्ति : कांग्रेसले बीपीका विचारको बहस गराउन सकेन, ठूलो कमजोरी भयो

हिमाल प्रेस २४ भदौ २०८० १३:०६
18
SHARES
देउवाको स्वीकारोक्ति : कांग्रेसले बीपीका विचारको बहस गराउन सकेन, ठूलो कमजोरी भयो

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको विचारबारे बहस चलाउन नसकेर कांग्रेसले ठूलो कमजोरी गरेको स्वीकार गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै समाजवाद र राजनीतिक विचार तथा साहित्यका विषयमा बीपीका विचारको बहस गराउन नसक्नु कांग्रेसको ठूलो कमजोरी भएको बताएका हुन्।

देउवाले संविधानमा समाजवादोन्मुख राष्ट्र भनेर लेखिए पनि त्यसको मर्मअनुरूप देशलाई अघि बढाउन नपाएको बताए। ‘नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौँ, तर यसको मर्मअनुसार अभ्यास गर्न पाएका छैनौँ,’ उनले भने, ‘नागरिकको समस्या र असन्तुष्टि, समाजमा देखिएका विविध विसंगतिलाई बीपीका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक विचारले मात्र समाधान गर्न सम्भव छ भन्ने दृढ विश्वास भए पनि उहाँको विचारलाई हरेक पुस्तका नागरिकबीच पर्याप्त बहस र छलफल गराउन नसक्नु कमजोरी भएका छन्।’

बीपी अन्तर्राष्ट्रियस्तरमा समेत राजनीतिक विचारक र नेपाली समाजमा सबै किसिमका विभेदविरुद्ध ‘आगो ओकल्ने’ तथा नागरिक समावेशीता, नागरिकको न्यायिक समानता र स्वतन्त्रताको पक्षमा लड्ने व्यक्ति भएको उनले बताए ।

उनलाई भेट्न जाँदा ‘ठूलो मान्छे हैन, असल मान्छे बन्नू’ भनेको स्मरण गर्दै देउवाले बीपी मार्क्स र गान्धीलाई गहिरिएर अध्ययन गरेका नेता भएको उल्लेख गरे ।

‘उहाँ अहिंसा लोकतन्त्रको सन्दर्भमा गान्धीसँग निकट हुनुहुन्थ्यो भने आर्थिक समानताका विषयमा मार्क्सवादी चिन्तलाई आवश्यक ठान्नुहुन्थ्यो’ देउवाले भने।

बीपीका राजनीतिक, साहित्यिक, जेलमा भोग्नुपरेको जीवन, सामाजिक तथा आर्थिक, धार्मिक, सांस्कृतिक पक्षको आजको पुस्तलाई ज्ञान बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए। ‘बीपी आफैँमा बहुआयामिक तथा अनुकरणीय राजनीतिक विचारक हुनुहुन्थ्यो,’ उनले भने, ‘साहित्यमा अजरअमर नक्षत्रको रूपमा आज पनि स्थापित हुनुहुन्छ।’

प्रकाशित: २४ भदौ २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =