नेपालमै विदेशी ‘डिग्री’

प्रेम चन्द २१ भदौ २०८० १९:३७
82
SHARES
नेपालमै विदेशी ‘डिग्री’ विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँको एक कलेजमा छात्रछात्रा।

काठमाडौँ- पछिल्लो समय नेपालबाट विद्यार्थी बिदेसिने क्रम निरन्तर उकालो लागिरहेको छ। कक्षा १२ सकेका अधिकांश विद्यार्थीको पहिलो रोजाइ विदेश अध्ययन हुन्छ।स्नातक (ब्याचलर्स डिग्री) पढ्नका लागि अध्ययन भिसामा जाने अनि नफर्कने प्रवृत्तिका कारण देशबाट युवा र पुँजी पलायन भइरहेका छन्। यसरी विदेश जानेले बीबीए, बीएचएम, बीआईटीलगायत डिग्रीका लागि तयारी गरेका हुन्छन्।

पछिल्लो समय नेपालमै पनि विदेशी डिग्रीका कलेज खुल्न थालेका छन्। संसारका नाम चलेका कलेजका पाठ्यक्रम यहीँका कलेजहरूमा पढ्न पाइन्छ। सोही कारण नेपालमै अध्ययन गरेर विदेशका प्रतिष्ठित विश्वविद्यालयको डिग्री लिन सजिलो हुन थालेको छ। साथै पाठ्यक्रम पनि बजारको मागअनुसारका मात्र लागू गरिएको कलेज सञ्चालकहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता कलेजमा विद्यार्थीले भौतिक रूपमा मात्रै नेपालमा रहेर पढ्न सक्छन्। अन्य सबै कुरा विदेशमै जोडिएको हुन्छ।

त्यस्ता कलेजमा डिग्री लिएका विद्यार्थीले जागिरका लागि राम्रै अवसर पाउने कलेज सञ्चालकहरू बताउँछन्। उनीहरूका अनुसार स्नातक तहमा अध्ययनका लागि विदेश जान आवश्यक छैन।

आईएसएमटी कलेज

तीनकुनेमै रहेको आईएसएमटी कलेजले विदेशी युनिभर्सिटीबाट सम्बन्धन लिएर स्नातक तहमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन लिएको उक्त कलेजले बीएचएम, बीएसआईटी सञ्चालन गरिरहेको छ। कलेजमा पछिल्लो समय ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स’ विषय पनि पढाइ हुन थालेको छ।

‘यो प्रोग्राम आईटीसम्बन्धी नै प्रोग्राम हो। त्यो साइबर सेक्युरिटीको प्रोग्राम हो,’ कलेजका बिजनेस डेप्लेभमेन्ट प्रमुख वासुदेव वस्ती भन्छन्। कलेजमा आईएसएमटीमा आईटीका दुईटा प्रोग्राम छन्। एउटा कम्प्युटर सिस्टम इन्जिनियरिङ र अर्को प्रोग्रामिङतर्फ। यस्तै साइबर सेक्युरिटी पढेका जनशक्तिको अहिले संसारमै उच्च माग रहेको जानकारहरू बताउँछन्।

एउटा प्रोग्रामको शुल्क ९ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म रहेको वस्तीले जानकारी दिए। उनले भने, ‘अहिले नेपालका सन्दर्भमा जति पनि विदेशी सम्बन्धन प्राप्त कलेज छन्, तिनीहरूमा यो शुल्क त्यति महँगो होइन,’ उनले भने। यी सबै कोर्स तीनबर्से रहेको वस्तीले जानकारी दिए। ३६० क्रेडिट पूरा गरेपछि विश्वमा जहाँसुकै पनि स्नातकको मान्यता पाउने उनी बताउँछन्।

उनी पनि पछिल्लो समय विदेशी विश्वविद्यालयको शिक्षामा नेपाली विद्यार्थीको आकर्षण बढेको बताउँछन्। बेलायतका विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजमा बढी आकर्षण छ। ‘दुईचार पैसा बढी नै तिरेर भए पनि बेलायती विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा पढौँ भन्ने सोचाइ छ,’ उनी भन्छन्।

आईएसएमटी कलेजको एकेडेमिक यात्रा सन् २०१२ देखि सुरु भएको हो। पछिल्लो समय यही नामबाट काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि कलेज सञ्चालित छन्।

