कोइला व्यवसायी दाहाल साढे २ महिनादेखि बेपत्ता

हिमाल प्रेस २३ भदौ २०८० १५:२६
10
SHARES

झापा- मेचीनगर वडा नम्बर ६ का कोइला व्यवसायी ५१ वर्षीय दुर्गाप्रसाद दाहाल विगत साढे २ महिनादेखि सम्पर्कविहीन छन्। परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन्। तर अहिलेसम्म उनी भेटिएका छैनन्।

भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उनकी पत्नी शोभा दाहालले बताइन्।

उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिइएको पनि बताइन्। प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

दाहालका ४ वर्षीय छोरा र १८ वर्षीया छोरी छन्। उनकी पत्नी शोभाले नातागोता, साथी र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहे पनि पत्ता लाग्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन्। ‘प्रहरी, नातागोता र साथीभाइ सबै गुहारिसक्यौँ, भेटिनुभएको छैन,’ उनले भनिन्, ‘कहिल्यै घरझगडा पनि भएको थिएन, आर्थिक व्यवहारको पनि तनाव थिएन।उहाँको खोजीमा सघाइदिनुहुन सबैमा अनुरोध गर्दछु।’ रासस

प्रकाशित: २३ भदौ २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =