एउटा पुल नहुँदा ३ जिल्लाका बालबालिकालाई सास्ती

हिमाल प्रेस २३ भदौ २०८० १७:१७
10
SHARES
एउटा पुल नहुँदा ३ जिल्लाका बालबालिकालाई सास्ती पुल नभएको खोला तर्दै सिगासका विद्यार्थी

बैतडी- पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण खोला तरेर विद्यालय जान बाध्य छन्। सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघडगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।

उक्त खोलामा रहेको आरसीसी पुल २ वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताए। उनका अनुसार उक्त खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिमपूर्ण खोला तर्न बाध्य भएका हुन्।

अस्थायी रूपमा बनाइएको काठेपुल पनि १ महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने बालाबालिकाले जोखिमपूर्ण यात्रा गर्नुपरेको विद्यालयका शिक्षिका लक्ष्मी चन्दले बताइन्। ‘उक्त खोलामा रहेको पक्की पुल २ वर्ष अघि बाढीले बगाएको थियो, त्यसपछि अस्थायीरूपमा काठेपुल राखिए पनि १ महिना अगाडिको बाढीले लग्यो,’ उनले भनिन्।

लामो समयदेखि खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्छन्। पानी परेपछि खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आवागमनमा थप सास्ती हुने गरेको शिक्षिका चन्दको भनाइ छ।

उक्त विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका वडाध्यक्ष साउदले बताए। ‘बैतडी, बझाङ र डोटीको सिमानामा यो विद्यालय छ। पुल बगाएपछि त्यहाँबाट आउने विद्यार्थीसमेत जोखिम मोलेर आउने गरेका छन्,’ उनले भने।

पुल नहुँदा समस्या भएको बारेमा सम्बन्धित निकायलाई जानकारी गराइए पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ। रासस

प्रकाशित: २३ भदौ २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =