संगीतले एक महिनामै फेरेको सिम्रनको जीवन

विजय नेपाल २२ भदौ २०८० १४:३२
2.2k
SHARES
संगीतले एक महिनामै फेरेको सिम्रनको जीवन गायिका सिम्रन परियार।

पोखरा-  साउन १९ अघि गाउँघरमा मात्रै परिचित १८ वर्षीया सिम्रन परियार अहिले देशैभरि चिनिएकी छन्। सबैले चिन्ने एउटै कारण हो- उनको मीठो स्वर। बागलुङ नगरपालिका-६ तीनतलेकी सिम्रनका लागि देशको राजधानी अहिले पानीपँधेरोजस्तै भएको छ। सामाजिक सञ्जालमा छाएकी छन्। युट्युबमा उनका गीत ट्रेन्डिङमा छन्।

सिम्रनको घरबाट विद्यालयको दूरी पैदल पौने घण्टाकाे छ। घर-विद्यालय आउजाउ गर्दा गीत गुनगुनाउने उनलाई हिजोआज काठमाडौँका रेकर्डिङ स्टुडियोमा गाउन भ्याइ नभ्याइ छ।  एक महिनामै २७ वटा गीत रेकर्ड गरिसकेकी छन्। केही म्युजिक भिडियोमा मोडेलका रूपमा देखापरेकी छन्।

संगीतको शक्ति नै मान्नुपर्छ। यसले मानिसको दिनचर्याले फेरिदिन्छ। त्यस्तै भएको छ- सिम्रनको जीवनचर्या पनि। एक्कासि नेपाली सांगीतिक बजारमा उनको नाम चम्किएको छ। कतिपयलाई लाग्छ, उनका गीतले बजार तताएका छन्। युट्युबमा भएका उनका गीतले देशमा मात्र नभई चर्चा विदेशसम्म पुर्‍याएका छन्। त्यसैले होला सिम्रनको ‘असाधारण प्रतिभा’ को प्रोत्साहन गर्दै अहिले विभिन्न संघसंस्थाले उनलाई सम्मान गर्दै पुरस्कार दिइरहेका छन्। बागलुङ नगरपालिकाले केही साताअघि उनलाई ५० हजारसहित सम्मान गरेको थियो।

विपन्न परिवारमा हुर्कीबढेकी उनलाई यति चाँडै लोकप्रिय हुन्छु भन्ने लागेकै थिएन। एक महिनाअघिसम्म कमैले चिन्ने सिम्रनको तुलना स्थापित गायिका रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहानसँग हुन थालेको छ। गीत रेकर्ड गर्न बागलुङ-काठमाडौँ गरिरहेकी छन्। आफूसँगै आमालाई पनि जहाज चढाएकी छन्। र, आफ्नो उज्जवल सांगीतिक भविष्यको निर्माणमा सक्रिय छिन्।

‘पहिले स्कुल आउँदाजाँदा खासै कसैलाई मतलब हुन्नथ्यो,’ सिम्रन भन्छिन्, ‘अहिले देख्नेबित्तिकै सबैजनाले बोलाउनुहुन्छ। फोटो खिच्नुहुन्छ। शुभकामना दिनुहुन्छ। सँगै टिकटक बनाउन भन्नुहुन्छ।’ रातारातको सफलतामा उनी दंग छिन्। ‘एक दिन संगीतमा लाग्छु भन्ने त थियो तर अहिले नै यसरी जीवन परिवर्तन होला भन्ने सोचेकी थिइनँ,’ उनी भन्छिन्।

उनलाई गीत रेकर्डका लागि प्रस्ताव बर्सिरहेका छन्। गायक प्रमोद खरेलको स्वर रहेको ‘उसलाई पाउन-२’ को फिमेल भर्सन उनको पहिलो रेकर्डेड गीत हो। त्यो गीत नेपालमा ट्रेन्डिङ नम्बर एकमा परेसँगै संगीतकर्मीको ध्यान आकर्षित भएको हो। उनलाई  सांगीतिक उद्योगले पछ्याउन थालेको छ। पहिलोपल्ट काठमाडौँ जाँदा उनले एकै दिन चार गीत रेकर्ड गरेकी थिइन्।

गीतकार/संगीतकार सुनील बीसीको युट्युब च्यानलबाट चार साताअघि सार्वजनिक ‘उसलाई पाउन-२’ले युट्युबमा ४४ लाख भ्युज पाइसकेको छ। अहिले पनि ट्रेन्डिङमा नम्बर ६ मा छ। ‘भोजराज सर र सुनील सरलाई भुल्न सक्दिनँ,’ सिम्रन भन्छिन्, ‘उहाँहरूले मलाई ठूलो गुन लगाउनुभएको छ।’

सिम्रनले गाएका अन्य गीतमध्ये अर्जुन सापकोटाको लोकगीत ‘पानी परेको’ले ३१ लाख भ्युज पाएको छ। उनी यो गीतको भिडियोमा मोडल छन्। साथै ऋषि खड्का युट्युब च्यानलबाट सार्वजनिक ‘ए साइला परेलीभित्र’ बोलको लोकपप फ्युजनको गीत पनि चर्चामा छ। उनी यो गीतको भिडियोमा गायक ऋषिसहित मोडल आम्दा आलेमगरसँग सुन्दर नृत्य गरेको देखिन्छिन्। यो गीतलाई पनि लाखौँले हेरिसकेका छन्।

सन्तोष सुनारको गत वर्ष सार्वजनिक ‘छमक छमक’ गीत अहिले ‘सिम्रन भर्सन’ मा आउने भएको छ। सन्तोषको रचना, संगीत र स्वरको उक्त गीत युट्युबमा सर्वाधिक रुचाइएको गीतमध्ये पर्छ। सन्तोषले केही शब्द फेरेर सिम्रनको स्वरमा रेकर्ड गराएका हुन्। ‘यो गीतबाट झनै उत्साहित भएकी छु,’ सिम्रन भन्छिन्।

संगीतमा डेब्यु

सिम्रनका लागि गीत रेकर्ड गर्ने चाँजोपाँजो मिलाउने श्रेय मेचीकालीका भोजराज थापालाई जान्छ। गत १९ साउनमा थापा सिम्रनको अन्तर्वार्ताका लागि बागलुङ पुगेका थिए। स्कुल ड्रेसमा दिएकाे अन्तर्वार्तासँगै  सिम्रनले गाएको गीत एकाएक भाइरल भयो। अनि उनलाई पनि गीत गाउने ऊर्जा थपियो।

यो चर्चापछि भोजराजले सिम्रनको स्वरमा गीत रेकर्डिङको योजना बनाए। त्यही बेला गीतकार/संगीतकार सुनील बीसीले प्रमोद खरेलले गाएको ‘उसलाई पाउन-२’ गीतको फिमेल भर्सनमा ब्रेक दिने प्रस्ताव राखे। गत वर्ष सार्वजनिक ५० लाख भ्युज पाएको उक्त गीत सिम्रनलाई दिने भएपछि भोजराज फेरि पाँच दिनपछि सिम्रनका लागि ‘सरप्राइज’ लिएर बागलुङ सदरमुकामस्थित विद्या मन्दिर मावि पुगे। कक्षा १२ मा विज्ञान पढिरहेकी सिम्रनसँग गीत गाउने प्रस्ताव गरे। ‘गीत रेकर्ड गर्न काठमाडौँ जानुपर्ने भयो उहाँले मलाई स्कुल परिसरमै सरप्राइज दिनुभयो,’ सिम्रन भन्छिन्।

भोजराजको प्रस्तावपछि उनी खुसीले गद्‌गद् भइन्। घर पुगेर आमालाई सुनाइन्। आमा मनीषा परियार र सात वर्षीय भाइ सौगातमात्र छन्। बाबु सोम परियार रोजगारीको सिलसिलामा तीन महिना अघि रोमानिया उडेका थिए। गीत रेकर्डको अवसर फुत्किन दिनुभएन। भोजराजकै गाडीमा सिम्रनका आमाछोरी काठमाडौँ पुगे।

२५ साउनमा ‘उसलाई पाउन-२’ गीत रेकर्ड भयो। पाँच हजार पारिश्रमिक पनि पाइन्। गीत सबैको ओठओठमा झुन्डियो। बीसीले गायक प्रमोद र सिम्रनको स्वरमा अर्को गीत पनि रेकर्ड गराएका छन्। सिम्रनको स्वर राम्रो लागेर नै अवसर दिएको उनी बताउँछन्। संगीत सिकेर सिम्रनले अगाडि बढ्नुपर्ने उनको सुझाव छ।

भोजराजलाई सिम्रनको स्वर ‘गड गिफ्टेड’ लाग्छ। भन्छन्, ‘सिम्रनको आवाज गड गिफ्टेड हो। संगीतको ‘स’ नसिकीकनै यति मीठो गीत गाउन सक्नु साँच्चिकै विलक्षण प्रतिभा हो।’

पहिलोपल्ट ६ दिनमा १४ गीत रेकर्ड गरेर फर्केकी उनले दोस्रोपल्ट काठमाडौँको पाँचदिने बसाइमा ९ गीत रेकर्ड गराइन्। यसबीच पोखरामा पनि चारवटा गीत रेकर्ड गरेको उनी बताउँछिन्। छोरीको सांगीतिक फड्को आमा मनीषालाई सपनाजस्तो लागेको छ। ‘हामी निकै खुसी छौँ,’ मनीषा भन्छिन्, ‘कहिलेकाहीँ त सपनाजस्तो लाग्छ।’ मान्छेहरूले आफूलाई ‘सिम्रनको मम्मी’ भनी चिन्दा खुसी लागेको उनी बताउँछिन्।

‘१२ पास गरेपछि बल्ल काठमाडौँ जान्छु र त्यतै ब्याचलर पढ्दै संगीत सिक्छु,’ सिम्रन आफ्नो योजना सुनाउँछिन्, ‘काठमाडौँ जाउआउ गाह्रो हुने भएकाले अब त्यतै बस्ने सोच छ।’ युनिभर्सल सबलाइम एकेडेमीबाट २०७८को एसईईमा ‘ए’ प्लस ल्याएकी उनी पढाइमा पनि अब्बल छिन्।

देशका विभिन्न सहरमा हुने मेलामहोत्सवमा उनको माग हुन थालेको छ। स्रिमनलाई विदेशबाट पनि अफर आउन थालेका छन्। कोरियामा सांगीतिक कार्यक्रमको निम्तो आएको थियो। पासपोर्ट नहुँदा अवसर गुमाइन्। गीत रेकर्ड र पासपोर्ट बनाउन जनैपूर्णिमाको बिदा पारेर उनी दोस्रोपल्ट काठमाडौँ पुगिन्।

सिम्रनमा गायनको रस सानैमा बसेको हो। उनका बाबुले घरमा छँदा गीत गाउँथे। ‘म चारपाँच कक्षा पढ्दा बाबाले घरमा गीत गाइरहनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘मलाई पनि गीतसंगीतमा रुचि लाग्यो। मैले नि गाउन थालेँ।’

अघिपछि खेतीकिसानी र मेलापातमा व्यस्त रहने सिम्रनकी आमा छोरीसँग बागलुङ-काठमाडौँ गरिरहेकी छन्। अब छिट्टै आफ्नो बुवालाई पनि स्वदेश फर्काउने चाहना उनको छ।

सिम्रन परियारको जादुमयी स्वर, पहिलो गीत ट्रेन्डिङ वानमा

प्रकाशित: २२ भदौ २०८० १४:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =