एमाले लुम्बिनी अध्यक्षमा विष्णु पौडेल हाबी, अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

हिमाल प्रेस २० भदौ २०८० ६:३६
86
SHARES
एमाले लुम्बिनी अध्यक्षमा विष्णु पौडेल हाबी, अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

लुम्बिनी- नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्।

मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्। विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष विष्णु पौडेल र महाचिव शंकर पोखरेलको शक्ति लडाइका रूपमा हेरिएको प्रदेश निर्वाचनमा पौडेलले समर्थन गरेका कँडेल निर्वाचित भएका हुन्। पौडेल र पोखरेलका नाममा समूह नै बनाएर अध्यक्ष, उपाध्यक्षमा लडाइ भएको थियो।

अध्यक्ष ओलीले सर्वसहमतिमा नेतृत्व टुग्याउन भनेपनि त्यसविपरीत निर्वाचन भएको हो। यसले एमालेभित्र नेतृत्व विपरित जान सकिन्छ भन्ने सन्देश दिएको छ।

पदाधिकारीमा सचिव सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए। ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भएको थियो।

भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो। त्यसै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन्।

उनीसँगै रुपन्देहीका विश्वराज बराल (अनुप) ले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका छन्। उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन्।

उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका छन्। त्यस्तै महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए।

त्यसै गरी लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन्। उनले प्रतिष्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन्। मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो।

पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन्।

विजयी उम्मेदवारहरुलाई बुधबार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले जानकारी दिए।

अध्यक्षमा निर्वाचित कँडेलका पाल्पाका हुन् भने पराजित रिजाल प्युठानका हुन्। कँडेल संविधानसभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश तदर्थ समितिका अध्यक्ष हुन्।

त्यस्तै रिजाल लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य हुन्। एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको हो।

प्रकाशित: २० भदौ २०८० ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =