काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर साहित्य महोत्सव आयोजना गर्न लागेको छ। भदौ २४ गतेदेखि तीन दिनसम्म चल्ने महोत्सवको नाम ‘बीपी साहित्य महोत्सव’ दिइएको छ। कांग्रेसले यस्तो महोत्सवलाई ऐतिहासिक र पहिलो भनेको छ। हुन पनि यसअघि राजनीतिक दलको आयोजनामा यस्तो महोत्सव भएको पाइँदैन।
नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागका अनुसार महोत्सवको सबै तयारी पूरा भएको छ। महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको समन्वयमा हुन लागेको हो।
महोत्सवको नामलाई लिएर भने अनेक टीकाटिप्पणी हुन थालेका छन्। कोइराला राजनीतिमा बीपीका नामबाट चिनिन्छन्। उनका पिताले राखेको नामचाहिँ विश्वेश्वरप्रसाद हो। परिवारमा चाहिँ उनलाई सानाले सान्दाजु र ठूलाले सानोबाबु भन्थे। उनी कसरी बीपी भए त? कोइरालाले अधिकांश समय भारतमा बिताए। भारतीय स्वतन्त्रता संग्राममा समेत उनको संलग्नता रह्यो।
‘भारतीयहरूले ब्रिटिसको अनुकरण गरेर उनको पिताजीले बडो स्नेहका साथ दिएको ‘विश्वेश्वरप्रसाद’ नामलाई संक्षेपीकरण गरेर अंग्रेजीमा ‘बीपी’ बनाइदिएका थिए।’ (राप्रउ पोखरेल, मन्दोदरीदेखि मार्क्ससम्म, पृष्ठ २१) नेपालीले पनि त्यही अनुकरण गरे। अनि उनी बीपी बाबु भनेर चिनिन थाले राजनीतिक वृत्तमा। राजनीतिमा उनलाई त्यही नामले चिनायो।
भारतीय स्वतन्त्रता आन्दोलनमा संलग्नतादेखि नेपालको जहानियाँ शासनको अन्त्यका लागि बीपीले निकै ठूलो योगदान दिएका छन्। यस्तै नेपाली कांग्रेसले अवलम्बन गरेको समाजवादको बीजारोपण बीपीबाटै भएको हो। यो त उनको राजनीतिक पाटो भयो।
राजनीतिमा जस्तै साहित्यमा पनि कोइरालाको विशिष्ट योगदान छ। साहित्यमा भने उनलाई विश्वेश्वरप्रसाद कोइरालाको नामले चिनिन्छ। नेपाली आख्यान र आत्मसंस्मरण लेखाइमा उनको संलग्नता रह्यो। ती विधाबाटै उचाइ प्राप्त गरेर उनले आफूलाई नेपाली साहित्यको अब्बल नक्षत्रका रूपमा स्थापित गरे।
आख्यानमा उनलाई यौन मनोविश्लेषणवादी भनिन्छ। समालोचकहरूका अनुसार नेपाली आख्यानमा यस्तो प्रवृत्ति कोइरालाले नै भित्र्याएका हुन्। ‘श्वेतभैरवी’ र ‘दोषी चश्मा’ विश्वेश्वरप्रसाद कोइरालाका कथासङ्ग्रह हुन्। ‘नरेन्द्रदाइ’, ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ उनका उपन्यास हुन्। कोइरालाका ‘जेल जर्नल’, ‘आफ्नो कथा’ जस्ता संस्मरणात्मक कृति प्रकाशित छन्। उनले कुनै पनि साहित्यिक कृतिमा बीपी कोइराला भनेर लेखेको पाइँदैन। साहित्यिक कृतिमा उनले विश्वेश्वर प्र कोइराला लेखेका छन्। उनको हस्ताक्षरमा पनि विश्वेश्वर प्र कोइराला नै पाइन्छ।
साथै विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्व र कृतित्वका बारेमा भएका शोधअनुसन्धानमा कतै पनि बीपी कोइराला लेखिएको पाइँदैन। जस्तै : विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा द्वन्द्वविधान (कृष्णप्रसाद दाहाल, विद्यावारिधि शोधप्रबन्ध), विश्वेश्वरप्रसाद कोइरालाका कथाको समाख्यानविधि (चूडामणि उपाध्याय, एमफिल शोधपत्र), अनुन्धानमूलक कृतिहरू, नारी मनोविज्ञान तथा अस्तित्ववादको सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाको साहित्य (विष्णुकुमारी शर्मा, अनुसन्धानमूलक लेख) आदि। यीबाहेक भूपति ढकाल, हरिप्रसाद पराजुली, नारायण चालिसे, ज्ञानू पाण्डेलगायतले विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक योगदानमा आधारित रहेर विद्यावारिधि गरेका छन्।
एमए र एमफिलको समेत गणना गर्ने हो भने दर्जनौँ व्यक्तित्वले कोइरालाको साहित्यिक कृतित्वमाथि अनुसन्धान गरेका छन्। ती कसैले पनि साहित्यकार बीपी भनेर लेखेको पाइँदैन।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. दुर्गाबहादुर घर्ती साहित्यकार बीपी भन्ने कोही व्यक्ति नेपाली साहित्यमा नदेखिएको औँल्याउँछन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साहित्यकार बिपी भन्ने कोही व्यक्ति नेपाली साहित्यमा देखिँदैन, जसोगरी बिके (बालकृष्ण) सम, जिपी (गुरुप्रसाद) मैनाली, जिपी (गोपालप्रसाद) रिमाल भेटिँदैन। बरु विश्वेश्वर प्र. कोइराला लेखेको पाइन्छ, मोदिआइन उपन्यासमा त्यस्तो छ।’
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा दुई दशकदेखि विश्वेश्वरप्रसाद कोइरालाको आख्यानकारिताबारे अध्यापन गर्दै आएका शेषनाथ पौडेल पनि साहित्यकारका रूपमा बीपी भनेर चिनाउनु गलत रहेको बताउँछन्। उनी भन्छन्, ‘साहित्यकारका रूपमा उनी (कोइराला) बीपी हुँदै होइनन्। उनले कुनै पनि साहित्यिक कृतिमा बीपी कोइराला लेखेका छैनन्। छोटकरीमा विश्वेश्वर.प्र. कोइराला लेखेको पाइन्छ।’ राजनीतिमा मात्रै उनी बीपीका रूपमा परिचित रहेको पौडेलको भनाइ छ।
त्यसो त कोइराला आफैँ पनि आफ्नो नामसम्बन्धी दूषित अनुकरण रुचाउँदैनथे। ‘जेल जर्नल’ २०५४ को पृष्ठ २५४ मा उनले सो कुरा उल्लेख गरेका छन्। सोही कारण उनले साहित्यिक कृतिमा विश्वेश्वरप्रसाद कोइराला लेखेको हुनुपर्छ।
वामपन्थी विचार राख्ने व्यक्तित्वहरू पनि बीपी साहित्य महोत्सवभन्दा विश्वेश्वरप्रसाद कोइराला साहित्य महोत्सव नामकरण गरिएको भए धेरैलाई समेट्न सकिने बताउँछन्। राजनीतिक वृत्तमा बीपी भनेर चिनिएकाले साहित्य महोत्सव निश्चित दलविशेषको मात्रै हो कि भन्ने सन्देश दिन खोजिएको उनीहरूको बुझाइ छ।
महोत्सव तयारी समितिका संयोजक एवम् नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे भने साहित्य महोत्सवको नामले खासै अर्थ नराख्ने बताउँछन्। उनी भन्छन्, ‘बीपी साहित्य महोत्सव हो, पार्टीले गरेको निर्णय त्यही नै हो।
यस्तो छ महोत्सवको कार्यतालिका
पहिलो दिन २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाले महोत्सव उद्घाटन गर्नेछन्। त्यसपछि प्रा. अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनबारे प्रस्तुति दिने कार्यक्रम छ। सोही दिन बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य विषयमा विभिन्न विज्ञ व्यक्तित्वहरूले प्रस्तुति दिनेछन् भने साँझ २० जना कविले कविता वाचन गर्ने कार्यक्रम छ।
दोस्रो दिन २५ गते आनन्द कुमारले ‘मार्क्स, गान्धी र बीपी क्वेस्ट फर डेमोक्रेसी सोसलिज टुडे’ शीर्षकमा विशेष प्रवचन दिनेछन्। त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन विषयमा छलफल हुनेछ। त्यस साँझ ३० जना गजलकारले गजल वाचन गर्ने कार्यतालिका छ।
तेस्रो दिन २६ गते केदारभक्त माथेमाले ‘बीपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला’ भन्ने विषयमा प्रवचन दिनेछन्। त्यसपछि समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबार्ल्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी विषयमा विज्ञहरूबीच छलफल हुनेछ। सोही साँझ प्रसिद्ध सांगीतिक समूह कुटुम्बको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ।
महोत्सवमा फाइन आर्टका मूर्धन्य व्यक्तित्वहरूबाट प्रत्यक्ष कोरिएका चित्र प्रदर्शन हुनेछन्। यस्तै महोत्सवमा हाइज्याकिङ फर डेमोक्रेसी, वीर गणेशमान, तीन घुम्तीजस्ता वृत्तचित्र प्रदर्शनी गरिनेछ। साथै ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।