केही कोटामा शतप्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको वस्तीले बताए। ‘बजारमा आर्थिक मन्दी छ भनौँ अथवा हरेक आमाबुवाको आयको स्रोत पनि घटेको देखिन्छ,’ उनले भने, ‘त्यही आमाबुवाको बच्चा ब्रिटिस एजुकेसन लिन यही आईएसएमटीमा मेहनती देखिएको छ भने त्यसलाई विभिन्न क्याटगोरी गरेर यहाँ पढाउन सकिन्छ।’

कलेजले विद्यार्थीको शैक्षिक प्रगति, कक्षा १२ को नतिजा वा कुनै अतिरिक्त क्षमता हेरेर छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। दुई वर्ष आईएसएमटी पढेपछि तेस्रो वर्ष पढ्न विदेश जान सकिने व्यवस्था पनि गरिएको वस्तीले जानकारी दिए। उनले भने, ‘विद्यार्थीले चाहेमा हामी बेलायत, क्यानडा, अस्ट्रेलियाका उस्तै कलेजमा क्रेडिट ट्रान्सफर गर्न सक्छौँ। यस्तो व्यवस्था हाम्रो कलेजमा मात्रै छ।’

प्रेसिडेन्सियल कलेज

प्रेसिडेन्सियल बिजनेस स्कुल सन् २०११ मा स्थापना भएको हो। यो कलेजमा अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएर कक्षा सञ्चालन भइरहेको छ। विद्यार्थीलाई स्वदेशमै अमेरिकी विश्वविद्यालयको शिक्षा उपलब्ध गराउन कलेज स्थापना गरिएको कलेजका अध्यक्ष लक्ष्मण केसी बताउँछन्।

कलेजले अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर बीएसआईटी, एमएसआईटी, बीबीए र एमबीएलगायत प्रोग्राम सञ्चालन गरिरहेको छ। काठमाडौँको थापागाउँमा रहेको कलेजले अहिले स्नातक र स्नातकोत्तरमा बिजनेस तथा टेक्नोलोजीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।

स्थापनाका बेला प्रेसिडेन्सियल स्कुल भनेर बिजनेसका कार्यक्रम सुरु गरेको कलेजले पछिल्लो समय टेक्नोलोजीमा आएको परिवर्तनका कारण आईटीलाई पनि सँगसँगै अघि बढाएको हो।

‘टेक्नोलोजीमा आएको परिवर्तनले बिजनेस र टेक्नोलोजीको प्रोग्रामहरूलाई लिएर अगाडि बढ्नुपर्छ। बिना टेक्नोलोजीको हस्तक्षेप कुनै पनि बिजनेस अथवा कुनै पनि पेसा व्यवसाय अगाडि बढाउन नसकिने अवस्था छ,’ उनी भन्छन्, ‘यी कुरालाई मनन गरेर हामीले इन्फर्मेसन टेक्नोलोजीका प्रोग्रामहरूलाई पनि बीएसआईटी, एमएसआईटीका प्रोग्राम पनि अफर गरिरहेका छौँ।’

कलेजले अहिले एमबीएमा डाटा अनालाइटिक्स, एमबीएसआईटी, इन्फर्मेसन टेक्नोलोजी अर्थात एमबीआईटी प्रोग्राम पनि सञ्चालन गरिरहेको छ। ‘अन्डरग्राजुएटमा बीबीए र बीएसआईटी छ। मास्टर्समा एमएसीआईटी, एमबीए, एमबीएआईटी र एमबीए डाटा अनालाइटिक्स भनेर स्नातकोत्तरमा चारवटा र स्नातकमा दुईवटा कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ उनले भने।

स्नातकमा बिजनेस प्रोग्रामका लागि ८ लाख रूपैयाँको हाराहारीमा शुल्क तोकिएको छ। ‘त्यसमा विश्वविद्यालयको शुल्क अतिरिक्त लाग्छ,’ उनले भने, ‘बीएसीआईटी प्रोग्रामका लागि हामीले ११ लाख शुल्क लिन्छौँँ। त्यसमा विश्वविद्यालय शुल्क थोरै थपिएर जान्छ। मास्टर्स लेबलमा आईटीको करिब ५ लाख हाराहारीमा रहेको छ।’  कलेजले सरकारी विद्यालयमा पढेका र कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ।

कलेजमा विश्वविद्यालयले नै विद्यार्थी संख्या निर्धारण गरिदिएको छ। कलेजको पूर्वाधार र जनशक्तिलाई आधार बनाएर विद्यार्थीको कोटा तोकिदिएको जानकारी केसीले दिए।
‘एमएसीआईटीमा वर्षमा ७० जना भर्ना लिन पाउँछौँ। एमबीएमा हामीले १४० जना भर्ना लिन पाउँछौँ। वर्षमा त्यो दुईवटा इन्टेक हुन्छ,’ केसी भन्छन्, ‘एमबीए र एमएसआईटीको, एमएआईटए डाटा अनलाइटिक्सको ७०/७० भर्ना लिन्छौँ। बीबीएमा १२० जना लिन्छौँ। बीएसीआईटीमा २४० जना भर्ना लिन्छौँ।’ कलेजमा पढेका कुनै पनि जनशक्ति बेरोजगार नबसेको उनको दाबी छ।

आठ देश १७ विश्वविद्यालयका ४६ कलेज सञ्चालनमा

इन्टरनेसनल एजुकेसेन प्रोभाइडर एसोसिएसन (आइप्यान) का अध्यक्षसमेत रहेका केसीका अनुसार नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्ध लिएर स्नातक र स्नातकोत्तर तह पठनपाठन गराइरहेका कलेजको संख्या ४६ छ। आठ देशका १७ वटा विश्वविद्यालयबाट सम्बन्धन लिएर आफ्ना प्रोग्रामहरू सञ्चालन गरिरहेको जानकारी उनले दिए।

केसी भन्छन्, ‘यी कलेजहरूले विदेशी विश्वविद्यालयले प्रदान गर्ने शिक्षा नेपालमै गुणस्तरीय र सर्वसुलभ रूपमा प्रदान गरिरहेका छन्।’ नेपालमै विदेशी स्तरको शिक्षा पाइने भएपछि पढ्नकै लागि विदेश भौँतारिनुपर्ने अवस्था नरहेको केसी बताउँछन्।  इप्यानले ‘स्टे इन नेपाल, स्टडी इन नेपाल’ अभियान सञ्चालन गरिरहेको केसीले जानकारी दिए।

 विदेशी डिग्री पढाइ हुने अन्य केही कलेज

काठमाडौँस्थित तीनकुनेमा रहेको ‘पद्माश्री’ कलेजले मलेसियाको निलाई युनिभर्सिटीबाट सम्बन्धन लिएर बीआईटी, बीएचएम र बीबीए डिग्री सञ्चालन गरिरहेको छ। कलेजले त्रिविबाट सम्बन्धन लिएर बीसीए र खाद्य प्रविधिमा स्नातक पनि सञ्चालन गरिरहेको छ।

हेराल्ड कलेज :  काठमाडौँको नक्सालमा रहेको हेराल्र्ड कलेजले ब्रिटिसको वुल्भरह्याम्प्टन विश्वविद्यालयबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ। ब्याचलर्स डिग्रीमा आईटी अध्ययनमा केन्द्रित कलेजका सञ्चालकहरू न्यूनतम शुल्कमै बेलायती विश्वविद्यालयको पाठ्क्रम पढाइरहेको दाबी गर्छन्।

नामी कलेज :  काठमाडौँको जोरपाटीस्थित नामी कलेजले बेलायतको नर्दम्प्टन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजमा स्नातक तहमा बीएससी सफ्टवेयर इन्जिनियरिङ, इन्भाइरोन्मेन्टल साइनस, बीबीए, बीएससी नेटवर्क इन्जिनियरिङलगायतका विषय पढाइ हुन्छ।

किङ्स कलेज : काठमाडौँको बबरमहलस्थित किङ्स कलेजले अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर बीबीए र बीएस आईटी प्रोग्राम सञ्चालन गर्दै आएको छ।

आईआईएस कलेज :  मलेसियाको ठेलरर्स विश्वविद्यालयबाट सम्बन्धन लिएर बीएससी, बीएचएम र बीबीए कार्यक्रम सञ्चालन गरिरहेको छ। धोबीधारामा रहेको कलेजले बीएससीअन्तर्गत कम्प्युटर साइन्सलाई प्राथमिकता दिएको छ।

गेट कलेज :  काठमाडौँको बूढानीलकण्ठमा रहेको गेट कलेज ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटीबाट सम्बन्धन लिएर हस्पिटालिटी प्रोग्राम सञ्चालन गर्दै आएको छ। बीएचएम प्रोग्राम सञ्चालन गर्दै आएको उक्त कलेज पेरिसको  वर्ल्ड हस्पिटालिटी अवार्डबाट सन् २०११ मा सम्मानित भएको थियो।

प्रकाशित: २१ भदौ २०८० १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =