चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी

हिमाल प्रेस १८ भदौ २०८० १५:०५
चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी तस्बिर: रासस

नारायणगढ- चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन्। भरतपुर महानगर, चितवन छहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन्।

चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन्। नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार महानगर यातायात प्रालिले ६ सवारी नारायणगढ–काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ।

डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय सवारीसाधन सञ्चालन गर्दा मितव्ययी हुने बोहोराले बताए। हाल सञ्चालनमा आएका सवारीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको छ। जुन एकपटक पूर्णरुपमा चार्ज गरेपछि २०० किलोमिटरसम्म गुड्छन्।

चितवन छहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने बताए। उनका अनुसार भरतपुरबाट हेटाैँडासम्म पुगेको २८०, वीरगञ्जसम्मको ४०० र नारायणगढ–काठमाडौँको भाडा ५०० तोकिएको छ। ‘विद्युतीय सवारीको मुख्य समस्या चार्जिङको हो। सरकारले ठाउँठाउँमा चार्जिङ पोइन्ट बनाइदिने हो भने यस्ता सवारी सञ्चालन गर्न थप सहज हुँदै जानेछ,’ पौडेलले भने। एउटा सवारी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेशनमा रहेका चार्जिङ पोइन्टको संख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उनले बताए।

नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३-००१ ज ३६४ नम्बरको सवारीका चालक वृजकिशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै नाफा रहेको बताए। नाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उनले गुनासो गरे।

-रासस

प्रकाशित: १८ भदौ २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =